युक्रेन रुस युद्ध: झुटो कुरा फैलाउन आफ्नो तस्बिरको दुरुपयोग भएको दाबी गर्ने महिलाको कथा

- Author, मारियाना स्प्रिङ
- Role, प्रस्तोता, वार ट्रुथ पोडकास्ट
एक जना गर्भवती महिला बमबारीमा परेको युक्रेनको एक प्रसूति अस्पतालबाट भाग्दै गरेको तस्बिर रुस-युक्रेन युद्धको एउटा प्रतिकात्मक दृश्य बन्यो।
तर उक्त तस्बिरकी पात्र रुसी मिथ्या सूचना अभियानको सिकार भइन् र दुवै पक्षबाट उनीप्रति घृणा फैलाइयो।
निधारमा रगत लतपतिएको र जीउमा सिरक बेरेकी मारियाना भिसेमिर्सकीको तस्बिर विश्वभरीका मानिसहरूले हेरे।
त्यो तस्बिर मारिऊपोलमा रुसी आक्रमणपछि खिचिएको थियो। तस्बिर अनलाइनहरूमा फैलियो, अखबारका प्रथम पृष्ठहरूमा छापियो र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत छलफलको विषय बन्यो।
तर आक्रमणमा बाँच्न सफल भएकी मारियाना र उनको परिवारले मिथ्या सूचना र घृणाको अर्को हमलाको सामना गर्नुपर्यो।
युद्धबारे झुटो प्रचारको प्रयास गरिरहेका रुसीहरूले २९ वर्षकी मारियानालाई "नाटक" गरेको भनेर गलत आरोप लगाए।
रुसका कूटनीतिज्ञले समेत उनलाई दुई फरक महिलाको भूमिकामा "अभिनय" गरेको आरोप लगाए।
बीबीसीसँगको भिडिओ कुराकानीमा उनले आक्रमणबाट भाग्दाको कहालीलाग्दो अवस्था र त्यसपछि उनीमाथि भएका अनलाइन गालीगलौजबारे बताएकी छिन्।
"उनीहरूले मलाई खोजेर भेट्टाइ छोड्ने र मार्ने जस्ता धम्कीहरू आए। मेरो बच्चालाई काटेर टुक्रा-टुक्रा बनाइदिने धम्की दिइयो," उनी भन्छिन्।
रुसले समर्थन गरेका पृथकतावादीहरूको नियन्त्रणमा रहेको डोनबासको एउटा क्षेत्रस्थित उनको गृह नगरमा उद्धार गरेर पुर्याइएकी उनले पहिलो पटक प्रमुख पश्चिमा सञ्चार माध्यमसँग कुराकानी गरेकी हुन्।
उनले अहिले केही सहज महसुस गरिरहे जस्तो देखिन्छ। उनले बिना कुनै सर्त मसँग कुरा गरिन्। तर एक जना पृथकता पक्षधर ब्लगर उनीसँगै छन्।
उनले छोरी भेरोनिकालाई युद्धग्रस्त क्षेत्रमा जन्म दिँदै गर्दा आफूले सूचनाबारे गरेको लडाइँबारे सुनाइन्।
सबै उथलपुथल
युद्ध भन्दा अगाडी मारिऊपोलको जीवन निकै फरक थियो। मारियाना सुन्दरता सम्बन्धी सामग्रीहरूको प्रवर्द्धन गर्थिन् र उनका पति युरी एजोभस्टाल स्टिल कारखानामा काम गर्थे।
"हाम्रो जीवन निकै साधारण थियो," मारियाना भन्छिन्। "तर त्यसपछि सबै उथलपुथल भयो।"
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेका तस्बिरहरूले आमा बन्न लाग्दा उनी कति उत्साहित थिइन् भन्ने देखाउँछन्।
तर जब उनी अस्पतालमा भर्ना भइन् मारिऊपोल युक्रेनमा सबैभन्दा धेरै बमबारी भएको सहर बन्यो।
मार्च ९ मा अस्पताल विस्फोटले हल्लिँदा उनी वार्डमा रहेका अरू महिलाहरूसँग गफ गरिरहेकी थिइन्। उनले टाउको माथिसम्म ब्लाङ्केट तानिन्। लगत्तै दोस्रो विस्फोट भयो।
"जताततै बम वर्षा भइरहेको सुनिन्थ्यो। मेरा कानले धेरै समयसम्म त्यस्तो आवाज सुनिरहे," उनले भनिन्।
भूमिगत तलामा बसेकी मारियानाको निधारमा पनि सिसाको टुक्राले काट्यो। उनको छालामा सिसाका टुक्राहरू बिझे।
तर डाक्टरले उनलाई टाँका लगाइरहन नपर्ने बताए। उनलाई भग्नावशेषमा परिणत भएको अस्पतालबाट आफ्ना सामानहरू बाहिर निकाल्नु थियो। उनले भित्रसम्म जान एक जना प्रहरीसँग सहयोग मानिन्।
"मैले बच्चाको लागि तयारी गरेका सबै सामग्रीहरू भित्र प्रसूति वार्डमै थिए," उनले भनिन्।
झुटको चिरफार
आफ्ना सरसामान पर्खेर अस्पताल बाहिर बसिरहेको समयमा असोसिएटेड प्रेसका पत्रकारले उनको तस्बिर लिएका थिए।
उनी अस्पतालबाट बाहिर निस्कन भर्याङबाट ओर्लँदै गर्दा पनि उनीहरूले उनको तस्बिर लिए।
ती तस्बिरहरू निकै छिटो 'भाइरल' भए। त्यसपछि त्यो तस्बिर अभिनय गरेर खिचिएको भन्ने गलत आक्षेप सुरु भयो।
सबैभन्दा पहिले यो आक्षेप क्रेमलिन समर्थकहरूको 'टेलिग्राम' सञ्जालमा देखियो।
मारियानाको सौन्दर्य सम्बन्धी ब्लगका लेखहरू देखाएर उनी कलाकार भएको र नक्कली घाइते भएको अभिनय गरेको तर्क गरिएको थियो।
यो झुटो दाबी वरिष्ठ रुसी अधिकारीहरूले समेत सरकारी सञ्चार माध्यममा दोहोर्याइरहे।

तस्बिर स्रोत, Twitter
उनीहरूले स्ट्रेचरमा बोकेर लगिएकी अर्की एक गर्भवती महिला समेत मारियाना भएको बताए। जबकि यी दुई व्यक्तिहरू फरक हुन् भन्ने प्रस्टै छुट्टाउन सकिन्थ्यो।
चोटका कारण स्ट्रेचरमा बोकेर लगिएकी महिलाको पेटमा भएको बच्चाको पछि मृत्यु भयो। इन्टरनेटको पहुँच नभएका कारण र उनी भागिरहेका कारण उनले केही दिनसम्म ति तस्बिरहरू देखेकी थिइनन्।
जब उनले इन्टरनेट खोलिन् उनको इन्स्टाग्राम आक्षेप र धम्कीपूर्ण सन्देशहरूले भरिएको थियो। उनलाई आफ्नोबारे भएको गिल्ला र गलत आक्षेप आघातपूर्ण लागे।
"ती निकै नै आपत्तिजनक थिए किनभने म साँच्चिकै त्यो घटनामा परेकी थिएँ," उनले भनिन्।
यद्यपि उनी आफ्नोबारे गलत सूचना फैलाउने रुसी अधिकारीहरूको आलोचना गर्न रुचाउँदिनन्।
तर उनले असोसिएटेड प्रेस(एपी)को आलोचना गरिन्।
"त्यो तस्बिर सामाजिक सञ्जालमा राख्ने पत्रकारले अरू गर्भवती महिलाहरूसँग पनि कुराकानी गरेका भए आक्रमण साँच्चिकै थियो भन्ने पक्का हुन्थ्यो," उनले भनिन्।
अरू प्रत्यक्षदर्शीहरूसँग कुराकानी नगरिएकै कारण मानिसहरूलाई आफ्नो तस्बिर अभिनीत जस्तो लागेको हुनसक्ने उनी बताउँछिन्।
तर मारियानाकै भनाइमा उक्त अस्पतालबाट उद्धार गरिनेमा उनी अन्तिम बिरामी थिइन्। हामीले एपीसँग कुरा गर्दा पत्रकारले घटनास्थलमा अन्य व्यक्तिहरूसँग कुराकानी गरेको जनकारी दिए।
मारियानाको खोजी
आक्रमणको केही दिनपछि मारियानाले अर्को एक अस्पतालमा छोरी भेरोनिकालाई जन्म दिइन्।
हजारौँ अन्य मानिसहरूजस्तै मारियाना र युरी पनि मारिऊपोल छोड्न चाहन्थे। त्यस कारण पनि हप्तौँसम्म उनीसँग कुरा गर्न सम्भव भएन।
अन्ततः उनीहरूका एक जना आफन्तले उनीहरू सहरबाट बाहिरिन सफल भएको जानकारी गराए। तर उनीहरू कहाँ पुगे थाहा थिएन। अप्रिलमा उनी डोनबास क्षेत्रमा देखिइन्।
उनी एक जना रुसले समर्थन गरेका पृथकतावादी पक्षधर ब्लगरसँगको अन्तरवार्तामा देखिएकी थिइन्। तिनै ब्लगरले उनीसँगकोअन्तरवार्ता तय गरिदिए।
तथ्यहरूको जोडजाड
उनले रुस सरकारले फैलाएका गलत तथ्यहरूको खण्डन गरेकी छिन्।
क्रेम्लिनले रुसी आक्रमण भएको अस्पताल पहिलो नम्बरको रहेको र उक्त भवन अहिले चालू अवस्थामा नरहेको दाबी गरेको थियो।
मारियानाले रुसको दाबी विपरीत आफूलाई राखिएको अस्पतालमा बिरामीहरूको उपचार भइरहेको बताएकी छिन्।
तर बीबीसीको मिथ्या सूचना अनुसन्धान टोलीले मारियाना रहेको अस्पताल तेस्रो नम्बरको रहेको जनाएको छ।
रुसले उक्त अस्पतालमा नाजीहरूसँग जोडिएको विवादास्पद एजोभ रेजिमेन्ट रहेको दाबी गरेको छ।
युक्रेनी फौजले उनीहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको देखाउन ब्लगरसँग मारियानाले दिएको अन्तरवार्ताका तोडमोड गरिएका टुक्राहरू मात्र रुसी पक्षले फैलाएको छ।
तर मारियानाले मसँगको अन्तरवार्तामा आफूलाई राखिएको अस्पतालमा युक्रेनी फौजहरू नरहेको बताइन्।
उनले प्रसूति भवनको विपरीत तर्फको एउटा इकाईमा युक्रेनी फौज देखिए पनि उनीहरू त्यहीँ बस्ने गरेको हो वा होइन भन्नेबारे आफूलाई थाहा नभएको बताइन्।
रुसी पक्षले भने उनी रहेको अस्पतालमा रुसी बमबारी नभई युक्रेनी बम खसेको हुनसक्ने देखाउन खोजेको छ।
उनले हामीसँगको अन्तरवार्तामा पनि आफूले माथिबाट विमान उडेको बारे आफूलाई याद नभएको बताइन्।
तर एपीका पत्रकारले उक्त हमला विमानबाटै भएको पुष्टि हुने विवरणहरू राखेका छन्।
उनले लिएको भिडिओमा विमानको आवाज सुनिन्छ र सैनिकहरूले हवाई आक्रमण भएको बताइरहेको सुनिन्छ।
तस्बिरमा देखिएको ठूलो खाडल पनि हवाई हमलाकै कारण मात्र बन्ने विज्ञहरू बताउँछन्।
"म आफैँले चाहिँ यो खाडल देखिनँ तर भिडिओहरूमा देखेँ," उनले भनिन्।
"वास्तवमा म कसैलाई दोष दिन्न किनभने मैले कहाँबाट आक्रमण भयो, कसरी विस्फोट भयो भन्ने देखिनँ।"
सञ्जालमा ट्रोल
यो विवादले अनलाइन माध्यममा 'ट्रोल' को नयाँ तरङ्ग सिर्जना गर्यो।
"कसैले भने मैले अभिनय गरिरहेको छु। अरूले त्यहाँ हवाई हमला भएको कुरा ढाँटेको आरोप लगाए," उनले भनिन्।
उनले नजिक ठानेका साथीहरूले समेत उनलाई सही ठानेनन्। रुसमा बस्ने उनकी एक ब्लगर साथी यारोस्लाभाले पनि रुसी टेलिभिजनको दाबीमै विश्वास गर्दै मारियानाले अभिनय गरेको ठानिन्।
"मलाई लाग्छ सबै कुराको लागि रुसलाई दोष दिने युक्रेनको आवश्यकतामा मारियानाले आफ्नो भूमिका निर्वाह गरेकी हुन्," यारोस्लाभाले मसँग भनिन्।

तस्बिर स्रोत, Instagram
त्यसपछि उनले मारियानालाई इन्स्टाग्राममा समेत अनफलो गरिन्।
तर आफूले नगरेको कुरामा मानिसहरूले विश्वास गरेको कुराले मारियानालाई नराम्रो लागेको छ।
छोरी भेरोनिकाबारे कुरा गर्दा भने उनको मुहार उज्यालो हुन्छ।
उनी 'ब्लगिङ' गर्ने आफ्नो दैनिकीमा फर्किएकी छिन्। पछिल्लो पोस्टमा उनले नयाँ आमाका लागि बच्चाको हेरचाह गर्न चाहिने जानकारीबारे आफ्नो ब्लगमा छिट्टै जानकारी आउने उल्लेख गरेकी छिन्।
तर आफूले नचाहेर पनि सूचनाको द्वन्द्वमा परेको घटनाले उनको जीवनमा धेरै परिवर्तन ल्याएको छ।









