कर्णालीको भावी मुख्यमन्त्रीमा ७ जनाको चर्चा

कर्णाली प्रदेश सभा

तस्बिर स्रोत, Province Assembly Karnali

कर्णाली प्रदेशको आगामी मुख्यमन्त्रीको लागि ७ जनाको नाम चर्चामा आएको यहाँका विश्लेषकहरूले बताएका छन्।

चर्चामा रहेका नेताहरूमध्ये मुख्यमन्त्रीमा कसको सम्भावना बलियो बन्छ भन्ने चाहिँ आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनले तय गर्ने ठानिएको छ।

निर्वाचन परिणामले कांग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री बन्ने अवस्था देखिएमा यो प्रदेशको नेतृत्व कुन दलको भागमा पर्छ भन्ने अझै स्पष्ट छैन।

कांग्रेसको तर्फबाट जुम्लाका ललितजंङ्ग शाही, जाजरकोटका राजिवविक्रम शाह र यसअघि मुख्यमन्त्री बनिसकेका हुम्लाका जीवनबहादुर शाहीको नाम मुख्यमन्त्री बन्न सक्ने नेताको रूपमा चर्चामा आइरहेको विश्लेषकहरूले बताएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट विन्दमान विष्ट, र राजकुमार शर्मा मुख्यमन्त्रीको दाबेवारका रुपमा हेरिएका छन्।

नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आए यामलाल कँडेल र विजयकुमार शाहको नाम चर्चामा रहेको एकजना राजनीतिक विश्लेषक रमेश आचार्यले बताए।

उनले भने, “कर्णालीमा केही स्वतन्त्र उम्मेदवार बनेका भएपनि उनीहरू मुख्यमन्त्रीको चर्चामा आउन नसक्ने सम्भावना छ।”

उत्साह भन्दा वितृष्णा

निर्वाचनमा कर्णालीका ७९ वटै स्थानीय तहमा उम्मेदवारहरू पुगेको भएपनि मदातामा भने त्यति उत्साह नदेखिएको आचार्यले बताए। पछिल्लो समयमा मतदाताहरूमा राजनीतिक उत्साह भन्दा पनि वितृष्णा बढी देखिने गरेको उनले बताए।

कर्णालीका १० वटा जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका कैयन् मानिसहरू आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाच अघि पनि छिमेकी देश भारतमा गइरहेका छन्।

कर्णाली प्रदेशसभा

तस्बिर स्रोत, Province Assembly Karnali

रोजीरोटीको लागि समस्या भएका उनीहरूमा 'मतदान गरेर के काम हुन्छ?' भन्ने वितृष्णा उत्पन्न भएकाले चुनाव नकुरिकनै भारततर्फ लागेको आचार्यले बताए।

कर्णालीको प्रदेशसभामा ४० सदस्य निर्वाचित हुनेछन्।

जसमध्ये २४ जना प्रत्यक्ष अनि १६ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।