युक्रेन युद्ध: शान्ति सम्झौता गर्न रुस आक्रमण अघिको स्थितिमा फर्कनु पर्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ

निकासका क्रममा युक्रेनी नागरिक।

तस्बिर स्रोत, EPA

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति सम्झौताका लागि रुसी सेना आक्रमणअघिको स्थितिमा फर्किनु पर्ने बताएका छन्।

लन्डनको विशेषज्ञहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिएका हुन्।

उनले आफूले "सानो युक्रेनको नभई युक्रेनको" नेतृत्व गरिरहेको बताए। तर उनले सन् २०१४ मा रुसद्वारा नियन्त्रणमा लिइएको क्राइमियाबारे उल्लेख गरेनन्।

रुसले मारिऊपोल सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सङ्घर्षरत छ।

रुसी सेनाको आक्रमणको जोखिममा रहेको यस दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलमा अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेका छन्।

मारिऊपोलमाथि कब्जा रुसको दुई महिनादेखि जारी युद्धको सबैभन्दा ठूलो उपलब्धि हुनेछ।

सहरलाई नियन्त्रणमा लिन सक्नु, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि मे ९ मा पर्ने विजय दिवस मनाउनका निम्ति विशेष कारण बन्नेछ।

उक्त दिन दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध सोभियत सङ्घको विजय भएको दिन हो।

उद्योगमा आक्रमण।

तस्बिर स्रोत, Reuters

यद्यपि किएभबाट लन्डनमा रहेको विज्ञ समूहसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भूभागमाथि रुसले नियन्त्रण कायम राख्न नसक्ने बताए।

"रुस र युक्रेन बीचको युद्ध रोक्नको लागि फेब्रुअरी २३ अघिको स्थिति फर्काउन कदम अघि बढाउनु पर्छ," उनले युद्धअघिको अवस्थातर्फ सङ्केत गर्दै बीबीसीसँग भने।

"म युक्रेनका जनताद्वारा युक्रेनको राष्ट्रपतिको रूपमा निर्वाचित भएको हुँ, कुनै किसिमको सानो युक्रेनको राष्ट्रपतिको रूपमा होइन। यो धेरै महत्त्वपूर्ण विषय हो," उनले भने।

फेब्रुअरी २३ सम्मको स्थितिबारे चर्चा गर्नुले युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुअघि क्राइमिया फिर्ता लिनेबारे आग्रह नगर्ने सम्भावना जनाउँछ।

उक्त प्रायद्वीपलाई आठ वर्षअघि रुसले आफूमा गाभेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विस्फोटनमा दुवै खुट्टा गुमाएकी नर्स आफ्नो बिहेमा यसरी नाचिन्

जेलेन्स्कीले रुस र युक्रेन बीचको कूटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गरे।

"उनीहरूले हामीसम्म आइपुग्ने पुलहरू ध्वस्त पारे पनि मलाई लाग्छ हालसम्म सबै पुलहरू नष्ट भइसकेका छैनन्," उनले भने।

रुसले भने शान्ति सम्झौताको प्रक्रिया "स्थिरताको अवस्था"मा रहेको बताएको छ।

मारिऊपोलबाट आम नागरिक निकाल्ने क्रम जारी

शुक्रवार संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको समन्वयमा गरिएको निकास कार्य अन्तर्गत मारिऊपोलस्थित अजोभस्टल स्टिल उद्योगबाट ११ बालबालिकासहित ५० जना गैरसैनिकलाई बाहिर निकालिएको रुस र युक्रेन पक्षले जनाएको छ।

फराकिलो ठाउँमा रहेको त्यस कारखानामुनि सोभियत युगको सुरङ्ग र बङ्करहरूमा अझै धेरै मानिस फसेको ठानिएको छ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले युद्धका कारण निकास कार्य सुस्त भएको र शनिवारदेखि फेरि सुरु गर्ने बताइन् ।

रुसले यसअघि बिहीवारदेखि तीन दिनका लागि त्यहाँ दिउँसोको समयमा युद्ध विराम घोषणा गरेको थियो।

जेलेन्स्कीले आफूले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई मे ९ मा युक्रेन भ्रमणका निम्ति बोलाएको बताए।

रुसले दोस्रो विश्वयुद्धमा सोभियत सङ्घको त्यागबारे सम्झने दिनमै युक्रेनमा जर्मन नेताको उपस्थितिले अत्यन्त प्रतीकात्मक सन्देश दिन्छ।

"मे ९ मा उनी यहाँ आउनु धेरै शक्तिशाली र विवेकपूर्ण राजनीतिक कदम हुनेछ," जेलेन्स्कीले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेना रोकिराखेको दक्षिण युक्रेनका गाउँहरू

"मैले त्यस भ्रमणको महत्त्वबारे चर्चा गरेको होइन। मलाई लाग्छ त्यति बुझ्न उनी स्वयं सक्षम छन्।"

उनले यसअघि युद्धको समयमा जर्मनीले लिएको अडानको आलोचना गर्दै आएका थिए।

एप्रिलमा उनले बीबीसीसँगको अन्तर्वार्तामा, जर्मनीले रुसी ऊर्जाको बिक्रीमा प्रतिबन्ध लगाउने प्रयासमा अवरोध खडा गरेको आरोप लगाएका थिए।

सोही महिना जर्मनीका राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमेयरको किएभ भ्रमणसम्बन्धी योजना अन्तिम समयमा रद्द भएको थियो। यसमा रुस र जर्मनी बीचको आर्थिक सम्बन्धका कारक बनेको थियो।