कर्णाली मातृ मृत्यु: बर्थिङ्ग सेन्टर र निःशुल्क हवाई उद्धारले रोकेन मृत्यु

जाजरकोटकी एक जना गर्भवती महिलालाई स्ट्रेचरमा राखेर स्वास्थ्य संस्थामा लगिँदै

तस्बिर स्रोत, PADAM KC

तस्बिरको क्याप्शन, जाजरकोटकी एक जना गर्भवती महिलालाई स्ट्रेचरमा राखेर स्वास्थ्य संस्थामा लगिँदै
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

सुरक्षित रूपमा घरमै सुत्केरी हुँदा साउनको दोस्रो साता रुकुम पश्चिमकी २० वर्षीय सुशीला बीसीले ज्यान गुमाइन्।

घरमै छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण अकालमै ज्यान गयो। श्रीमान् अर्की श्रीमतीसँग भारत 'भागेपछि' उनी घर परिवारसँग बस्दै आएकी थिइन।

घरबाट आधा घण्टा पैदल दूरीमा रहेको प्रसूति गृहमा नगएर उनी घरमै सुत्केरी भएकी थिइन्। परिवारको लापर्बाहीले गर्दा सुशीलाको ज्यान गएको माइती पक्षको गुनासो छ।

त्यस्तै गत असारमा घरमै सुत्केरी हुँदा जाजरकोट कुशेकी नारायणकली रोकायको पनि मृत्यु भयो।

स्वास्थ्य संस्थामा नगएर घरमै चौथो सन्तानलाई जन्म दिएकी उनको समयमै साल नझर्दा मृत्यु भएको उनका एक छिमेकीले बताए।

गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँ-गाउँमा बर्थिङ्ग सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ।

यस्ता सुविधाहरू हुँदाहुँदै पनि पछिल्लो चार वर्षमा कर्णाली प्रदेशमा सुशीला र नारायणकलीजस्ता ६७ जना सुत्केरी तथा गर्भवती महिलाले ज्यान गुमाएका छन्।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५-७६ मा १३ जना, २०७६-७७ मा २१ जना, २०७७-७८ मा २० जना र २०७८-७९ मा १३ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ।

घाँस काट्ने क्रममा चिप्लिएर लड्दा पेटभित्र शिशुको मृत्यु भएपछि ज्यान जोखिममा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिँदै

तस्बिर स्रोत, Prakash Panta / BBC

तस्बिरको क्याप्शन, घाँस काट्ने क्रममा चिप्लिएर लड्दा पेटभित्र शिशुको मृत्यु भएपछि ज्यान जोखिममा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिँदै

स्वास्थ्य संस्थामा किन आउँदैनन्?

ढिलो स्वास्थ्य संस्थामा पुग्नु, नियमित गर्भ जाँच नगर्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु तथा पूर्व तयारीको अभाव मृत्युका कारण बनेका जानकारहरू बताउँछन्।

धेरैजसो गर्भवती तथा सुत्केरी महिलाको मृत्यु घरमा, स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा र अस्पतालमा भएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए।

''गाउँका बर्थिङ्ग सेन्टरमा प्रसूति गराउने तालिम प्राप्त दक्ष जनशक्तिको अभावका साथै गर्भवती तथा सुत्केरी भइसकेपछि हुने हेलचक्र्याइँले गर्दा पनि ज्यान गएको पाइन्छ,'' उनले भने।

''गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने चेतना नहुँदा गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ।''

सरकारी सेवा सुविधा सम्बन्धी जानकारीको अभाव, घरपरिवारको लापरबाही, घरमै सुत्केरी हुने चलन, हेलचक्र्याइँ र छोराको आशमा धेरै सन्तान जन्माउन खोज्दा गर्भवती तथा सुत्केरीको मृत्यु हुने गरेको छ ।

यस्तै पायक पर्ने ठाउँमा प्रसूति गृह नहुँदा घण्टौँ हिँड्नुपर्ने बाध्यता, कमजोर आर्थिक अवस्था, उमेरै नपुगी विवाह गर्ने चलन, चाहिएको बेला गाडी-एम्बुलेन्स नपाउँदा पनि गर्भवती तथा सुत्केरी महिलालाई जोगाउन गाह्रो परेको सरोकारवालाहरू बताउँछन्।

हेलिकप्टर उद्धार सुत्केरी

तस्बिर स्रोत, Courtesy: Ain Bahadur Mahara

तस्बिरको क्याप्शन, डोल्पाबाट उद्धार गरी सुर्खेत विमानस्थलमा ल्याइएकी एक महिला (फाइल तस्बिर)

अझै पनि धामी झाँक्रीकै भर

दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी भने आवश्यक सामग्री र दक्ष जनशक्ति नहुँदा जटिल स्वास्थ्य समस्या भएका सुत्केरी तथा गर्भवतीलाई बचाउन कठिन हुने बताउँछन्।

लामो समयसम्म बेथा लाग्दा, अत्यधिक रगत बग्दा, साल अड्किँदा र खतराका चिन्ह वा सङ्केत देखा पर्दा समेत उनीहरूले हेलचक्र्याईँ गर्ने गरेको दुर्गम क्षेत्रमा कार्यरत एक स्वास्थ्यकर्मी बताउँछिन्।

उनीहरूका अनुसार कतिपय गर्भवतीले त स्वास्थ्य संस्था आउँदै गर्दा बीच बाटोमै बच्चा जन्माउने गर्छन्।

स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने थाहा भए पनि उनीहरू 'सकभर घरमै सुत्केरी हुन खोज्छन्'।

तर सरकारी सुविधाले गर्दा अवस्थामा केही परिवर्तन भने देखिनेछ।

हेलिकप्टर उद्धार सुत्केरी

तस्बिर स्रोत, Courtesy: Hansa Raj Neupane

तस्बिरको क्याप्शन, कालीकोटमा गर्भवती महिलालाई उद्धारको लागि गएको हेलिकप्टरमा गर्भवतीलाई राखिँदै (फाइल तस्बिर)

हुम्लाको खार्पुनाथमा कार्यरत अनमी कविता बुढा विभिन्न सरकारी सेवा सुविधाले गर्दा विगतको तुलनामा स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढेको बताउँछिन् ।

''समयमै स्वास्थ्य संस्थामा आउँदैनन्। धेरैजसो अत्यधिक रगत बग्दा र साल अड्किँदा मात्र आउँछन्। अन्तिम समयमा मात्र स्वास्थ्य संस्थामा आउँदा उपचारमा गाह्रो हुन्छ,'' उनले भनिन्।

अहिले पनि गाउँघरमा समस्या आउने बित्तिकै अस्पताल नगएर पहिला धामीझाँक्रीकोमा जाने चलन कायमै रहेको जाजरकोट कुशे गाउँपालिकाका समाजसेवी दलबहादुर थापा बताउँछन् ।

''धामीझाक्रीँबाट केही उपाय नलागेपछि मात्रै अन्तिम समयमा अस्पताल जान खोज्छन्,'' उनले भनिन्। ''अन्तिम समयमा अस्पताल लैजान खोज्दाखोज्दै सुत्केरी तथा गर्भवतीको बाटोमै ज्यान जान्छ।''

'आफ्नै हेलचक्र्याइँले पनि ज्यान जोखिममा'

कतिपय गर्भवती तथा सुत्केरी महिलाहरूको आफ्नै हेलचक्र्याइँका कारण अकालमै ज्यान गएको पाइन्छ ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'स्तनपान गराउँदा आमाको शरीरको आकार बिग्रन्छ, स्तन ठूलो हुन्छ' यो भ्रामक धारणा कि सत्यता?

जटिल खालको समस्या हुँदा पनि कतिपयले अस्पताल जानु त परको कुरा आफ्नो समस्या घरपरिवारलाई समेत भन्दैनन्।

घरमै सुत्केरी हुँदा ज्यान गुमाएकी रुकुम पश्चिमकी सुशीला बीसीका देवर प्रेम बुढाथोकी आफ्नो समस्या समयमै घरपरिवारलाई नभन्दा सुत्केरी भाउजू (सुशीला) को मृत्यु भएको बताउँछन्।

''भाउजूले केही थाहा दिनु भएन । यदि समयमै थाहा दिएको भए अस्पताल लगेर बचाउन सकिन्थ्यो,'' उनले बीबीसीसँग भने।

''अन्तिम अवस्थामा थाहा पाएर अस्पताल लैजान खोज्दा खोज्दै मृत्यु भयो।''

ज्यान जोखिममा परेकालाई हवाई उद्धार वरदान

ज्यान जोखिममा परेका दुर्गम भेगका गर्भवती तथा सुत्केरी महिलालाई तत्कालै सुविधा सम्पन्न अस्पताल ल्याउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हवाई सेवा दिँदै आएको छ।

हवाई सेवा सुरु भएपछि अहिलेसम्म देशभरका ३९९ जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगिएको अधिकारीहरू बताउँछन्।

उनीहरू मध्ये १३८ जना कर्णाली प्रदेशका रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्माले जानकारी दिइन्।

स्वास्थ्य संस्था आएर नियमित स्वास्थ्य परीक्षण गर्ने र सुत्केरी हुनेलाई सरकारले यातायात खर्च दिँदै आएको छ।

प्रदेश सरकारले गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली र कर्णालीका कतिपय स्थानीय तहले थप सुत्केरी भत्ता दिने गरेका छन्।

यस्तो सुविधा दिँदादिँदै सरकारी तथ्याङ्क अनुसार अझै पनि कर्णालीका १३ प्रतिशत महिला स्वास्थ्य संस्था भन्दा बाहिरै सुत्केरी हुन्छन्।