कर्णालीका गाउँ-गाउँमा बाह्रै महिना मेला
- Author, प्रकाश पन्त
- Role, सुर्खेत

झन्डै सय वर्षअघि रुकुम पश्चिममा पर्ने आठबीसकोट क्षेत्रका मानिसहरू मेला भर्न छिमेकी गाउँ बाफिकोटको जिम्सिङमा जान्थे।
उति बेला सात/आठ घण्टा पैदल हिँडेर आठबीसकोट क्षेत्रका मानिसहरू जिम्सिङ मेला हेर्न जान्थे। मेला हेर्ने क्रममा एक पटक आठबीसकोट र मग्माका गाउँलेबीच ठूलै झगडा भयो।
मग्माका मानिसहरूले लखेटेर आठबीसकोटक मान्छेलाई दुई गाउँको सिमानामा रहेको लदुवा लेक कटाए।
मेलामा गए फेरि झगडा पर्ने ठानेर अर्को वर्ष आठबीसकोटका चन्द्रे बटालाले आफ्नै गाउँ रारिज्यूलामा चौतारा मेला लगाए।
शताब्दीअघि जितुबाजेले लगाएको मेलालाई थप व्यवस्थित बनाएर आफूहरूले पनि निरन्तरता दिँदै आएको चन्द्रेका पनाति टेकबहादुर बटालाले बताए।
उनले भने, “रुकुम पश्चिम र पूर्वी जाजरकोट क्षेत्रको सबैभन्दा ठूलो चौतारा मेला हेर्न अहिले दशौँ हजार मानिसहरू आउँछन्।”
“नाचगान गरी रमाइलो गरिन्छ। मेलामा लाखौँ रुपैयाँको व्यापार हुन्छ।”
चन्द्रे बटालाका सन्तानलाई बाजागाजासहित बटाला गाउँबाट काँधमा राखेर रारिज्यूला ल्याएर मेला सुरु भएको घोषणा गरिन्छ।
मकै/धान थन्क्याउने, गहुँ/जौ छर्ने, पाखो काट्ने जस्ता काम सकेर ४/५ दिनसम्म चल्ने उक्त मेला हेर्न रुकुम, जाजरकोटका साथै सल्यान, डोल्पा लगायतका जिल्लाबाट मान्छेहरू आउँछन्।
त्यो मेला कार्तिक महिनाको दोस्रो सातातिर लाग्छ।

भेटघाट र मनोरञ्जन
रुकुमको चौतारा मेलाजस्तै बाह्रै महिना कर्णाली प्रदेशका विभिन्न ठाउँमा मेला लाग्छन्।
विशेष गरी वैशाख पूर्णिमाबाट सुरु हुने मेलाहरू साउन र भदौ पूर्णिमा, कोजाग्रत पूर्णिमा, हरिबोधिनी एकादशी, मङ्सिर पूर्णिमा, पुस १५, माघे सङ्क्रान्ति, चैते दशैँमा जस्ता बेलामा लाग्ने गर्छन्।
जाजरकोटको रामिडाँडा, बाटुले, रुकुम पश्चिमको चौतारा, डिग्रे साइकुवारी, शङ्खपिपल, सुर्खेतको ठाँटी, मेहलकुना, दैलेखको धरमपोखरा, डाँडीमाडी, बेस्तडा, सल्यानको कुमाखजस्ता ठाउँमा वर्षौँदेखि मेला लाग्दै आएका छन्।
यस्ता मेलाहरू हेर्न हजारौँ मानिसहरू आउने गर्छन्।
यस्ता मेलाहरू जमघट भएर सुखदुख साटासाट गर्ने, आफन्त भेटघाट गर्ने, थकाइ मार्ने र मनोरञ्जन गर्ने महत्त्वपूर्ण थलो बन्दै आएका छन्।
मेलामा प्रत्येक गाउँबाट मयुर, सिङारु, टप्पा, ख्याली, पैँसेरी, देउडा, खाँडो, बन्गारी, झ्याउरेजस्ता परम्परागत नाचगानसहित गाउँलेहरू आउने गर्छन्।
मेला अवधिभर आ-आफ्नो नाचगान देखाएर उनीहरू रमाइलो गरी घर फर्कन्छन्।
इष्टमित्र, छोरी चेली, आफन्तजनसँग चाहेको बेला भेटघाट हुँदैन,” जाजरकोटका धर्मबहादुर शाहीले भने, “वर्ष दिनमा लाग्ने यस्ता मेलाहरू भेटघाटका थलो पनि हुन्।”
परम्परा, संस्कृति र संस्कार जोगाउन तथा भावी पुस्तालाई संस्कार हस्तान्तरण गर्न मेलालाई निरन्तरता दिँदै आएको गाउँहरू बताउँछन्।
किसानलाई अवसर

कैयौँ किसानका लागि मेलाहरू नगद आर्जनको राम्रो अवसर बन्ने गरेका छन्।
मेलामा किसानले बदाम, सुन्तला, उखु, केरा, स्याउजस्ता फलफूल तथा कृषिजन्य वस्तु बिक्री गर्ने गरेको रुकुम पश्चिमकी विमला केसी बताउँछिन्।
चौतारा मेलामा यसपालि बदाम बेचेर ७०/८० हजार रुपैयाँ कमाएका किसान कले खत्री भन्छन्, “यदि मेला लाग्दैन थियो भने कहाँ लगेर फलफूल बिक्री गर्ने? धेरै नै समस्या हुन्थ्यो तर गाउँमै मेला लाग्दा बिक्रीको समस्या हुँदैन।”
उनले गाउँभरिको बदाम खरिद गरेर मेलामा प्रतिमाना ५० रुपैयाँमा बेचेका थिए।
मेलामा बर्सेनि सुन्तलाको व्यापार गदै आएका अर्का किसान दलबहादुर विक सुन्तलाकै आम्दानीले छोराछोरीलाई पढाउन, लत्ताकपडा फेर्न र नुनतेल खान पुगेको बताउँछन्।
“यसपालि ६० हजारको सुन्तला बिक्री भए,” उनले भने, “मेला नलागेको भए सुन्तला बारीमै खेर जान्थ्यो होला, मेलाले गर्दा बिक्री गर्न धेरै सजिलो छ।”
फलफूलका साथै राँगा र खसीको मासु तथा सुकुटी बिक्री गरेर पनि कतिपयले मेलामा राम्रो पैसा कमाउँछन्।
मेलामा अन्य खानेकुरा जेरी, चाउमिन, चटपटेका साथै लत्ताकपडाको समेत राम्रो व्यापार हुन्छ।

खेल प्रतियोगिता
मेलाहरूमा सञ्चालन हुँदै आएका लाखौँ रुपैयाँ पुरस्कार भएका भलिबलजस्ता खेल प्रतियोगिताले पनि रौनक थप्ने गरेका छन्।
मेलालाई व्यवस्थित र मर्यादित बनाउन गठन गरिएका मेला व्यवस्थापन समितिले ५० हजारदेखि साढे दुई लाख रुपैयाँ पुरस्कार भएका भलिबल प्रतियोगीताहरू आयोजना गर्ने गरेका छन्।
कतिपय मेलामा भलिबल प्रतियोगिता नै मेलाको मुख्य आर्कषण बन्ने गरेका छन्।
यस्ता प्रतियोगिताले गाउँका युवालाई खेलप्रति रुचि पैदा गरेको देखिन्छ।
कोरोनाभाइरसको महामारीले गर्दा दुई वर्षसम्म रोकिएका मेलाहरू यस वर्ष धमाधम लागेका छन्।
कतिपय बुढापाकाहरू चाहिँ अहिले मेलाको महत्त्व घटेको बताउँछन्।








