युक्रेन युद्ध: राष्ट्रपति जेलेन्स्की पहिलो पटक किएभबाहिर युद्धग्रस्त खार्किभ क्षेत्रमा

तस्बिर स्रोत, UKRAINIAN PRESIDENTIAL PRESS SERVICE HANDOUT
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देशको द्वन्द्व ग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका छन्।
फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो।
बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ सहरमा भग्नावशेषहरू अवलोकन गर्दै गरेका उनका तस्बिरहरू सार्वजनिक भएका छन्।
जेलेन्स्कीले सैनिकहरूलाई भनेका छन्- "तपाईँहरू हरेकको सेवाका लागि म धन्यवाद दिन चाहन्छु।"
तर लगत्तै उनले स्थानीय सुरक्षा प्रमुखलाई सहरको "रक्षा नगरेको" आरोपमा बर्खास्त गरेका छन्।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले हालैका दिनहरूमा पुनः गोलाबारी सुरु गरेको छ।
युद्धको पाँच महिनासम्म युक्रेनको यो सहरले तीव्र बमबारीको सामना गरेको थियो। यो सहरका अग्ला घरहरू भग्नावशेषमा परिणत भएका तस्बिरहरू सार्वजनिक भएका थिए।
एप्रिल र मेमा रुसी फौजहरू यो सहर आसपासका क्षेत्रबाट बिस्तारै पछि हटेका थिए। रुसी फौज पछि हटेपछि सहरबाट विस्थापित भएका कतिपय मानिस पुनः फर्किएका थिए।
रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवा समेत पहिलो पटक पुनः सुरु भएको थियो।

तस्बिर स्रोत, UKRAINIAN PRESIDENTIAL PRESS SERVICE HANDOUT
तर यो सहर अझैसम्म पनि रुसी हतियारबाट प्रहार गर्न सकिने क्षेत्रमै छ। जेलेन्स्कीको भ्रमणलगत्तै पनि सहरमा कैयौँ ठूला विस्फोटका आवाज सुनिएका थिए।
जेलेन्स्कीको कार्यालयले टेलिग्राममा राखेको भिडिओमा भनिएको छ-"खार्किभ क्षेत्रमा २,२२९ भवन क्षतिग्रस्त भएका छन्। हामी तिनलाई पुनर्निर्माण गर्छौँ र पुरानै अवस्थामा फर्काउँछौँ। खार्किभ मात्रै होइन दुष्टहरू आएका सबै सहर र गाउँहरूमा पनि।"
भिडिओमा युक्रेनी सैनिकहरूले राष्ट्रपति जेलेन्स्कीलाई युद्धबाट क्षति भएका स्थानको भ्रमण गराएको देखिन्छ।
"कब्जा गर्न आएकाहरूले यो युद्धबाट केही न केही नतिजा निकाल्न प्रयत्न गरिरहेका छन्," जेलेन्स्कीले लेखेका छन्।
"तर उनीहरूले पहिल्यै बुझ्नुपर्थ्यो कि हामी एकजना बाँकी रहँदासम्म पनि हाम्रो भूमिको रक्षा गर्छौँ। उनीहरूलाई कुनै मौका छैन। हामी लड्छौँ र अन्ततः जित्छौँ पनि।"
राष्ट्रपतिले खार्किभ क्षेत्रका लागि युक्रेन सुरक्षा प्रमुख रोमन दादिनलाई "युद्धको पहिलो दिनबाटै सहरको रक्षाका लागि काम नगरेको र आफ्नोबारे मात्रै सोचेको कारण" बर्खास्त गरेको जानकारी गराए।
"के नियतका कारण यसो गरियो? कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले पत्ता लगाउँछन्," उनले भने।
राष्ट्रपति जेलेन्स्कीले खार्किभका मेयर र क्षेत्रीय गभर्नरसँग भेट गरेर पुनर्निर्माणका योजनाबारे छलफल गरेका छन्।
जेलेन्स्कीले उनीहरूलाई सहरको पुनरुत्थानका लागि "व्यापक परियोजना"को खोजी गर्न भनेका विवरण आएका छन्।
"यो क्षेत्रको मुहार परिवर्तन गर्नका लागि यो एउटा अवसर पनि हो," उनले भनेका छन्।
उनको सचिवालयका प्रमुख एन्ड्री यर्मार्कले खार्किभको पाँच प्रतिशत भूभाग युक्रेनले रुसी फौजको कब्जाबाट फिर्ता लिए पनि अझै ३१ प्रतिशत भूभाग रुसी कब्जामा रहेको बताएका छन्।
रुस हाल पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा केन्द्रित भएको छ। रुसले यो क्षेत्र आफ्नो कब्जामा लिने युद्धको प्रमुख उद्देश्य भएको बताउने गरेको छ।

तस्बिर स्रोत, UKRAINIAN PRESIDENTIAL PRESS SERVICE HANDOUT
रुसी सैनिकहरूले यो क्षेत्रका सहरहरू घेराबन्दीमा पार्ने प्रयासमा अघि बढेका छन्। शनिवार रुसको रक्षा मन्त्रालयले डोन्बास क्षेत्रको एउटा महत्त्वपूर्ण सहर कब्जामा लिएको बताएको थियो।
जेलेन्स्कीले शनिवारको नियमित सम्बोधनका क्रममा "डोन्बास र खार्किभ क्षेत्रको अवस्था निकै कठिन" रहेको बताएका थिए।
रुसी फौजले घेराबन्दीको प्रयत्न गरिरहेको सिभ्राडोनेट्स्क सहरमा करिब १५,००० सर्वसाधारण रहेको र "तीव्र गोलाबारी"का कारण खानेपानीको समस्या बढ्दै गए पनि उनीहरू बाहिर निस्कन नसक्ने अवस्थामा रहेको एक स्थानीय अधिकारीले बताएका छन्।
सहरका सैनिक तथा नागरिक प्रशासन प्रमुख अलेक्जेन्डर स्त्रिकले त्यहाँबाट उद्धार गर्न निकै असुरक्षित रहेको उल्लेख गरेका छन्।
बीबीसीका युक्रेन संवाददाता जो इनउडका अनुसार जेलेन्स्कीको खार्किभ भ्रमणले युद्धको छालमा आएको परिवर्तन देखाएको छ। उनका अनुसार एक साता अघिसम्मको अवस्थामा पनि यो भ्रमण असम्भव थियो।









