मातृत्व र राजनीतिलाई सँगसँगै लग्दै सांसद आमाहरू

माया र बिना
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

माघ ७ गते प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन हुँदै थियो। सदनमा जनाउघण्टी बज्यो। सांसदहरू एकपछि अर्को गर्दै मतदानका लागि भित्र पस्न थाले। तर काखमा ठ्याक्कै दुई महिने छोरी च्यापेर उभिएकी सांसद माया राई अन्योलमा थिइन्।

उनलाई छोरी आफूसँगै भित्र लैजाने अनुमति थिएन। बाहिर छोरी बोकिदिने कोही थिएन।

“अनिवार्य उपस्थिति भनिएको थियो। घरमा बच्चा हेर्ने कोही थिएनन्। त्यसैले उसलाई लिएर गएँ। तर त्यहाँ पुगेपछि समस्या भयो,” नेपाली कांग्रेसकी सांसद राईले सुनाइन्।

उनले पार्टीको संसदीय दलका एक सदस्यसँगको सल्लाहमा छोरीलाई सभापतिको कार्यकक्षमा राख्ने योजना बनाइन्। तर सुरुमा मर्यादापालकले रोके। उनीहरूले सुरक्षा जोखिमको कारण देखाएको उनी बताउँछिन्।

अन्य देशहरूमा सांसदले सदनमा सन्तानलाई आफूसँगै राखेको वा त्यहीँ स्तनपान गराइरहेको दृश्य उनले सञ्चारमाध्यमहरूमा देखेकी थिइन्।

“तर नेपालको सन्दर्भमा त्यस्तो अनुमति दिइएको रहेनछ। मर्यादापालकले एउटा कोठा छ त्यहाँ राख्नूस् भनेका थिए। तर हेरिदिने भरपर्दो मान्छे नहुँदा मैले बच्चा छोड्न सकिनँ,” राईले भनिन्।

संसद्‌मा अस्ट्रेलियाकी सांसद

तस्बिर स्रोत, Reuters

झन्डै ३० वर्ष लामो राईको राजनीतिक यात्रा नीति निर्माणको तहमा पुग्नु र ४३ वर्षीया उनी आमा बन्नु एकै पटक जस्तो भयो।

यसै वर्ष भएको संसदीय निर्वाचनमा उनी समानुपातिकतर्फ जनजातिबाट प्रतिनिधिसभा सदस्य चुनिइन्।

चुनाव प्रचारप्रसारको समयमा उनी गर्भवती थिइन्। पुस ७ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिँदै थिए। तर पुस ५ गते उनले शल्यक्रिया माध्यमबाट राईकी छोरी जन्मिइन्।

“सबै माननीयहरूले शपथ लिइरहँदा म अस्पतालको शय्यामा थिएँ। जान पाइनँ, खिन्न महसुस भएको थियो। तर आडैमा निदाइरहेकी छोरी देख्दा बेग्लै आनन्द र ऊर्जा मिल्यो। शपथ त फेरि लिन मिलिहाल्थ्यो तर पहिलोचोटि आमा बन्नुको खुसी कहाँ फेरि अनुभव गर्न पाइन्छ?,” उनले खुसी व्यक्त गरिन्।

त्यतिबेला आफू र छोरीको स्वास्थ्य ठीक हुनु नै “ठूलो कुरा भएको” उनी बताउँछिन्। अहिले आफू मातृत्व र राजनीतिबीच सन्तुलन गर्ने प्रयासमा रहेको उनले सुनाइन्।

रोचक त के भने त्यसको अघिल्लो दिन कांग्रेसको संसदीय दलको निर्वाचन थियो। सुत्केरी राईलाई एम्बुलेन्समार्फत् मतदान गर्न आउन आग्रह गरिएको थियो। तर उनको नियमित परीक्षण गरेका डा. जागेश्वर गौतमले स्वास्थ्य स्थिति बिग्रन सक्ने भन्दै त्यस्तो अनुमति दिएनन्।

माया राई

तस्बिर स्रोत, Swechhya Raut/BBC

त्यसपछि निर्वाचन आयोगका प्रतिनिधिसहित संसदीय दलका उम्मेदवारहरू अस्पतालमै पुगे। राईले त्यहीँबाट मतदान गरिन्। राईका लागि यी सबै घटनाक्रम एउटा सुखद संयोग थियो। त्यही खुसीमा उनले छोरीको नाम जुराइन्- निर्वाचिका।

“मेरो काँधमा आमा र सांसद हुनुको जिम्मेवारी एकसाथ पर्‍यो। यी दुवै निकै ठूला जिम्मेवारी हुन् र मैले निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु,” उनी प्रतिबद्ध सुनिइन्।

“त्यसैले सुरुदेखि नै कुनै पनि बैठक नछुटाउन कोसिस गरेकी छु। छोरी लिएरै हाउस गइरहेकी छु।”

श्रीमान् महेश राई उनीसँगै संसद् पुग्छन्। राई बैठकमा रहँदा उनी छोरी बोकेर गाडीभित्रै बस्छन्। छोरी रुन थालेपछि श्रीमतीलाई उनी फोन गर्छन्। राई बाहिर निस्कन्छिन्। गाडीमै बसेर छोरीलाई दूध खुवाउँछिन् र फेरि बैठकमा फर्कन्छिन्।

श्रीमान् वा परिवारका अरू सदस्यको फुर्सद नहुँदा भने आफूलाई छोरी छोडेर हिँड्न हम्मेहम्मे पर्ने गरेको उनको अनुभव छ। त्यस्तो बेलामा उनी आरामदायी कक्ष र सहयोगीको उपस्थिति कल्पना गर्छिन्।

तर यो भोगाइ माया राई एक्लैको भने होइन।

redline
यो पनि पढ्नुहोस्
redline

मानसिक र भावनात्मक कठिनाइ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना जैसवालका दुई छोरी छन्। जेठी छोरी साढे तीन वर्षकी भइन् र कान्छी चाहिँ ६ महिनाकी।

स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको उपमेयर पदमा उनी उठेकी थिइन्। त्यतिबेला कान्छी छोरी गर्भमा थिइन्।

गर्भावस्थामै ३२ वटा वार्ड घुमेर घरदैलोदेखि आमसभाहरूमा उनी सहभागी भइन्। करिब ६ हजार मत ल्याएकी उनी पराजित भइन्। त्यसको दुई महिनापछि उनकी छोरी समय पुग्नु दुई महिना अगावै जन्मिइन्।

“गर्मी मौसममा घण्टौँ कुद्नु र घरदैलोको कारण हुनसक्छ शारीरिक असर परेको। तर मेरा श्रीमान्‌ले मलाई मानसिक रूपमा कमजोर महसुस हुन दिनुभएन। तिमी तङ्ग्रिएर झन् बलियो बन्नुपर्छ भन्नुभयो,” उनले सुनाइन्।

त्यसपछि संसदीय चुनावमा पार्टीले उनलाई मधेसी महिलातर्फ समानुपातिकमा पहिलो नम्बरमा राख्यो। त्यो अवसरलाई उनले छोरीले आफूसँगै लिएर आएको “भाग्य” ठानिन्।

बिना जैसवाल र राजेन्द्र लिङ्देन

तस्बिर स्रोत, BEENA JAISWAL

“म एकदम मोटिभेटेड थिएँ। त्यसैले अवसर गुमाउन चाहिनँ। जनताको प्रतिनिधि बनेर सदनमा आएँ। त्यसपछि शारीरिकभन्दा मानसिक चुनौतीहरू ज्यादा भए,” उनले भनिन्।

छोरी बोकेर सांसदको शपथ ग्रहण गर्न पुगेकी थिइन् उनी। भित्र लैजान नपाउने थाहा पाएपछि छोरी हेर्न श्रीमान्‌लाई उनले बोलाइन्। प्रमाणपत्र लिन भने उनी छोरी लिएरै गएकी थिइन्।

सदनमा बैठक चल्न थालेपछि उनले एकजना सहयोगी महिला लिएर जान थालिन्। किनकि घरमै छोडेर जाँदा “बच्चाको चिन्ता बढी हुने” उनी बताउँछिन्।

“उनीहरू बस्न वा मैले बेलामै दूध खुवाउन जान छुट्टै कक्ष त थिएन। तर पनि फिजिकल कुराहरू व्यवस्थापन गर्‍यौँ, तथापि मानसिक र भावनात्मक कठिनाइहरू धेरै हुँदा रहेछन्,” उनले भनिन्।

“बैठक ३/४ घण्टा चल्थ्यो। म निकै आत्तिन्थेँ। बच्चालाई पनि मलाई छोड्ने बानी थिएन। म त झन् आमा, कसरी छोड्न सक्नु? त्यसमाथि काठमाण्डूको जामले कुन समय घर पुगिन्छ थाहा नहुने।”

महिला सांसदहरूले आफूलाई समानुभूत गरेको उनको बुझाइ छ। उनीहरूसँग मिलेर संसद् भवन र पार्टी कार्यालयमा स्तनपान र शिशु स्याहार कक्ष स्थापना गर्न अध्यक्ष समक्ष आग्रह गरेको उनको भनाइ छ।

सदनभित्रको वातावरण कस्तो?

सङ्घीय संसद् भवनमा आमा सांसद वा अन्य कर्मचारी केन्द्रित विशेष कक्षको व्यवस्थापन छैन जहाँ उनीहरूले आफ्ना सन्तानलाई ढुक्कले छोड्न वा स्तनपान गराउन सकून्। त्यसैले आमा सांसदहरू आफ्नो काखे बच्चा घरमै छोडेर आउन वा एकजना रेखदेख गर्ने मानिससहित संसद् भवन परिसरमै ल्याउन बाध्य छन्।

“हेरिदिने मान्छे बच्चा बोकेर कम्पाउन्ड वरपर डुलिराख्नुहुन्छ। त्यहाँ हुँदा कम्तीमा आफू नजिक छ भन्ने अनुभूति हुन्छ। घरमै राखेर आउँदा त दिमाग सदनमा हुन्छ, मन घरमै,” सांसद जैसवालले आफ्नो अनुभव राखिन्।

पञ्चायतकालीन संरचना भएकाले त्यहाँ शिशु स्याहार केन्द्र वा स्तनपान गराउने कक्ष नभएको बताउँछन् सङ्घीय संसद्का सहप्रवक्ता दशरथ धमला। उनका अनुसार निर्माणाधीन भवनमा भने शिशु स्याहार केन्द्र र स्तनपान कक्ष स्थापना प्रस्ताव गरिएको छ।

“पुराना संरचनामा संसद् भवन रहेकाले हाल त्यस्तो सुविधा नभएको हो। तर नयाँमा न्यूनतम आवश्यकताका सेवासुविधा हुन्छन्,” उनले भने।

संसद् भवन

तस्बिर स्रोत, RSS

‘फिडिङ सेन्टर’मा तत्काल दूध खुवाउन आवश्यक संरचना र स्याहार केन्द्रमा शिशु तथा बालबालिका बस्न, सुत्न, खेल्न, उनीहरूलाई खाना खुवाउन आवश्यक व्यवस्थापन गरिने धमलाले बताए।

यस्ता सुविधा सार्वजनिक स्थलसँगै निजी कार्यालयहरूमा पनि उपलब्ध हुनुपर्ने जैसवालको धारणा छ।

“आमा हुनु प्रायः सबै महिलाको जीवनको अंश हो। उनीहरू कोही पनि परिवारलाई छोडेर करियरमा केन्द्रित हुन सक्दैनन् होला। म पनि सक्दिनँ। त्यसैले क्षमता र अवसरले घरमा सीमित नरहेका हरेक महिलालाई सन्तान हुर्काउन सहज वातावरण निर्माण गरिनुपर्छ,” उनले भनिन्।

त्यसो हुँदा जुनसुकै क्षेत्रका महिलाले आफ्नो काममा शतप्रतिशत दिन सक्ने उनको तर्क छ।

यी सबै चुनौतीबीच सांसद माया राई भने आफ्नो निर्वाचन क्षेत्र भोजपुरमा छोरी लिएरै मतदातालाई धन्यवाद ज्ञापन गर्न जाने योजनामा छिन्। तर विकट जिल्लाका सडकहरू सम्झँदा आफ्नो र छोरीको स्वास्थ्यमा कुनै असर पर्ने हो कि भन्ने कुराले पिरोलेको उनी सुनाउँछिन्।

सडक, बिजुलीजस्ता संरचनागत र प्राविधिक विकासहरूको पाटो केलाउँदै गर्दा महिला र आमाहरूका आधारभूत आवश्यकताका मुद्दा कहीँ छुटेजस्तो लागेको उनी सुनाउँछिन्। त्यसैले अब सदनमा उनी एक सांसद मात्र नभई आमा भएर बोल्ने योजनामा छिन्।

“हरेक क्षेत्र र भूमिकामा चुनौती छन्। म त्यसलाई चिर्ने प्रयास गर्दैछु। हामीले हरेक आमाको आवश्यकता महिलाको हक, अधिकारको मुद्दा अघि सार्नुपर्छ। त्यसमा मेरो प्रयास रहन्छ,“ राईले भनिन्।

redline
यो पनि पढ्नुहोस्
redline