बिहार: 'मृत घोषित' बलात्कारी जीवित भएको पत्ता लगाउने भारतकी एक आमा

आमा र छोरी, विहार

तस्बिर स्रोत, Swastika Pal

    • Author, सौतिक बिस्वास
    • Role, बीबीसी न्यूज
1px transparent line

गत वर्ष भारतको उत्तरी राज्य बिहारमा एक महिलालाई उनकी छोरीको बलात्कारीको मृत्यु भएको बताइयो। लगत्तै ती मानिस विरुद्धको मुद्दा बन्द गरिएको थियो। तर, ती महिलाले त्यस व्यक्तिको मृत्यु भएको भन्ने दाबीमाथि प्रश्न उठाइन् र यथार्थ उजागर गरिन्। जसका कारण मुद्दा पुनः चल्यो र अन्ततः उनकी छोरीको निम्ति न्याय सुनिश्चित भयो। बीबीसीका सौतिक बिस्वासले ती आमाको संघर्षको अन्तर्कथा यहाँ प्रस्तुत गरेका छन्।

गत वर्ष, सम्भवतः फेब्रुअरी महिनाको एक बिहान, दुई जना पुरुषहरू भारतको पवित्र नदी गङ्गाको किनारमा अवस्थित दाहसंस्कार स्थलमा पुगे।

उनीहरू हिन्दू परम्परा अनुसार अन्तिम संस्कारका लागि त्यहाँ पुगेका थिए। उनीहरूले दाउरा बोकेका थिए तर रोचक त के भने कुनै शव ल्याएका थिएनन्।

उनीहरू दाहसंस्कार गर्ने ठाउँमा पुगेपछि घटनाले अस्वाभाविक मोड लियो।

दुईजना मिलेर भुईँमै चिता बनाए। त्यसपछि उनीहरूमध्ये एकजना आफै चितामा सुते। सेतो कात्रोले आफैलाई ढाके र आँखा बन्द गरे। अर्कोले चाहिँ चितामा सुतेको व्यक्तिको टाउको बाहेक पूरा शरिर नढाकिएसम्म दाउरा थपिरहे।

त्यसपछि त्यो अवस्थाको दुईवटा तस्बिर खिचियो। तस्बिर कसले खिच्यो वा त्यहाँ तेस्रो व्यक्ति पनि थियो कि भन्ने स्पष्ट छैन।

"मृतक" बनेका व्यक्ति एक सरकारी विद्यालयका शिक्षक ३९ वर्षीय नीरज मोदी थिए। अर्का व्यक्ति उनका ६० वर्षमाथिको उमेरका बुबा राजाराम मोदी थिए, जो एक किसान हुन्।

त्यसपछि राजाराम मोदी एक वकिललाई साथ लिएर करिब १०० किलोमिटर टाढा रहेको अदालतमा पुगे।

त्यहाँ उनले छोरा नीरज मोदीको फेब्रुअरी २७ मा उनीहरूको गाउँको घरमा मृत्यु भएको बयान दिएर कानुनी दस्तावेजमा हस्ताक्षर गरे।

उनले दाहसंस्कारका दुई तस्बिर र दाहसंस्कारका लागि दाउरा खरिद गरेको रसिद प्रमाणका रूपमा पेस गरे।

मोदी

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, तस्बिरमा देखिएका मृत मानिस बलात्कार अपराधी नीरज मोदी हुन्

प्रहरीले नीरजविरुद्ध बलात्कारको अभियोग पत्र दायर गरेको ६ दिनपछि यो सबै भएको थियो।

उनलाई सन् २०१८ को अक्टोबरमा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो।

ती बालिका उनकै विद्यार्थी थिइन् र उनलाई उखुबारीमा एक्लै हुँदा जबरजस्ती करणी गरिएको थियो।

बलात्कारीले आफूले घटनाको भिडिओसमेत खिचेको र त्यसलाई अनलाइनमार्फत् सार्वजनिक गरिदिने भनेर पिडितलाई धम्काएका थिए।

बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि मोदी पक्राउ परेका थिए र दुई महिना जेलमा बिताएपछि धरौटीमा रिहा भएका थिए।

गत वर्ष नीरज मोदीको "मृत्यु" भएपछि घटनाक्रम द्रुत गतिमा अघि बढ्यो। उनका बुबाले अदालतमा जानकारी दिएको दुई महिनापछि स्थानीय अधिकारीहरूले उनको मृत्यु प्रमाणपत्र जारी गरिदिए।

अदालतले सोही वर्ष मे महिनामा "मुद्दाका एक मात्र अभियुक्त"को मृत्यु भएका कारण मुद्दामाथिको कारबाही बन्द गरिदियो।

केवल एक व्यक्तिले मात्र ती शिक्षकले आफ्नो मृत्युको नाटक गरेको र सजाय भोग्नबाट जोगिन लुकेको शङ्का गरिन्।

ती व्यक्ति हुन् पिडित बालिकाकी आमा, शारीरिक रूपमा कमजोर महिला जो मोदीसँगैको गाउँमा एक झुपडीमा बस्थिन्।

Short presentational grey line
1px transparent line
मोदीको बाबुछोरा

तस्बिर स्रोत, Swastik Pal

1px transparent line

"नीरज मोदीको मृत्यु भयो भनेर दाबी गरिएको थाहा पाएकै क्षण मलाई थाहा थियो कि त्यो खबर झूटो हो। मलाई थाहा थियो ऊ जीवितै छ भन्ने," मैले हालसालै उनलाई भेट्दा ती आमाले भनिन्।

भारतमा हुने १० मध्ये सात मृत्यु देशको लगभग ७००,००० वटा गाउँहरूमा हुन्छन्।

सहरको तुलनामा गाउँमा धेरैको मृत्यु घरमै हुन्छ। ५४ वर्ष पुरानो कानुन अनुसार जन्म र मृत्यु अनिवार्य दर्ता गर्नु पर्छ तर मृत्युको कारण खुलाउनु पर्दैन।

बिहारको गाउँमा कुनै व्यक्तिको निधन हुँदा मृतकको परिवारको सदस्यले आफ्नो बायोमेट्रिक परिचय नम्बर पेस गर्नुपर्ने नियम छ।

त्यस्तै मृत्यु प्रमाणित गर्न अन्य पाँच जना गाउँलेले हस्ताक्षरसहित मृत्यु पुष्टि गर्नुपर्छ।

त्यसपछि ती कागजपत्र स्थानीय पञ्चायत वा ग्राम पञ्चायतमा बुझाउनु पर्छ।

स्थानीय रजिस्ट्रारसहित परिषद्का सदस्यहरूले कागजपत्रको जाँच गर्छन् र सबै कुरा ठीक भएको खण्डमा एक साताभित्र मृत्युको प्रमाणपत्र प्राप्त हुन्छ।

"हाम्रा गाउँहरू बाक्ला छन् र सबै जना निकट छौँ। सबैले एकअर्कालाई चिन्छौँ। कसैको मृत्युबारे अरू कोही बेखबर रहँदैनन्," पीडितका वकिल जय करण गुप्ता भन्छन्।

राजाराम मोदीले पाँच जना गाउँलेको हस्ताक्षर, बायोमेट्रिक परिचय नम्बर र आफ्नो छोराको मृत्यु पुष्टि गर्ने बयानपत्र बुझाएर छोराको मृत्यु प्रमाणपत्र लिएका थिए। कागजपत्रमा मृत्युको कारण उल्लेख गरिएको छैन। दाउरा पसलमा दिइएको रसिदमा "रोग"को कारण मृत्यु भएको जनाइएको छ।

गत मेको एक दिन एक जना वकिलले, बालिकाकी आमालाई नीरज मोदीको मृत्यु भएको कारण उनी विरुद्धको मुद्दा बन्द भएको जानकारी दिए।

चित्र कोर्दै ती बालिका, विहार

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, घटनापछि बालिका विद्यालय जान सकिनन्

"तर एक जना शिक्षकको मृत्युबारे कसरी कसैलाई थाहा भएन? मृत्युपछि किन परम्परागत मृत्युसंस्कार गरिएन? मृत्युको बारेमा किन चर्चा भएन?," उनले प्रश्न गरिन्।

उनले नीरज मोदीको मृत्यु भएको हो या होइन भन्दै घरघरमा पुगेर मानिसहरूसँग बुझेको बताइन्। तर, उनको मृत्युबारे कसैले थाहा पाएका थिएनन्। त्यसपछि उनी यस विषयमा अनुसन्धानको मागसहित निवेदन लिएर अदालत धाइन्। न्यायाधीशहरूले आरोपित जीवित रहेको प्रमाणित गर्न उल्टै प्रमाण माग गरे।

मे महिनाको बीचतिर, ती आमाले ग्राम पञ्चायतले नक्कली कागजपत्रको आधारमा मृत्यु प्रमाणपत्र जारी गरेको र यस विषयमा अनुसन्धान हुनुपर्ने जनाउँदै एक वरिष्ठ स्थानीय अधिकारीलाई निवेदन दिइन्।

त्यसपछि घटनाक्रमले गति लियो।

ती उच्च अधिकारीले घटनासम्बन्धी छानबिन गर्न निर्देशन दिए र ग्राम पञ्चायतलाई जानकारी गराए। त्यसपछि पञ्चायतका सदस्यहरूले राजाराम मोदीसँग उनको छोराको मृत्यु भएको बारे "मृत्युपछि मृतकको फोटो, दाहसंस्कार, जलेको चिता, मृत्युपछिका संस्कार र पाँच साक्षीहरूको ताजा बयान" लगायत थप प्रमाण मागे।

ग्राम पञ्चायतका सदस्यले करिब २५० घर भएका गाउँका बासिन्दाहरूलाई भेटे। तीमध्ये कसैले पनि नीरज मोदीको मृत्युबारे सुनेको पाइएन। हिन्दूहरूमा शोक मनाउने परम्परा अनुसार कसैको मृत्युपश्चात् निकट आफन्तहरूले टाउको खौरन्छन्। तर मोदी परिवारका कुनै पनि सदस्यले कपाल खौरिएको देखिएन।

मृत्युको प्रमाणपत्र

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, मृत्युको प्रमाणपत्र
Presentational white space

"नीरज मोदीकै आफन्तहरूलाई समेत उनको मृत्यु वा उनी कहाँ छन् भन्ने थाहा छैन। उनीहरूले यदि कसैको मृत्यु हुन्थ्यो भने उसको अन्तिम संस्कार घरमै गरिने कुरामा जोड दिए," अनुसन्धानमा खटेका प्रहरी अधिकारी रोहितकुमार पासवानले भने।

ग्राम पञ्चायतका सदस्यहरूले राजाराम मोदीलाई पुनः एक पटक प्रश्न गरे। उनले आफ्नो छोराको मृत्युको ताजा प्रमाण दिन सकेनन्। "जब हामीले उनलाई थप प्रश्न गर्‍यौँ उनले कुनै चित्तबुझ्दो जवाफ दिन सकेनन्," पञ्चायतका सचिव धर्मेन्द्र कुमारले बताए।

नीरज मोदीले आफ्नो मृत्युबारे नाटक गरेको र बाबुछोरा दुवैले मृत्यु प्रमाणपत्र प्राप्त गर्न किर्ते कागजपत्र बनाएको अनुसन्धानको निचोड रह्यो।

नीरज मोदीले आफ्नै मृत्युको प्रमाणपत्र लिन पाँच जना विद्यार्थीहरूको अभिभावकको बायोमेट्रिक परिचय नम्बर लिएको र फर्जी हस्ताक्षर गरेको प्रहरीले पत्ता लगायो। उनले ती अभिभावकहरूसँग विद्यार्थीलाई छात्रवृत्ति व्यवस्थापन गर्न उनीहरूको बायोमेट्रिक आवश्यक पर्ने बताएका थिए।

मे २३ मा अधिकारीहरूले नीरज मोदीको मृत्यु प्रमाणपत्र खारेज गरिदिए। प्रहरीले उनको बुबालाई पक्राउ गरेर किर्ते कागजपत्र बनाएको अभियोग लगाए।

"मैले आफ्नो सेवा अवधिभर यस्तो मुद्दा अनुसन्धान गरेको थिइनँ," पासवानले भने। " सुन्दा त घटनाक्रमको रचना एकदम पक्का र बलियो सुनियो तर त्यो त्यस्तो थिएन।"

जुलाईमा अदालतले अभियुक्तले "सजायबाट बच्न" "धोका दिएको र गलत जानकारी दिएको" भन्दै मुद्दा पुनः सुरु गर्‍यो। नीरजको खोजी गर्न अथक लडिरहेकी आमा उनलाई पक्राउ गर्ने मागसहित पुनः अदालत पुगिन्।

नीरज मोदी भग्लापुरमा पक्राउ परेका थिए

तस्बिर स्रोत, The News Post

तस्बिरको क्याप्शन, १४ वर्षको जेल सजाय घोषणा भएपछि नीरज मोदी

मृत घोषित भएको नौ महिनापछि गत अक्टोबरमा नीरज मोदीले अदालतसमक्ष आत्मसमर्पण गरे। सुनुवाइका क्रममा उनले बलात्कारको आरोप खण्डन गर्दै आफ्नो बचाउ गरेका थिए। तर उनी योपल्ट उनी टाउको झुकाएर र डोरीले बाँधिएको अवस्थामा अदालतबाट निस्किए।

गत महिना अदालतले नीरज मोदीलाई नाबालिग बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै १४ वर्षको जेल सजाय सुनाएको थियो। आदेशले पीडितलाई तीन लाख भारतीय रुपैयाँ क्षतिपूर्ति प्रदान गर्‍यो। राजाराम मोदी पनि ठगी र बेइमानी गरेको आरोपमा जेलमा छन्। उनलाई बढीमा सात वर्षसम्मको जेल सजाय हुन्छ। अहिले यी दुवै बाबुछोरा मृत्यु प्रमाणपत्र सम्बन्धी मुद्दा लडिरहेका छन्।

"मेरी छोरीलाई गलत व्यवहार गर्ने व्यक्तिलाई कारबाही सुनिश्चित गर्न म तीन वर्षभन्दा बढी समय अदालत धाइरहेँ। एक दिन अचानक उनको वकिलले मलाई ऊ मरिसकेको बताए। एउटा मान्छे कसरी यतिकै हराउन सक्छ?," ती आमा भन्छिन् ।

"ती वकिलले मलाई नयाँ मुद्दा लडेर उनको मृत्यु नक्कली भएको प्रमाणित गर्न धेरै खर्च हुने बताए। अरूले अभियुक्त जेलबाट निस्किएर बदला लिन सक्ने चेतावनी दिए।"

"मैले वास्ता गरिनँ। मैले नडराउने र पैसाको व्यवस्था गर्ने बताएँ। मैले न्यायाधीश र अधिकारीहरूलाई भनेको थिएँ: 'सत्य पत्ता लगाउनुहोस्'।"

Short presentational grey line
1px transparent line
भग्लापुर, विहार

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, बालिकाको परिवार विहारको एक भित्री गाउँमा बस्छ

भारतको सबैभन्दा गरिब राज्य बिहारको भित्री भागमा रहेको पीडितको गाउँसम्म पुग्न हामीले खाल्डाखुल्डी भएका सडक, खुल्ला ढलहरू, झुपडीहरू, पहेँलै भएको तोरी बारी र धुवाँले भरिएको इँटा भट्टा हुँदै गाडीको यात्रा गर्‍यौँ।

ती आमा आफ्ना दुई स्कुल जाने उमेरका छोराहरू र छोरीसँग बस्ने रहिछन्। जस्ता र टायलको छानो भएको उनीहरूको कोठा निकै सानो थियो। उनको जेठी छोरी विवाह गरेर अन्यत्र बस्न थालेकी रहेछिन्।

उनीहरूको निरस र अँध्यारो कोठामा निकै कम सामानहरू थिए: एउटा डोरी र काठको खाट, अन्न राख्न एउटा स्टिलको भाँडो, भुईँमा टाँसिएको माटोको चुल्हो र लगाउने कपडाको थुप्रो। यो परिवारको आफ्नो जमिन रहेनछ।

गाउँमा पानी र बिजुली पुगेको थियो तर रोजगारी थिएन। त्यसैले उनका बुबा १,७०० किलोमिटरभन्दा पर दक्षिणी राज्यमा बसाइँ गएका थिए। त्यहाँ उनले भारी बोक्ने मजदुरका रूपमा काम गर्थे र कमाएको पैसा घर पठाउँथे।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सरकारले व्यापक शौचालय निर्माण अभियानपछि भारतका शत प्रतिशत गाउँहरू 'खुला दिसामुक्त' भएको घोषणा गरेका थिए। तर, पीडित बालिकाको आमासहित धेरै घरहरूमा अझै पनि शौचालयको अभाव छ।

त्यसैले उनकी छोरी नजिकैको उखुबारीलाई शौचालयको रूपमा प्रयोग गर्न गएकी थिइन्। न्यायाधीश लवकुश कुमारले गरेका फैसला अनुसार त्यसै बेला नीरज मोदी पछाडिबाट उनीसम्म पुगेर उनको मुख थुनेर जबरजस्ती करणी गरेका थिए। उनले उक्त कार्यको भिडिओ रेकर्ड गरेको र त्यसबारे कसैलाई भने भिडिओ भाइरल गरिदिने धम्की दिएको न्यायाधीशले बताए।

"त्यो घटनापछि मेरी छोरीको जीवन रोकिएको छ," उनकी आमाले भनिन्।

बालिका, विहार

तस्बिर स्रोत, Swastik Pal

घटना भएको १० दिनपछि डराएकी ती युवतीले आफ्नी आमासँग सबै कुरा भनिन्। उनकी आमा प्रहरीकहाँ गइन् र त्यसको केही दिनपछि बालिकाले प्रहरीलाई बयान दिइन्। उनले प्रहरीसमक्ष भनिन्,"नीरज मोदीले स्कुलमा प्रायः मलाई कुट्छन्।"

नीरज पक्राउ परेपछि बालिका विद्यालय जान थालेकी थिइन्। तर, उनी धरौटीमा रिहा हुँदा उनी पढ्न जान छोडिन्। अब त उनी विद्यालय नगएको पनि चार वर्ष भयो। उनका पुस्तकहरू कबाडीमा बिक्री गरिएकाछन्।

फुस्रो र डर बोकेको मुहार बोकेर ती बालिका अहिले आफ्नो अधिकांश समय अँध्यारो कोठामा बिताउँछिन्। "उसको विद्यार्थी जीवनको अन्त्य भयो। मलाई उसलाई बाहिर पठाउन डर लाग्छ। मलाई उसको विवाह गराउन सक्छु कि भन्ने आशा छ," उनकी आमाले भनिन्।

धेरै प्रश्न अनुत्तरित नै छन्। ग्राम पञ्चायतले कागजपत्रहरू राम्रोसँग जाँच समेत नगरी कसरी प्रमाणपत्र जारी गर्‍यो? "जब मैले उनीहरूलाई चुनौती दिएँ, उनीहरूले गल्ती गरेको स्वीकार गरे," ती आमाले भनिन्।

नीरज मोदीको घटना "धेरै असामान्य र दुर्लभ" भएको बताउँछन् टोरन्टो विश्वविद्यालयका प्राध्यापक प्रभात झा।

"हाम्रो कामको सिलसिलामा त्यस्तो एउटा पनि घटना भेटेका छैनौँ," उनले भारतको वृहत् मिलियन डेथ स्टडीलाई उल्लेख गर्दै भने।

जे गुप्ता, वकिल

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, जे गुप्ता, वकिल
Presentational white space

"यस किसिमको दुरुपयोगको सम्भावना कम छ। तर मृत्यु दर्ताको लागि थप प्रतिबन्धहरू वा सीमा राख्नेबारे हामीले थप सावधानी अपनाउनु पर्छ। किनकि त्यस्ता प्रतिबन्धहरूले परिस्थिति अझै जटिल बनाउन सक्छ," झाले भने।

कारण: भारतमा मृत्यु र चिकित्सा दर्ता प्रक्रियामा पुरुषभन्दा बढी महिलाहरू र धनीभन्दा बढी गरिबहरू नगनिने भएकाले सम्पत्ति हस्तान्तरण र अन्य प्रयासहरूलाई झनै गाह्रो बनाउँछ। "सम्भवतः गरिबीको दलदलमा पुर्‍याउँछ।"

"मैले पूरा गाउँ र अधिकारीहरूलाई यथार्थसम्म पुग्न दबाब दिएँ। मेरी छोरीलाई गलत व्यवहार गर्ने र उसको जीवनमा असर पुर्‍याउने मान्छे कारागारमा भएकाले म खुसी छु।"

"तर मेरी छोरीको जीवन ठप्प भयो। अब उसलाई के हुन्छ?"