रुसमा विजय दिवस के हो र किन मे ९ महत्त्वपूर्ण मानिन्छ?

तस्बिर स्रोत, EPA
- Author, ओलेगा आइभसिना
- Role, बीबीसी रुसी सेवा
मे ९ मा रुसले भव्यताका साथ दोस्रो विश्वयुद्धको विजय दिवस मनाउँछ। रुसी प्रोपागाण्डाका साधन ठानिने राज्य नियन्त्रित सञ्चार माध्यमहरूमा पनि यो दिवसलाई अन्य कुनै अवसर भन्दा विशेष महत्त्व दिइने गरिएको छ।
यो वर्ष रुसी सेनाका लागि पनि यो दिवस महत्त्वको हुने छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यो अवसरमा युक्रेन युद्धमा आफ्नो देशले हासिल गरेका उपलब्धिहरूको घोषणा गर्ने ठानिएको छ। यो दिनको अरू महत्त्व के छ?
दोस्रो विश्वयुद्ध आजका मितिसम्म विश्वमा भएको सशस्त्र युद्धमध्ये सबैभन्दा ठूलो हो। सन् १९३९मा पोल्याण्डमाथि आक्रमण भएपछि सुरु विश्वयुद्ध १९४५ मा अन्त्य भएको थियो। सुरुवात भएको समयलाई रुसले स्मरण गर्ने गरेको छैन।
यो विश्वयुद्धमा करोडौँ मानिसहरूले ज्यान गुमाएका थिए भने अन्य दशौँ लाख मानिसहरू विश्वका विभिन्न स्थानबाट विस्थापित भए।
धेरै देशहरूको बृहत् मोर्चाको रूपमा रहेको सोभियत सङ्घले यो युद्धमा नाजी जर्मनीलाई पराजित गरेको थियो।
अधिकांश लडाइँ यही क्षेत्रमा केन्द्रित भएका कारण यो भूभाग विश्वयुद्धबाट सबैभन्दा धेरै प्रभावित भयो।
दोस्रो विश्वयुद्धमा युरोपमा आफ्नो पराजय स्वीकार गर्दै सन् १९४५को मे मा नाजी जर्मनीले निसर्त आत्मसमर्पण गर्यो। यो कानुनी दस्ताबेजले यो महादेशमा जारी शत्रुता पनि अन्त्य गर्यो। यद्यपि जापान विरुद्धको युद्धका कारण विश्वयुद्ध एसिया महादेशमा भने अगस्टसम्म लम्बिएको थियो।
आधिकारिक आत्मसमर्पणमा बर्लिन नजिकै ८ मे मै हस्ताक्षर भएको थियो। लगत्तै जर्मनहरूले बेलुका ११ बजेर १ मिनेट जाँदा हतियार बिसाएका थिए। तर त्यति बेला मस्कोको समय अनुसार मध्यरात पार भइसकेको थियो।

तस्बिर स्रोत, Keystone-France/Gamma-Keystone via Getty Images
युरोपमा जीतपछि मनाइने विजय दिवस अमेरिका सहित धेरै युरोपेली देशहरूमा भने ८ मे मै मनाइने गरिएको छ। तर रुससहित सर्बिया र बेलारुसमा चाहिँ ९ मे मा मनाइन्छ।
विजय दिवसले लामो र रक्तपातपूर्ण युद्धको अन्त्य गर्यो जुन युद्धमा सोभियत सङ्घका धेरै परिवारले प्रियजनहरू गुमाएका थिए। यो दिनको स्मरण गर्न रुसका लागि वैचारिक कारण पनि बन्यो।
विश्वयुद्ध अन्त्यको दुई दशकसम्म पनि ९ मे मा सोभियत सङ्घमा राष्ट्रिय बिदा दिने गरिएको थिएन। केही मुख्य सहरहरूमा आतशबाजी र स्थानीय पर्वहरू आयोजना गरेर स्मरण गर्ने गरिएको थियो।
सन् १९६३मा तत्कालीन रुसी सङ्घका नेता लियोनिद ब्रेस्नेभले देशको कमजोर वैचारिक धरातललाई बलियो बनाउने तथा देशभक्तिको भावना जगाउने उद्देश्यले नाजी जर्मनी विरुद्धको जितलाई उत्सवको रूपमा लिने नीति सुरु गरे।
त्यसपछि राष्ट्रिय कार्यक्रमहरू, रेड स्क्वायरमा सैन्य परेड र ९ मे मा सार्वजनिक बिदाको अभ्यास सुरु गरियो।
एक्काइसौँ शताब्दीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसको अर्थलाई अझै बढावा दिने र हरेक रुसी मानिसहरूका लागि यो अभिन्न बनाउने काम गरे।
विजय दिवसको उत्सव बढ्दै गए पनि हरेक वर्ष युद्ध लडेका जीवित अग्रज सिपाहीहरू र प्रत्यक्षदर्शीहरू कार्यक्रममा भाग लिनबाट घट्दै गइरहे।

तस्बिर स्रोत, Reuters
नाजीवादलाई परास्त गर्न रुसको मुख्य भूमिका रहेको कथन सन् २०२० मा भएको रुसी संविधानको संशोधनमा पनि समावेश गरियो।
राष्ट्रियता सम्बन्धी पुरातनबादी मान्यतालाई महत्त्व दिएको संशोधनमा रुसी नागरिकहरूलाई उक्त विजयको आधिकारिक कथनबारे प्रश्न उठाउन पनि प्रतिबन्ध लगाइयो।
"विजयको भक्ति गानलाई सन् २००० को दशकमा सोभियतकालीन समयभन्दा थप पुनर्जीवित गरियो। जसले विजयको विषय सञ्चार माध्यम र मानिसहरूको चेतना दुवैमा हाबी छ," मस्कोस्थित दोस्रो विश्वयुद्धको इतिहास र समाजशास्त्र सम्बन्धी अन्तर्राष्ट्रिय केन्द्रका निर्देशक ओलेग बुदनित्सकीले बीबीसीसँग भने।
"यसको केही सकारात्मक परिणाम पनि देखिएको छ। युद्धको इतिहासबारे अध्ययनमा व्यापक ध्यान केन्द्रित भयो। दशौँ लाख दस्ताबेजहरू सार्वजनिक गरिए र विद्युतीय अभिलेखमा राखिए तर अर्कोतर्फ नागरिकहरूको असैनिकीकरण पनि भयो।"
पछिल्लो दशकमा रुसी विजय दिवसका उत्सवहरूमा "हामी फेरि पनि गर्न सक्छौँ" भन्ने नाराहरू देखिएका छन्। जसले रुसी सेना सन् १९४५को जस्तै आधा युरोप कब्जा गर्न सक्षम छ भन्नेतर्फ सङ्केत गर्छ।
देशभक्तिले भरिएका आम उत्सवहरूले ठूलो तथ्यगत ज्ञानहरू भने दिँदैनन्।
इतिहासकारहरू रुसले महत्त्वका साथ मनाउने विजय उत्सवले जर्मन आक्रमण रोक्ने क्रममा रुसले गुमाएको ठूलो जनसङ्ख्यालाई ओझेलमा राखेको बताउँछन्।
सन् २०२० मा भएको एउटा सरकारी सर्वेक्षणमा अधिकांश रुसीहरूले ऊनीहरूका आफन्तले कसरी र कहाँ युद्धमा सहभागी भए भन्ने ज्ञान नभएको बताएका थिए।

अठारदेखि २४ वर्गसम्मका एक तिहाइभन्दा कम युवाहरूले मात्रै देशभक्तिका लागि लडिएको महान् युद्ध कहिले सुरु भएको थियो भन्ने जानकारी राखेको पाइयो। यो युद्ध सन् १९४१को जुनमा नाजी जर्मनीले सोभियत सङ्घमा आक्रमण गरेपछि सुरु भएको थियो।
सन् २०१४ यता पूर्वी युक्रेनमा तनाव सुरु भएपछि सरकारी सञ्चार माध्यमहरूले नाजी विरुद्धको लडाइँबारे देशभक्तिपूर्ण सामग्रीमा महत्त्व दिएका छन्।
रुसी अधिकारीहरूले युक्रेनमा घोर दक्षिणपन्थी शक्ति सत्तामा आएको गलत दाबी गर्दै फाँसीवादलाई परास्त गर्न रुसले खेलेको ऐतिहासिक भूमिकालाई महत्त्व दिएका थिए।
युद्धमा मारिएकाहरूको सम्झनामा नागरिक स्तरबाट आयोजना हुने केही पहलहरू राज्यले जिम्मा लियो। उदाहरणको लागि सन् २०११ मा साइबेरियाको तोम्स्क सहरमा स्वतन्त्र पत्रकारहरूको एउटा समूहले युद्धमा ज्यान गुमाएकाहरूको संस्मरणमा 'अमर रेजिमेन्ट' सुरु गरेको थियो।
उनीहरूले विजय दिवसको परेडमा युद्धमा ज्यान गुमाएकाहरूको तस्बिर लिएर सहभागी हुने थियो। यो पहल रुसका अन्य स्थानहरूमा पनि छिट्टै फैलियो र राष्ट्रिय स्वरूप लियो।
सन् २०१५ मा सरकारले यस्तै नामको संस्था खोल्यो तर यसअघि यस्तै अभियान चलाइरहेकाहरू यसमा सहभागी भएनन्।
अमर रेजिमेन्ट सरकारी पहल बन्यो। जसमा सरकारी कर्मचारी, विद्यालयका बालबालिका र सरकारी सञ्चार माध्यमहरूलाई सहभागी गराइयो। कतिपय अवस्थामा उनीहरूको उपस्थिति अनिवार्य गरिएको हुन्थ्यो।
यसरी रुसी अधिकारीहरूले सरकारी खर्चमा आयोजना भएका विजय दिवसहरू मात्रै सही भएको देखाउन प्रयास गरेका छन्।
सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण दोस्रो विश्वयुद्धको विजय दिवस मे बाट जुनमा सारिएको थियो। तर महामारीबीच पनि उक्त कार्यक्रम रुसी नागरिकहरूले अहिलेसम्म देखेको सबैभन्दा भव्य बन्यो।

तस्बिर स्रोत, Getty Images
सबैभन्दा नयाँ सैन्य उपकरण, २० हजार सैनिक र सयौँ विमान र बख्तरबन्द हतियार सहित आयोजना भएको विशाल सैन्य परेड मार्फत रुसी शक्तिबारे विश्वलाई चकित बनाउने उद्देश्य लिइएको थियो।
त्यसको दुई वर्ष भन्दा कम अवधिमा रुस युक्रेनमाथि पूर्ण स्तरको आक्रमणमा उत्रिएको छ। यो युद्धमा त्यही परेडमा प्रदर्शन गरिएका अधिकांश हतियारहरूको प्रयोग गरिएको छ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई "निःशस्त्रीकरण" गर्नु र "नाजीमुक्त" गर्नु रुसको लक्ष्य रहेको बताएका छन्।
युक्रेन युद्धमा रुसी सैन्य कारबाहीले युक्रेनी सरकार अपदस्त गर्ने वा किएभ कब्जा गर्ने जस्ता तत्कालै परिणाम ल्याउन नसकेपछि रुसी कमान्डरहरूले आक्रमणलाई थप तीव्र बनाउने समय ९ मे सम्मका लागि सारेको ठानिएको छ।
यदि रुसले उक्त मितिसम्म कुनै भूभाग हासिल गर्ने मामलामा उल्लेख्य उपलब्धि हासिल गर्यो भने मस्कोले विजय दिवसलाई प्रोपोगाण्डा प्रयोजनका लागि पुन आविष्कार गर्न सक्छ।
विजय दिवस रुसी अधिकारीहरूका लागि युक्रेनमा रुसको 'विशेष सैन्य कारबाही' आवेश मात्र नभई नाजीहरूलाई निमिट्यान्न पार्ने अभियान थियो भन्ने दाबी दोहोर्याउने अवसर पनि हुनसक्छ। तर युद्ध स्थलका दैनिक घटनाक्रमले यो दाबी खण्डित गरिरहेको छ।









