बागमतीमा मुख्यमन्त्रीको आकाङ्क्षीको भिड

बागमती प्रदेशसभा

तस्बिर स्रोत, Province Assembly

मंसिर ४ गते हुने बागमती प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरू मत माग्न गाउँ देखि सहर सम्म केन्द्रित भएका छन्।

२०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनावमा गएका थिए भने यो चुनावमा पासा उल्टिएको छ।

यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत ५ दल मिलेर निर्वाचनमा गएका छन्।

मुख्यमन्त्री फेरबदल

यसअघिको चुनावपछि बागमती प्रदेशमा नेकपा एमालेको बहुमतले एमालेका डोरमणी पौडेललाई मुख्यमन्त्री बनाएका थिए।

नेकपा एमालेमा विवाद देखिएपछि डोरमणी पौडेलले राजीनामा दिए र एमाले कै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन्।

शाक्य मुख्यमन्त्री भएको केही महिना वित्न नपाउँदै माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले विमति राख्यो अनि अष्टलक्ष्मी शाक्य अल्पमतमा परिन्।

शाक्यको बहिर्गमनसँगै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए।

आलोपालोको सहमति गरेर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाएको भनिए पनि प्रदेशसभाको अन्त्यसम्म नै पाण्डे मुख्यमन्त्री बनिरहे।

५ वर्षको कार्यकालमा बागमती प्रदेशमा सरकार अस्थिरताका कारण मुख्यमन्त्री पद हेरफेर भइ रहे।

मंसिर ४ गते हुने आम निर्वाचनबाट आगामी ५ वर्षको लागि प्रदेशसभामा ६६ जना प्रत्यक्ष तथा ४४ जना समानुपातिक गरी ११० जना सदस्य चयन हुने छन्।

गठबन्धनबाट आकाङ्क्षी धेरै

बागमती प्रदेशसभाको मुख्य आकर्षणको रूपमा रहेको मुख्यमन्त्री पदको लागि भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलभित्र धेरै आकाङ्क्षीहरू देखिएका छन्।

मुख्यमन्त्रीको लागि नेकपा एमालेबाट दुई जनाको चर्चा रहेको छ।

मुख्यमन्त्रीका आकाङ्क्षीका रूपमा चर्चामा रहेकाहरूमा गठबन्धनबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ र बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, अनि नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल छन्।

गठबन्धनको प्रचारप्रसार

नेकपा एमालेबाट चाहिँ सानुकुमार श्रेष्ठ र पूर्व मन्त्री रामेश्वर फुयाँलको चर्चा रहको छ।

यसअघि मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे भने प्रतिनिधिसभा सदस्यको लागि धादिङबाट चुनाव लड्दै छन्।

बागमती प्रदेशमा १३ जिल्ला रहे पनि मुख्य बन्ने दौडमा भने मकवापुर, चितवन, नुवाकोट, काठमाण्डू र धादिङ जिल्लाका उम्मेदवारहरू देखा परेका छन्।

बागमती प्रदेश समिति सभापति रहेका इन्द्र बानियाले नेकपा एसका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँदा आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको दाबी गर्दै आएका भए पनि कार्यान्वयन हुन सकेन।

सहमति कार्यन्वयन नभएपछि मकवानपुरबाट मुख्यमन्त्री बन्ने आकाङ्क्षा लिएर मकवानपुरबाट प्रदेशसभा सदस्यको चुनावमा उनी होमिएका हुन्। इन्द्र बानिया मकवानपुर क्षेत्र नम्बर २ को ख बाट एमालेका लालबहादुर थापासँग प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता समेत आफू भएको कारणले पनि मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको उनले बताए। 

नुवाकोटका बहादुरसिंह लामा नेपाली कांग्रेसको संस्थापन पक्षबाटै अर्का आकाङ्क्षी रहेका छन्। नुवाकोट २ नम्बर क्षेत्रको ख मा उम्मेदवार बनेका उनको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका विजयसिंह लामा हुन् । लामाले आफुलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका छन्।

गठबन्धन कै मुख्यमन्त्रीका अर्का दाबेदार शालिकराम जमरकट्टेल धादिङ क्षेत्र नम्बर १ को ख बाट नेकपा एमालेका गजेन्द्र थपलियासँग चुनावी मैदानमा रहेका छन्।

गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको पनि मुख्यमन्त्रीमा चर्चा छ। 

चितवन १ को ख मा प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेका उनले चितवन १ बाट प्रतिनिधिसभा सदस्यमा दाबी गरेका थिए।

सत्ता गठबन्धनमा यस क्षेत्र कांग्रेसको भागमा परेपछि उनी मुख्यमन्त्री दाबी गर्दै प्रदेशमा निर्वाचन लड्न तयार भएका हुन्। 

उनी प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन्।

उनले नेकपा एमालेका प्रकाश खनालसँग प्रतिस्पर्धा गर्दै छन्।

एमाले बाट को?

प्रदर्शन

सानुकुमार श्रेष्ठ र पूर्वमन्त्री रामेश्वर फुयाँल नेकपा एमालेको तर्फबाट काठमाण्डूबाट चुनाव लड्दै छन्।

सानुकुमार श्रेष्ठले प्रदेशसभाको ५ वर्ष नै सभामुख भएर काम गरेका थिए भने फुयाँल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए।

नेकपा एमालेका सानुकुमार श्रेष्ठ काठमाण्डू २ को क बाट चुनाव लड्दैछन्।

"सभामुख भइसकेको मान्छे त्यो भन्दा तल आउने कुरा भएन। तर पहिला चुनाव जित्नु पर्‍यो," उनले भने।