पुटिनकी प्रेमिका भनिएकी एलीना काबेभा को हुन्?

पुटिन र काबेभा

तस्बिर स्रोत, Reuters

रुस अहिल्यै अभूतपूर्व प्रतिबन्धहरूको सामना गरिरहेको छ र अब युरोपले एलीना काबेभालाई पनि प्रतिबन्ध लगाउने सम्भावना छ।

काबेभा नेता, सञ्चार उद्यमी र ओलिम्पिक्स खेलाडी हुन् र यदि हल्लाहरू साँचो रहेछन् भने उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका र केही सन्तानकी आमा हुन्।

युरोप र अन्यले लगाएको प्रतिबन्धहरू पुटिन नजिक भएका कारण फाइदा प्राप्त गरेका व्यक्तिहरूमाथि केन्द्रित छन्।

गत महिना यूके र अमेरिकाले पुटिनका छोरीहरू ३६ वर्षीया मारिया भोरोन्तसोभा र ३५ वर्षीया क्याटरीना तिख्नोभालाई प्रतिबन्ध लगाएका थिए। उनीहरू पुटिनकी पूर्वपत्नी लुड्मिलाका छोरीहरू हुन्।

अहिलेसम्म काबेभामाथि प्रतिबन्ध लागेको छैन। उनले आफूमाथि प्रतिबन्ध लाग्ने सुइँको त पाएकी होलिन् किनभने मार्चमा स्वीट्जरल्यान्डबाट उनलाई निकाल्न अनलाइन अभियान सञ्चालन गरिएको थियो।

युरोपले लगाउने प्रतिबन्धको नयाँ सूचीमा उनको नाम भएको स्रोतले बीबीसीलाई बताएको छ। र एएफपीका अनुसार उनलाई क्रेमलीनको प्रोपागान्डा फैलाएको र ६९ वर्षीय राष्ट्रपति पुटिनसँग नजिकैको सम्बन्ध भएको आधार देखाइएको छ।

सो मस्यौदामा उनलाई पुटिनको प्रेमिका भनिएको छैन र यो मस्यौदा स्वीकृत भइसकेको छैन।

रुसका राष्ट्रपतिको व्यक्तिगत जीवनका बारे धेरै कुरा सार्वजनिक भएको छैन। व्यक्तिगत जीवनका बारेमा सोधिएका प्रश्नहरू उनी छल्ने गर्छन्।

तर उनले काबेभासँगको सम्बन्धलाई भने स्पष्ट शब्दमा नकारेका छन्।

काबेभा

तस्बिर स्रोत, VISUAL CHINA GROUP

सन् २००८ मा रुसी सञ्चारमाध्यमले पुटिनले लुड्मिलासँग सम्बन्ध विच्छेद गरेर काबेभासँग विवाह गर्न लागेको लेखेको थियो। पुटिन र काबेभा दुवैले त्यसलाई नकारे।

चाँडै नै मोस्कोभ्स्की कोरेस्पोन्डेन्ट पत्रिका बन्द गरियो र त्यसको पाँच वर्षपछि पुटिनको पारपाचुके घोषणा गरियो।

जब पुटिनले काबेभासँगको सम्बन्ध नकारिरहेका थिए त्यो समयमा काबेभा खेलकुद क्षेत्रबाट राजनीतिमा उल्लेख्य प्रगति गरिरहेकी थिइन्।

रिबन र बलको सहाराले आफ्नो सीप प्रदर्शन गर्ने रिदमिक जिम्न्यास्टिक खेलाडी काबेभा आफ्नो समयमा विश्वकै उत्कृष्ट मानिन्थिन्। उनले देखाएको एउटा कलालाई उनको नामले चिनिन्थ्यो र उनी रुसकी प्रमुख खेलाडी थिइन्।

रुसले सन् २००६ देखि २०१६ सम्म त्यो विधामा उपलब्ध सबै ओलिम्पिक्स स्वर्ण पदक जितेको थियो।

सन् २००२ को पुटिनको परिवारको यो तस्बिरमा उनका छोरीहरूको परिचय लुकाइएको छ

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, सन् २००२ को पुटिनको परिवारको यो तस्बिरमा उनका छोरीहरूको परिचय लुकाइएको छ

सन् १९८३ मा जन्मिएकी काबेभाले चार वर्षको उमेरमा जिम्न्यास्टिक खेल्न सुरु गरेकी थिइन्। उनको प्रशिक्षक इरीना भाइनरले भन्थिन्: "जब पहिलो पटक उनलाई मैले देखेँ मैले विश्वासै गर्न सकिनँ। त्यो केटीमा खेलका लागि अत्यावश्यक दुई गुण लचकता र फुर्तीको अनौठो सम्मिश्रण थियो।"

काबेभालाई रुसकी सबैभन्दा लचक भएकी महिला भनिन्थ्यो।

सन् १९९६ मा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सुरु गरेकी उनले सन् १९९८ मा युरोपेली प्रतियोगिता जितेर सबैलाई अचम्मित पारेकी थिइन्।

सन् २००० को सिड्नी ओलिम्पिक्समा उनको एउटा गल्तीले कांस्य पदकमा सीमित भएको रुसले सन् २००६ को एथेन्स ओलिम्पिक्समा स्वर्ण जित्यो।

खेलबाट संन्यास लिने बेलासम्म उनले ओलिम्पिक्स पदकहरूबाहेक १८ विश्व च्याम्पियनसिप र २५ युरोपेली च्याम्पियनसिप पदकहरू जितिसकेकी थिइन्। तर रुसका अन्य खेलाडी झैँ उनी पनि प्रतिबन्धित औषधि सेवनको दागबाट मुक्त रहिनन् र सन् २००१ मा एउटा प्रतियोगितामा जितेको पदक गुमाइन्।

संन्यासपछि उनी राजनीतिमा आइन् र सन् २००७ देखि २०१४ सम्म रुसी तल्लो सदनमा सत्तारुढ दलको सांसद रहिन्।

सन् २०१४ मा उनी न्याश्नल मिडिया ग्रुपको अध्यक्ष भइन्। सो ग्रुपको रुसका सबै मुख्य राज्य नियन्त्रित सञ्चारमाध्यममा ठूलो लगानी छ।

ती सञ्चारमाध्यमहरूले युक्रेन युद्धका बारेमा युक्रेनी आफैले आफ्नो सहरमाथि आक्रमण गरेको र रुसी सेना युक्रेन बचाउन गएको जस्ता मिथ्या सूचनाहरूको बाढी बगाएका छन्।

आफ्नो पदका कारण काबेभा धनी भएकी छन्। चुहाइएको एउटा दस्ताबेज अनुसार उनी वार्षिक एक करोड २० लाख अमेरिकी डलर कमाउँछिन्।

पुटिन र उनको पहिलो पटक कहाँ भेट भयो भन्ने स्पष्ट छैन तर रुसका चर्चित खेलाडीहरूलाई राष्ट्रपति भेट्न गाह्रो छैन। सन् २००१ मा पुटिनले काबेभालाई देशको सबैभन्दा ठूलो पदक दिँदै गरेको तस्बिर छ।

पुटिन र काबेभा

तस्बिर स्रोत, AFP

उनीहरूको सन्तान भएको विवरण प्रकाशित भए पनि कति जना भन्ने स्पष्ट छैन।

स्वीट्जरल्यान्डको एक पत्रिकाका अनुसार काबेभाले सन् २०१५ मा एक बालक जन्माएकी थिइन भने सन् २०१९ मा अर्को बालकलाई जन्म दिएकी थिइन्। अन्य पत्रिकाले सन् २०१९ मा उनले मस्कोमा जुम्ल्याहा जन्माएको बताउँछन्।

क्रेमलीनले यी विवरणहरूलाई नकारेको छ। सन् २०१५ मा एक प्रवक्ताले पुटिन बुवा भएको बालक जन्मिएको सूचना सत्य नभएको बताएका थिए।

पुटिन आफ्नो व्यक्तिगत कुरा यति गोप्य राख्छन् कि पत्नी लुड्मिलाबाट जन्मिएका दुई छोरीको नाम पनि सार्वजनिक रूपमा लिएका छैनन्।

पुटिनसँगको सम्बन्धबारे हल्ला फैलिएयता काबेभा कहिले चर्चामा र कहिले चर्चाबाहिर हुने गरेकी छन्। सन् २०११ को भोग पत्रिकाको मुखपृष्ठमा उनको तस्बिर छापिएको थियो भने सन् २०१४ को हिउँदे ओलिम्पिक्समा उनीले ओलिम्पिक्स टर्च बोकेकी थिइन्।

गत एप्रिलमा उनी मस्कोको एउटा जुनियर खेल प्रतियोगितामा देखिइन् जहाँ उनले विवाहित दर्साउने गहना लगाएको केही सञ्चारमाध्यमले लेखेका थिए।

वाल स्ट्रीट जर्नलले अमेरिकाले काबेभामाथिको प्रतिबन्ध पुटिनलाई व्यक्तिगत प्रहार हुने र यसले युद्ध चर्काउन सक्ने डरले अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाउन नसकेको लेखेको थियो।्

तर अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाउने कुरा नसोचिएको कुरा भने होइन।

एप्रिलमा ह्वाइट हाउसका प्रेस सेक्रेटरीलाई उनको नाम किन प्रतिबन्धको सूचीमा छैन भनी सोधिएको प्रश्नमा जवाफ थियो: "कोही पनि सुरक्षित छैन।"