रुसी राष्ट्रपति पुटिनका छोरीहरू को-को हुन्? के गर्छन्?

सन् २००२ को पुटिनको परिवारको यो तस्बिरमा उनका छोरीहरूको परिचय लुकाइएको छ

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, सन् २००२ को पुटिनको परिवारको यो तस्बिरमा उनका छोरीहरूको परिचय लुकाइएको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परिवारका बारेमा प्रश्न आउँदा कहिल्यै खुलेर कुरा गरेनन्।

सन् २०१५ मा एक पत्रकार सम्मेलनमा उनले आफ्नो छोरीहरूको परिचयको बारेमा सोधिएका प्रश्नहरूलाई छले।

"मेरा छोरीहरू रुसमा बस्छन् र रुसमा मात्रै अध्ययन गरे। म उनीहरूप्रति गर्व गर्छु," उनले भने।

"उनीहरू तीन विदेशी भाषा राम्रोसँग बोल्छन्। म कसैसँग कहिल्यै आफ्नो परिवारको कुरा गर्दिनँ।"

पुटिनले नाम भन्न नचाहे पनि अरूले नाम सार्वजनिक गरेका छन्।

पछिल्लो पटक अमेरिकाले ३६ वर्षीया मारिया भोरोन्तसोभा र ३५ वर्षीया क्याटरीना तिख्नोभालाई प्रतिबन्ध लगाएको छ।

"पुटिनका धेरै सम्पत्ति परिवारका सदस्यहरूले लुकाएको हामीलाई विश्वास छ त्यसकारण हामीले उनीहरूमाथि प्रतिबन्ध लगाएका हौँ," एक अमेरिकी अधिकारीले बताए।

राष्ट्रपति पुटिनको पारिवारिक जीवनका बारेमा औपचारिक रूपमा थोरै मात्र कुरा भनिएको भए पनि सञ्चारमाध्यममा आएका कुरा, दस्ताबेज र कहिलेकाहीँ उनले बोलेका कुराबाट उनका दुई छोरीहरूको बारेमा केही कुरा थाहा हुन्छ।

ती दुवै पुटिन र उनका पूर्वपत्नी लुड्मिलाका सन्तान हुन्। पुटिन र लुड्मिलाको सन् १९८३ मा विवाह भएको थियो। त्यतिबेला लुड्मिला विमान परिचारिका थिइन् र पुटिन केजीबीमा काम गर्थे।

उनीहरूको विवाह पुटिन राजनीतिक जीवनमा तीव्र गतिमा अगाडि बढेको समयमा ३० वर्ष टिक्यो।

सन् २०१३ मा उनीहरू छुट्टिए। पुटिनले "त्यो संयुक्त निर्णय भएको र आफूहरूले विरलै एकअर्कालाई भेट्ने र दुवैको आ-आफ्नै जीवन भएको" बताएका थिए भने लुड्मिलाले पुटिन "पूर्ण रूपमा आफ्नो काममा डुब्ने" बताएकी थिइन्।

उनीहरूको जेठी छोरी मारिया भोरोन्तसोभा सन् १९८५ मा जन्मिएकी थिइन्। उनले सेन्ट पिट्सबर्ग विश्वविद्यालयमा जीवविज्ञान र मस्को स्टेट विश्वविद्यालयमा चिकित्सा विज्ञान पढिन्।

पुटिनकी छोरी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मारिया भोरोन्तसोभाले सन् २००७ को निर्वाचनमा पुटिनसँगै मतदान गरेकी थिइन्

भोरोन्तसोभा अहिले मानवशरीरको ग्रन्थि प्रणाली विज्ञ छिन् र यसैसम्बन्धी एक पुस्तककी सह-लेखिका पनि हुन्।

उनी व्यवसायी महिला पनि हुन्। बीबीसी रुसी सेवाले एउटा विशाल चिकित्सा केन्द्र निर्माणको योजना बनाइरहेको एक कम्पनीमा उनको लगानी रहेको पत्ता लगाएको छ।

भोरोन्तसोभाले कुनै समय रुसी ऊर्जा कम्पनीमा काम गरेका नेदरल्यान्डका व्यवसायी जोरिट होस्ट फास्सेनसँग विवाह गरेकी थिइन्। यद्यपि उनीहरू छुट्टिएको विवरण आएका छन्।

युक्रेन आक्रमणपछि उनीसँग भेटेका मानिसहरूका अनुसार उनले आफ्नो बुबाको कार्यलाई समर्थन गर्छिन् र युद्धका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका कुरामा शङ्का गर्छिन्।

तुलनात्मक रूपमा बहिनी क्याटरीना तिख्नोभा सार्वजनिक रूपमा परिचित छिन्। उनी एक रक-एन-रोल नृत्याङ्गना हुन् र सन् २०१३ मा आफ्नो साथीसँग नाच्दै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा पाँचौँ भएकी थिइन्।

क्याटरीना तिख्नोभा भने पुटिनको छोरीको रूपमा परिचय नदिई सार्वजनिक कार्यक्रममा उपस्थित हुन्छिन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्याटरीना तिख्नोभा भने पुटिनको छोरीको रूपमा परिचय नदिई सार्वजनिक कार्यक्रममा उपस्थित हुन्छिन्

त्यही वर्ष उनले बुबाको लामो समयका साथीको छोरा किरिल शामालोभसँग विवाह गरिन्।

उनीहरूको विवाह सेन्ट पिटर्सबर्ग नजिकैको विलासी रिसोर्टमा भएको थियो। कामदारहरूका अनुसार उनीहरू विवाहका लागि तीन सेता घोडाले तानेको हिमरथमा आएका थिए।

सन् २०१८ मा शामालोभलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो। अमेरिकाले उनको सम्पत्ति विवाहपछि नाटकीय रूपमा बढेको बताएको थियो। उनीहरू छुट्टिइसकेका छन्।

तिख्नोभा अहिले व्यवसाय र शैक्षिक क्षेत्रमा छिन्। सन् २०१८ उनी रुसी सञ्चारमाध्यममा न्यूरोटेक्नोलोजीको बारेमा बोलेकी थिइन् भने सन् २०२१ मा एउटा व्यावसायिक कार्यक्रममा बोलेकी थिइन्। ती दुवै बेला उनी पुटिनको छोरी भएको कुरा बताइएको थिएन।

ती दुवैले राष्ट्रपति पुटिनसँग धेरै समय नबिताएको बताइन्छ।

पुटिनका नातिनातिना पनि छन्। उनले सन् २०१७ मा एउटा कार्यक्रममा उनीहरू छन् भनेका थिए तर कति जना छन् वा कुन छोरीबाट जन्मेका हुन् बताएनन्।

"मेरो नातिनातिनाका बारेमा भन्नुपर्दा एक जना नर्सरी विद्यालयमा छ। कृपया बुझ्नुहोस् कि म उनीहरू शाही राजकुमार जस्तो गरी हुर्किएको हेर्न चाहन्न। म उनीहरू साधारण मानिस सरह हुर्किएको हेर्न चाहन्छु।"