युक्रेन युद्धः झन्डै १५,००० वटा सन्दिग्ध युद्ध अपराधका घटनाबारे रिपोर्ट, केहीमा मुद्दा सुरु

तस्बिर स्रोत, Reuters
रुसी सेनाले आक्रमण थालेयता युक्रेनमा झन्डै १५,००० वटा सन्दिग्ध युद्ध अपराधका घटना भएको र २०० देखि ३०० घटना दैनिक रिपोर्ट गरिएको त्यहाँकी प्रमुख अभियोजनकर्ताले बताएकी छन्।
ती घटनामा झन्डै ६०० सन्दिग्धको पहिचान गरिसकिएको र ८० वटा मुद्दा सुरु पनि भइसकेको एरिना भेनेदिक्तोभाले द हेगमा पत्रकारहरूलाई बताइन्।
उनका अनुसार युद्ध अपराधमा संलग्नहरूको सूचीमा "उच्च सैनिक अधिकारी, राजनीतिज्ञ तथा दुष्प्रचार गर्ने रुसी एजेन्टहरू" छन्।
रुसले चाहिँ युद्धका क्रममा गैरसैनिक नागरिकहरूलाई निसाना बनाउने गरेको अथवा युद्ध अपराधमा संलग्न रहेको कुरा अस्वीकार गर्दै आएको छ।
बलपूर्वक स्थानान्तरण
प्रमुख अभियोजनकर्ता भेनेदिक्तोभाका अनुसार १५,००० हजार सन्दिग्ध युद्ध अपराधका घटनामध्ये हजारौँ घटना पूर्वी डोन्बास क्षेत्रसँग सम्बन्धित रहेको पाइएको छ।
सो क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाइँहरू भएका छन्।
त्यहाँ भएका आरोपित युद्ध अपराधका घटनामा वयस्क तथा बालबालिकासहितका मानिसहरूलाई बलपूर्वक रुसका विभिन्न क्षेत्रमा पुर्याइएका लगायतका घटना रहेको भेनेदिक्तोभाले बताइन्।
यातना, सर्वसाधारणको हत्या र गैरसैन्य पूर्वाधारहरूमा क्षति पुर्याइएका घटना पनि सन्दिग्ध युद्ध अपराधमा समेटिएको उनले जनाइन्।
पूर्वी क्षेत्रसँग सम्बन्धित घटनाबारे अनुसन्धान सुरु भइसके पनि रुस नियन्त्रित क्षेत्रहरूमा चाहिँ युक्रेनी अधिकारीहरू पुग्न नसकेको भेनेदिक्तोभालाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
यद्यपि अनुसन्धानकर्ताहरूले उद्धार गरिएका तथा युद्धबन्दी बनाइएका व्यक्तिहरूको अन्तर्वार्ता लिइरहेको उनले बताइन्।
"लडाइँ चलिरहेकै समयमा अनुसन्धान गर्नु निकै कठिन हुँदो रहेछ," जर्मन समाचारसंस्था डीपीएले भेनेदिक्तोभालाई उद्धृत गर्दै लेखेको छ।
प्रमुख अभियोजनकर्ता भेनेदिक्तोभाका अनुसार अनुसन्धान कार्यमा एस्टोनिआ, लाट्भिआ र स्लोभाकिआ पनि संलग्न भएको उनले बताइन्।
ठूलो टोली परिचालन
पोल्यान्ड र लिथुआनिआले पहिलेबाटै सघाइरहेका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनलाई "अपराधस्थल" को रूपमा वर्णन गरेको छ र अनुसन्धानमा सघाउन हालसम्मकै ठूलो टोली परिचालन गरेको छ।
आईसीसीले युक्रेनको राजधानी किएभमा आफ्नो कार्यालय खोल्ने विश्वास लिएको जनाएको छ।

तस्बिर स्रोत, Getty Images
गैरसैनिक क्षेत्रलाई घेराबन्दीमा पारी आक्रमण गरेको अभियोगमा दुई रुसी सैनिकलाई युक्रेनमा साढे ११ वर्ष जेलसजाय सुनाइएकै दिन आईसीसीको यो घोषणा आएको हो।
अमेरिकाले युक्रेनलाई आधुनिक रकेट प्रणाली दिने
यसैबीच राष्ट्रपति जो बाइडनले युक्रेनलाई अमेरिकाले अझ आधुनिक रकेट प्रणाली तथा अस्त्रहरू उपलब्ध गराउने पुष्टि गरेका छन्।
द न्यूयोर्क टाइम्स पत्रिकामा लेख्दै उनले त्यस्तो बताएका हुन्।
युक्रेनले लामो समयदेखि त्यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो।

तस्बिर स्रोत, AFP
यसअघि अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्न सकिने लङ-रेन्ज मल्टिपल रकेट सिस्टम (एमएलआरएस) पठाउन लागेको विवरण आएको थियो।
रुसले त्यस्तो अस्त्र युक्रेनलाई उपलब्ध गराइए त्यसले तनाव बढाउने बताएको थियो।
जेलेन्स्की र अरू युक्रेनी अधिकारीहरूले रुसले पूर्वी डोन्बास क्षेत्रमा ठूलो बमबारी जारी राखेको बेला त्यस्तो अस्त्र उपलब्ध भए रुसको प्रतिकार गर्न सजिलो हुने भन्दै अमेरिकालाई एमएलआरएस पठाउन आग्रह गरेका थिए।
यद्यपि अमेरिकी राष्ट्रपतिले रुसभित्र प्रहार गर्न सकिने रकेट प्रणाली दिन नसकिने बताउँदै आएका थिए।










