रुसः हत्या गरिनुअघि पुटिनका प्रतिद्वन्द्वी नेतालाई हत्यारा टोलीका जासुसले एक वर्ष पिछा गरेका थिए

तस्बिर स्रोत, Getty Images
- Author, बीबीसी आई इन्भेस्टिगेशन
- Role, विश्व सेवा
रुसका विपक्षी राजनीतिक नेता बोरिस नेम्त्सोभलाई गोली हानेर हत्या गरिनुअघि राजनीतिक हत्या गर्ने एउटा टोलीसँग सम्बन्धित एक गुप्तचरले एक वर्षसम्म उनको पिछा गरेको अनुसन्धानबाट खुलेको छ।
नेम्त्सोभ राष्ट्रपति पुटिनका कट्टर आलोचक थिए। सन् २०१५ मा भएको उनको हत्या पुटिन सत्तामा आएपछिको सबैभन्दा ठूलो राजनीतिक हत्या मानिन्छ।
तर अधिकारीहरूले भने उक्त घटनामा राजनीतिक संलग्नता अस्वीकार गर्दै आएका छन्।
बेलिङ्क्याट, द इन्साइडर र बीबीसीले उनको हत्या हुनुअघि १३ वटा यात्रामा नेम्त्सोभको पिछा गरिएको प्रमाण फेला पारेका छन्।
सन् १९९० को दशकमा प्रख्यात नेताको रूपमा उदाएका नेम्त्सोभ राष्ट्रपति बोरिस येल्त्सिनको नेतृत्वमा रहेको समयमा उपप्रधानमन्त्री बनेका थिए। उनलाई येल्त्सिनको उत्तराधिकारीको रूपमा समेत चर्चा गरिएको थियो।
तर अचानक रुसको सत्तामा पुटिन आएपछि नेम्त्सोभलाई राजनीतिबाट पाखा लगाइयो। त्यसपछि उनी प्रभावशाली अभियानकर्मी बने र उनले भ्रष्टाचारविरोधी अभियान चलाए। सन् २०१४ मा रुसले पूर्वी युक्रेनको क्राइमियामा आक्रमण गर्दा उनले निन्दा गरेका थिए।
उनले नेतृत्व गर्ने तय भएको युद्धविरोधी एउटा प्रदर्शनको केही दिनअघि मात्र सन् २०१५ को २७ फेब्रुअरीमा क्रेम्लिननजिकै उनमाथि साङ्घातिक आक्रमण भयो।
उनको हत्याको आरोपमा चेचेन मूलका पाँच जनालाई पक्राउ गरियो र जेल पनि चलान गरियो। तर उनको हत्या कसको आदेशमा र किन भयो भन्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न आधिकारिक अनुसन्धानमा अनुत्तरित रह्यो।
हत्यामा को संलग्न?
सात वर्षपछि अनुसन्धानमूलक वेबसाइट बेलिङ्क्याट र द इन्साइडरसँगको सहकार्यमा बीबीसीले उनको हत्याअघि र हत्या भएको महिना नेम्त्सोभलाई सरकारी जासुसहरूको हत्यारा टोलीसँग सम्बन्ध भएको एक चरले पिछा गरेको खुलासा गरेको छ।
रेल र हवाई टिकट रिजर्भेजशनसम्बन्धी चुहिएको डेटा प्रयोग गरेर अनुसन्धानले नेम्त्सोभलाई कम्तीमा १३ वटा यात्रामा पिछा गरिएको देखाएको छ।

नेम्त्सोभलाई अन्तिम पटक उनको हत्या हुनुभन्दा १० दिनअघि सन् २०१५ को फेब्रुअरी १७ मा पिछा गरिएको थियो।
उनले प्रयोग गरेका कागजपत्रअनुसार पिछा गर्ने चरको नाम भलेरी सुखारेभ हो। प्राप्त प्रमाणहरूले त्यो बेला उनी रुसको मुख्य सुरक्षा निकाय एफएसबीमा कार्यरत देखाउँछ।
एफएसबीको एउटा जिम्मेवारी क्रेम्लिनका तर्फबाट राजनीतिक चुनौतीहरूको व्यवस्थापन गर्नु हो। त्यसमा देशभरि मानिस गतिविधि निगरानी गर्नु पनि पर्छ।
सबै उडान र रेलका टिकटहरू मजिस्ट्रल भनिने एफएसबीको डेटाबेसमा अभिलेखीकरण गरिन्छ।
तर यो डेटाबेसले रुसी गुप्तचरहरूले पिछा गर्न चाहेका व्यक्तिहरूले गर्ने आवतजावतको मात्रै अभिलेख नराखी सुखारेभजस्ता जासुसको पनि अभिलेख देखाउन सक्छ।
यस प्रकारको सूचना प्रायः कालोबजारीमार्फत् चुहिन्छ र पत्रकारहरूको हातमा पुग्छ।
"रुसजस्तो भ्रष्ट समाजमा [मजिस्ट्रल] दुईधारे तरबार हो," बेलिङ्क्याटका कार्यकारी निर्देशक क्रिष्टो ग्रोजेभ भन्छन्।
"यसले हामीजस्ता मानिसहरूलाई वास्तविकता पहिल्याउन र यिनै जासुस वा एफएसबी अधिकारीलाई पछ्याउन सहयोग गर्छ।"
यो अनुसन्धानका लागि केही वास्तविक विवरणहरू बेलिङ्क्याटले रुसभित्रकै बिचौलियाबाट ल्याएको थियो। ती बिचौलियाले मजिस्ट्रलमा पहुँच भएका भ्रष्ट अधिकारीहरूबाट उक्त विवरण हात पारेका थिए।
बीबीसीले मजिस्ट्रलका प्रतिहरूमा पहुँच भएका विभिन्न स्रोतले पैसा नलिई उपलब्ध गराएको तथ्य पनि प्रयोग गर्यो।
बेलिङ्क्याटले यसअघि पनि रुसमा भएको हत्या प्रयासबारे अनुसन्धानका लागि मजिस्ट्रलका तथ्य प्रयोग गरिसकेको छ।
उनीहरूको अनुसन्धानबाट एफएसबीभित्र क्रेम्लिनको सत्ताविरोधी राजनीतिक व्यक्तिहरूलाई निसाना बनाउने हत्याराहरूको गोप्य समूह रहेको प्रमाण देखियो।
रुस सरकारले यी आरोपको सधैँ खण्डन गर्दै आएको छ।
यो अनुसन्धानका लागि हामीले सुखारेभले लिएका रेल तथा हवाई टिकटहरू जुटायौँ। हामीले बोरिस नेम्त्सोभको सार्वजनिक आवतजावतसँग त्यसको तुलना गर्दा एउटा स्पष्ट ढाँचा देखा पर्यो।

तस्बिर स्रोत, Getty Images
नेम्त्सोभका अधिकांश यात्राहरू मस्कोबाट सुरु भएर उनी बस्ने क्षेत्रीय संसद् रहेको सहर यारोस्लाभ्लमा टुङ्गिन्थे। उक्त स्थान राजधानीबाट २७२ किलोमिटर पूर्वोत्तरमा छ।
विवरणहरूको अनुसन्धानबाट सुखारेभलाई नोम्त्सोभको यात्रा योजनाबारे पहिल्यै जानकारी हुने देखिन्छ। किनभने उनी नोम्त्सोभ आइपुग्नुभन्दा केही मिनेट वा केही घण्टाअघि नै त्यहाँ पुगिसकेका हुन्थे।
एउटा यात्रा विवरणले उनलाई कति नजिकबाट पिछा गरिएको थियो भन्ने देखाउँछ। सन् २०१४ को वर्षा याममा उनी साइबेरियाको यात्रामा निस्किए।
नमत्सभले जुलाई २ को मध्यरातपछि त्यहाँ जाने टिकट अनलाइनबाट किने। नमत्सभले नोभोसिवियर्स्कका लागि टिकट लिएको १० मिनेटपछि सुखारेभले पनि त्यही दिन उही गन्तव्यमा पुग्नका लागि टिकट लिए।
एफएसबी एजेन्टले आफ्नो निसानामा रहेका व्यक्तिहरूको फरक नपर्नेगर पिछा गर्न मजिस्ट्रलको प्रयोग गर्ने ग्रोजेभ बताउँछन्।
"यदि तपाईँ एफएसबी एजेन्ट हुनुभयो भने तपाईँले त्यो डेटामा पहुँच पाउनुहुन्छ र कुनै व्यक्तिले किनेको, किन्दै गरेको वा त्यही समयमा किन्न लागेको टिकटबारे सम्पूर्ण विवरण त्यही समयमा पाउन सक्नुहुन्छ," ग्रोजेभ भन्छन्।
विष हाल्ने समूह
सुरक्षा निकायहरूले प्रसिद्ध विपक्षी नेताको निगरानी गर्नु रुसमा असामान्य मानिँदैन।
तर नेम्त्सोभको पिछा गर्ने सुखारेभ एफएसबीको नियमित काममा खटाइएका एक साधारण दर्जाका सिपाही मात्र थिएनन्। बेलिङ्क्याटको यसअघिका अनुसन्धानले पुटिनका प्रखर आलोचकहरूको दुईवटा हत्या प्रयासजस्ता देखिएका घटनामा उनको संलग्नता पनि देखाएको छ।
पहिलो निसाना नेम्त्सोभका साथी र समर्थक समेत रहेका भ्लादिमिर कारा-मुर्जा थिए। यी विपक्षी दलका नेताले आफ्नो हत्या गर्ने प्रयास भएको केही सातापछि क्रेम्लिनको संलग्नताबारे प्रश्न उठाएका थिए।
सन् २०१५ को मे महिनामा कारा-मुर्जासँगसँगै रुसी सहर काजान पुगेको समूहमा सुखारेभ पनि थिए। मस्को फर्किएको दुई दिनपछि कारा-मुर्जा सास फेर्न नसकेर ढले। उनका धेरै अङ्गले काम गर्न छोडेपछि कोमामा पुगे। तर उनी उपचारपछि निको भए।
उनलाई सन् २०१७ मा दोस्रो पटक विष प्रयोग गरियो। त्यस पटक पनि उनी बाँचे।
विष खुवाउन मान्छे परिचालन गरेको आरोप रुस सरकारले खण्डन गर्दै आएको छ।

तस्बिर स्रोत, Getty Images
दोस्रो निसाना एलेक्सी नभाल्नी बने। अहिले जेल चलान गरिएका भ्रष्ट्राचारविरोधी विपक्षी यी नेताका भिडिओहरू दशौँ लाख रुसी जनतासम्म पुग्थे।
सन् २०२० मा नभाल्नीलाई सोभियत सङ्घमा विकास गरिएको स्नायुमा असर गर्ने 'नोभिचोक' विष दिइयो जुन अन्तर्राष्ट्रिय कानुनअन्तर्गत प्रतिबन्धित छ।
बेलिङ्क्याटले विष दिइएको केहीअघि मात्र एफएसबीको टोलीले नभाल्नीलाई पूर्वी सहर टोम्स्कसम्म पछ्याएको पत्ता लगायो।
नभाल्नीलाई पिछा गर्ने समूहमा सुखारेभ थिएनन्। तर यसमा संलग्न चार जनासहित एफएसबीको उच्च नेतृत्वमा रहेका अधिकारीसँग सुखारेभले उक्त घटना हुनुअघिको महिना १४५ पटक फोन वा सन्देशमा सम्पर्क गरेको खुल्यो।
हत्याको आरोपमा यूके र अमेरिकी सरकारले प्रतिबन्ध लगाएका सात एफएसबी एजेन्टमध्ये चार जना तिनै व्यक्ति थिए।
रुस सरकारले नभाल्नीलाई विष दिएको घटनामा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको बताउँदै आएको छ।
बीबीसीले रुस सरकार र एफएसबीलाई नेम्त्सोभलाई सफाया समूहसँग आबद्ध चरले पिछा गरेको प्रमाणबारे प्रश्न गरेको थियो।
"यसमा रुस सरकारको कुनै पनि सरोकार छैन। यो अर्को अतिरञ्जनाजस्तो देखिन्छ," क्रेम्लिनका प्रवक्ता द्मित्री प्रेस्कोभले भने। एफएसबीले भने कुनै प्रतिक्रिया दिएन।










