रुसः जेलमा भएको नियोजित बलात्कारको एकदमै भयानक विवरण

- Author, आई इन्भेस्टीगेशन्स एवम् ओल्गा प्रोस्भीरोभा र ओलेग बोल्डीरेभ
- Role, बीबीसी न्यूज
रुसी जेलमा बन्दी जीवन बिताएका पूर्वकैदीहरूले त्यहाँ प्रणालीगत रूपमा नै बन्दीहरूलाई बलात्कार गरिने र यातना दिइने गरिएको बीबीसीलाई बताएका छन्।
यस्तो दुर्व्यवहारको भिडिओ गत वर्ष एक व्यक्तिले सार्वजनिक गरेका थिए। अहिले पीडितहरूले बीबीसीलाई त्यस्तो किन हुन्छ र कसरी उनीहरू न्यायको लागि लडिरहेका छन् भनेर बताएका छन्।
चेतावनी: यस लेखमा यौन दुर्व्यवहार र हिंसाको घटनाका तस्बिर र विवरणहरू छन्।
कैदीहरूमाथि भएको दुर्व्यवहारको डरलाग्दो भिडियो सार्वजनिक भएपछि र त्यसबारे अन्तर्राष्ट्रिय मिडियाले समाचार लेखेपछि गत वर्ष दक्षिण-पश्चिम रुसको साराटोभ जेल अस्पताल चर्चामा आयो।
अलेक्से मकारोभलाई कुटपिटको अपराधमा ठहर भएको छ वर्षको जेल सजायको केही समय काट्न सन् २०१८ मा त्यहाँ पठाइनुअघि नै उक्त जेलमा हुने गरेको दुर्व्यवहारका बारेमा थाहा थियो।
अन्य कारागारहरूबाट साराटोभ पठाइएका कैदीहरूले बन्द ढोकाभित्र यातना दिन स्वास्थ्य उपचारको बहाना बनाइने गरिएको गुनासो गरेका थिए।
रुसी जेलहरूमाथि लगभग कुनै स्वतन्त्र निकायले निरीक्षण गर्दैन र जेल अस्पतालहरू त झन् निगरानी बाहिर छन्।
क्षयरोग पुष्टि भएका मकारोभ साँच्चै नै बिरामी थिए त्यसैले उनलाई आफूलाई दुर्व्यवहार नहुने आशा थियो तर त्यहाँ रहँदा आफू दुई पटक बलात्कृत भएको उनी बताउँछन् ।
पीडितहरू र विज्ञहरूको दाबी अनुसार मकारोभ र अरूले भोगेका दुर्व्यवहारहरू जेल अधिकारीहरूको स्वीकृतिमा हुने गरेका छन्, र यस्ता दुर्व्यवहार कैदीहरूलाई धम्की दिन वा अपराध स्वीकार गराउन प्रयोग गरिन्छ।

भिडिओ सार्वजनिक भएपछि रुसी सरकार यातना काण्डबारे प्रतिक्रिया दिन बाध्य भयो।
सन् २०१५ देखि सन् २०१९ को बीचमा रुसका ९० प्रतिशत क्षेत्रमा यातना दिइएको विवरण स्वतन्त्र रुसी सञ्चारमाध्यम प्रोएक्टले दाबी गरेको छ। तर यस विषयमा सुधारको कारबाही सुस्त छ।
बीबीसीले त्यस अवधिका हजारौँ अदालती दस्ताबेजहरूको विश्लेषण गर्दा ४१ जना जेल अधिकारीहरूलाई कैदीहरूमाथि गम्भीर दुर्व्यवहारको मुद्दामा दोषी ठहर गरिएको छ। तर तीमध्ये झन्डै आधालाई निलम्बित सजाय मात्र दिइएको थियो। बीबीसीले मकारोभ लगायत कैदीहरूसँग रुसी जेल प्रणालीमा भोग्नुपरेको दुर्व्यवहारको बारेमा कुरा गरेको छ।
मकारोभले आफूलाई पहिलो पटक सन् २०२० को फेब्रुअरीमा यातना दिइएको बताएका छन्। उनले जेल प्रशासन विरुद्ध षड्यन्त्र गरेको आरोप स्वीकार्न दिइएको दबाब अस्वीकार गरेपछि तीन जना पुरुषहरूले उनलाई लगातार हिंसात्मक यौन दुर्व्यवहार गरेको उनी बताउँछन्।
"दश मिनेटसम्म उनीहरूले मलाई कुटे र मेरो लुगा च्याते। र झन्डै अर्को दुई घण्टासम्म उनीहरूले मलाई भुईँ सफा गर्ने बिँडले बलात्कार गरे।"
"म बेहोस हुँदा ममाथि चिसो पानी छ्याप्थे र होसमा आएपछि फेरि मलाई टेबुलमा फ्याँकिदिन्थे।"
दुई महिनापछि फेरि त्यस्तै भयो। आफूलाई त्यसरी आक्रमण गर्नेहरूलाई ५०,००० रुबल तिर्न भनिएको र त्यो कुराबारे मुख नखोल्न फेरि बलात्कार गरिएको उनी बताउँछन्।
मकारोभले बीबीसीलाई आफूलाई दिइएको यातनाको भिडियो खिचिएको बताए। कैदीहरूले भने अनुसार काम नगरे ती अपमानजनक भिडिओ जेलभरि फैलाइने भनिएको उनी बताउँछन्।
मकारोभ र अन्य व्यक्तिहरूले जेलका अन्य कैदीलाई जेल अधिकारीहरूले बलात्कार गर्न बाध्य पारिएको बताउँछन्।
मकारोभले कैदीहरू चिच्याएको आवाज दबियोस् भनेर दुर्व्यवहारका बेला ठूलो आवाजमा सङ्गीत बजाइने गरेको पनि बताए।

गत वर्ष सेराटोभको भिडिओ अर्का पूर्वकैदीको सहयोगमा सार्वजनिक गरिएको थियो। सर्गे सभेल्येभ कैदीमाथि भएका हिंसा र दुर्व्यवहार देखाउने भिडिओहरू बाहिर ल्याउन सफल भए।
माथिल्लो तहको स्वीकृतिमा सङ्गठित प्रणालीको अंशको रूपमा यातना दिइने गरेको उनको विश्वास छ।
सभेल्येभलाई छोटो समयका लागि जेलको सुरक्षा विभागमा काम गर्न भनिएको बेला उनले ती भिडिओ हात पारेका थिए। उनको काम जेल अधिकारीहरूले भिर्ने क्यामेराका दृश्यहरू सूचीकरण गर्ने थियो।
तर सभेल्येभले बीबीसीलाई बताए अनुसार सेराटोभमा कैदीलाई यातना दिने बेला अधिकारीहरूले कैदीलाई नराम्रो काम गर्न लगाउँथे र उनीहरूको शरीरमा क्यामेरा राख्थे।
"मलाई सुरक्षा विभागका प्रमुखले [क्यामराहरू दिन] आदेश दिन्थे," उनी भन्छन्।
त्यसपछि उनलाई सुरक्षा विभागलाई देखाउनको लागि भिडिओहरू सुरक्षित राख्न भनिन्थ्यो, र कहिलेकाहीँ वरिष्ठ कर्मचारीहरूलाई देखाउन सकियोस् भनेर 'पेन ड्राइभमा कपी गर्न' भनिन्थ्यो। जेलभित्रका डरलाग्दो भिडिओ हेरेपछि उनले ती भिडिओहरू आफ्नो 'पेन ड्राइभमा कपी गर्न' र लुकाउन थाले।
"यसलाई वास्ता नगरी हिँड्नु र केही नगर्नु भनेको यसलाई सामान्य रूपमा लिनु हो।"
कतिपय भिडिओमा यातना दिने व्यक्तिहरूसँग हतकडी वा शरीरमा भिर्ने क्यामेराजस्ता जेल अधिकारीलाई मात्र दिइने उपकरणहरू देखिन्छ।
सभेल्येभ भन्छन् कि दुर्व्यवहार गर्ने कैदीहरू हिंसात्मक अपराधहरूमा लामो समय सजाय भोगिरहेका हुन्थे। त्यसै कारण आफ्नो जेल बसाइ सहज होस् भन्ने चाहनाले उनीहरू जेल अधिकारीहरूलाई खुसी बनाउन उनीहरूले भने अनुसार गर्ने उनी बताउँछन्।
त्यस्ता बन्दीहरूलाई कुनै समयमा 'प्रेसोभ्सचिकि' उपनाम समेत दिने गरिएको थियो।

"उनीहरू जेलमा रहने समयमा भनेको मानेर प्रशासनप्रति वफादार हुन चाहन्छन् किनकि उनीहरू राम्रोसँग खान, सुत्न र केही फाइदा होस् भन्ने चाहन्छन्," सभेल्येभ बताउँछन्।
ती भिडिओ प्रकाशन गर्ने गुलागु डट नेटका अधिकारकर्मी भ्लादिमिर ओसेचकीन एक भिडिओको दृश्यमा यातना दिनेहरूले अपनाएको प्रक्रिया हेर्दा उनीहरूले धेरै अभ्यास गरेको सङ्केत दिने बताउँछन्।
"उनीहरू एक अर्कालाई सङ्केत गर्छन्, मौन रहेर बिनाशब्द एक अर्कालाई बुझ्छन् किनभने तिनीहरू स्थापित प्रक्रिया अनुसरण गरिरहेका छन्। भिडिओको मान्छेले कसरी एक जना पुरुषको खुट्टा फटाइदिँदा उसलाई बलात्कार गर्न सकिन्छ भनेर सङ्केतबाट भनिरहेका छन्।"
सभेल्येभको भिडिओ प्रमाणपछि छ जना यातना दिने कैदीलाई गिरफ्तार गरियो तर उनीहरूले संलग्नता अस्वीकार गरे।
दुई महिनापछि साराटोभ जेल अस्पतालका निर्देशक र उनको सहायकलाई पनि गिरफ्तार गरियो तर ती दुवैले भिडियोहरूमा देखाइएको दुर्व्यवहारसँग कुनै सम्बन्ध नरहेको बताए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय जेल सेवाको प्रमुखलाई फेरे र परिवर्तन ल्याउन "व्यवस्थित उपायहरू" आवश्यक रहेको घोषणा गरे।
गत महिना शक्तिको दुरुपयोग गरेर वा प्रमाण निकाल्न यातना प्रयोग गर्नेलाई कडा सजायको व्यवस्था गर्ने गरी कानुन संशोधन गरियो।
तर मानवअधिकारकर्मीहरूले भने अपराधका रूपमा यातनालाई अझै पनि फौजदारी अभियोग नबनाइएको बताएका छन्।
राष्ट्रपति पुटिनले परिवर्तनको वाचा गरेको त्यो पहिलो पटक थिएन। सन् २०१८ मा मस्कोको उत्तरमा यारोस्लाभल जेलमा गार्डहरूले सामूहिक कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि उनले यस्तै वाचा गरेका थिए। सन् २०२० मा ११ जेल कर्मचारीहरूलाई न्यूनतम सजाय दिइयो र उनीहरूको हाकिमहरूलाई सफाइ दिइयो।
यातना पीडितहरूको मुद्दा लड्ने वकिल युलिया च्भानोभाका अनुसार कैदीहरूमाथि यस्तो दुर्व्यवहारको प्रमुख उद्देश्य उनीहरूलाई अपराध नगरेको भएपनि अपराध स्वीकार्न लगाउनु हो। नतिजा स्वरूप रुसी जेलहरूमा अपराध अनुसन्धानका लागि जिम्मेवार अधिकारीहरू नै यातनाका लागि उक्साउनेहरू हुने उनी भन्छिन्।
"अपराध स्वीकार्न लगाउने कुरा पहिलो र प्रमुख।"

उनी २२ वर्षीय एन्टोन रोमाशोभको लागि क्षतिपूर्ति जित्ने प्रयास गरिरहेकी छिन्। रोमाशोभलाई उनले गर्दै नगरेको अपराध स्वीकार गर्न इन्कार गरेपछि सन् २०१७ मा यातना दिइएको थियो।
रोमाशोभलाई गाँजा बोकेको आरोपमा पक्राउ गरिएको थियो तर प्रहरीले उनलाई त्यो भन्दा पनि गम्भीर प्रकृतिको कसुर- लागु औषध कारोबार- गरेको स्वीकार गर्न दबाव दिइरहेको थियो। जब उनले इन्कार गरे, उनलाई सन् २०१६ को अन्तमा पश्चिमी रुसको भ्लादिमिरस्थित हिरासत केन्द्रमा लगियो।
"मलाई [कोठा] नम्बर २६ मा लगियो। मलाई यो कस्तो कोठा हो भन्ने थाहा भइहाल्यो किनभने मलाई त्यहाँ लाने बेलामा मैले मानिसहरू चिच्याएको सुनेँ।"
त्यहाँ दुई जना मानिस उनलाई पर्खिरहेका थिए। त्यहाँ आफूलाई भुईँमा पछारिएको, र हातखुट्टा पछाडि बाँधेर दिनभरि कुटिएको उनी बताउँछन्। जब उनीहरूले उनको पाइन्ट खोलिदिए तब उनले जुन कागज भए पनि हस्ताक्षर गर्ने बताए। अदालतमा बयानमा आफूलाई यातना दिएर जबरजस्ती अपराध स्वीकार गर्न लगाएको बताए पनि उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो।
भ्लादिमिर हिरासत केन्द्रमा अर्को एक कैदीले आफूमाथि यातना दिने धम्की दिएका कैदीलाई मारेको घटनापछि छानबिन गरियो। बयानमा कारागारका धेरैजसो कर्मचारीहरूले कुख्यात कोठा २६ मा के भइरहेको भन्ने कुरा थाहा भएको बताए। एन्टोन र अन्य दुई कैदीहरूले बयान दिएपछि यातना कक्ष सञ्चालन गर्ने जेल कर्मचारीलाई दोषी ठहर गरियो।
तर रुसको अहिलेसम्मकै सबैभन्दा ठूलो यातना काण्ड साइबेरियाको इर्कुट्स्क्मा भएको थियो। इर्कुट्स्क् सहर नजिकैको एङ्गार्स्क प्रिजन १५ भनिने जेलमा सन् २०२० मा कैदीहरूको प्रदर्शन नियन्त्रणमा लिन गएको दङ्गा टोलीले सयौँ कैदीहरूलाई समातेर दुई हिरासत केन्द्रमा लग्यो जहाँ जेल अधिकारीहरू र यातना दिने कैदीहरू तयार थिए।

त्यहाँ यातना पीडित भएको बताउने ठगीको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका डेनिस पोकुसाएभले किन यातना दिइरहेको भनेर बताएको बताउँछन्।
"[उनीहरूले] मलाई भने: 'तिमी दोषी छौ वा छैनौ भन्ने हामीलाई वास्ता छ जस्तो लाग्छ? तिमी दङ्गाबाट आएको हो त्यसैले त्यसको लागि तिमी सजाय पाउँदै छौ।'"
वकिल च्भानोभा त्यस्तै विवरण बताउँछिन्।
"[अनुसन्धानकर्ताले] कसलाई सोधपुछ गर्ने, कुन साक्षीहरू र कुन अनुसन्धान गर्ने भन्ने निर्णय गर्छन्... त्यसपछि उनीहरूले जेल कर्मचारीलाई सम्पर्क गरेर भन्छन्: 'मलाई यस्तो व्यक्तिबाट अपराध स्वीकारेको प्रमाण चाहिन्छ।'
पोकुसाएभ अधिकारीहरूले अथक प्रयास गर्ने गरेको बताउँछन्।
"बिदाको दिन बाहेक तीन महिनासम्म हरेक दिन दुर्व्यवहार चल्यो।"
उनले यातनामा कर्मचारीहरू पनि संलग्न रहेको बताए।
"उनीहरू हाँसे, फलफूल खाए... एक व्यक्तिलाई सबै प्रकारका सामानबाट बलात्कार भइरहेको छ... र तिनीहरू हाँसिरहेका छन् र आनन्द मानिरहेका छन्।"

बीबीसीले रुसी जेल सेवालाई जेल र हिरासत केन्द्रहरूमा भएका भनिएका यातना र बलात्कारको आरोपबारे प्रतिक्रिया दिन आग्रह गरेको थियो तर त्यसको जबाफ आएन ।
दङ्गापछि कम्तीमा ३५० कैदीहरूलाई यातना दिइएको मानवअधिकारकर्मीहरूले आकलन गरेका छन्।
त्यो घटनामा पीडितको रूपमा कानुनी रूपमा मान्यता पाएका करिब ३० जना पुरुषमध्ये पोकुसाएभ एक हुन् र उनी अदालतमा यसबारे बयान दिन तयार थोरैमध्ये एक हुन्। अनुसन्धानपछि केही मुद्दा चल्ने अपेक्षा गरिएको छ।
पोकुसाएभ र अरू केही कैदी चाँडै नै दुई जेल कर्मचारीहरूविरुद्ध बयान दिन तयार छन्। ती दुवै कर्मचारीले आरोप अस्वीकार गरेका छन्।
युलिया र मुद्दामा बयान दिने सबैलाई बयानका कुरा सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर गर्न लगाइएको छ। अनुसन्धानले कुनै अर्थपूर्ण सुधार ल्याउँछ वा ल्याउँदैन भन्ने कुरा स्पष्ट छैन।
पोकुसाएभ अझै पनि घटना सम्झेर त्रसित हुने गरेको बताउँछन्।
"म हरेक दिन हाम्रो घरको छेउको जङ्गलमा जान्छु। र म अश्लील शब्दहरू चिच्याउँछु। त्यो म यस कारण गर्छु कि ती मभित्र राख्न चाहन्छु।"
तर उनी न्यायका लागि प्रयासरत छन्। मानिसले बोल्ने साहस जुटाए न्याय सम्भव छ भन्ने विश्वास रहेको उनी बताउँछन्।
"अहिले [रुसमा] मानिसहरू बोल्न डराउँछन् ... त्यसैले उनीहरू केही हासिल गर्दैनन्।"








