रुसी चुनाव: सफाइ कर्मचारी जसले संयोगवश राष्ट्रपति पुटिनका उम्मेदवारलाई हराइन्

मरिना

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, मरिना प्राविधिक उम्मेद्वार थिइन् तर चुनाव नै जितिन्
    • Author, पियोट कोजलोफ
    • Role, बीबीसी रसियन

मरिना उद्गोदस्कायाले कुनै चुनावी प्रचारप्रसार अभियान सञ्चालन गरिनन् र निश्चय पनि उनलाई जित्ने अपेक्षा थिएन।

तर राष्ट्रपति पुटिनको दल युनाइटेड रसिया पार्टीबाट प्रतिनिधित्व गर्ने एक पूर्व प्रहरी अधिकारी एवम् बहालवाला मेयरलाई आश्चर्यजनक रूपमा उनले चुनावमा हराइदिइन्।

त्यसपछि उनी रुसमा परिचित स्थानीय राजनीतिज्ञ बन्न पुगेकी छन्।

केहीअघिसम्म मरिना रुसको सानो गाउँ पोवालिखिनोको स्थानीय कार्यालयमा सफाइ कर्मचारी थिइन्।

उक्त गाउँ मस्कोभन्दा ४०० किलोमिटर उत्तर-पूर्वमा पर्छ।

उनको जीवन त्यसबेला फेरियो जब उनलाई मतदान प्रजातान्त्रिक भएको देखाउनकालागि मात्रै स्थानीय चुनावमा 'प्राविधिक उम्मेद्वार' बन्न भनियो।

एउटा पदमा कम्तीमा दुईजना उम्मेद्वार हुनुपर्ने कानुनी व्यवस्थाका कारण उनलाई अघि सारिएको थियो। तर उनले भारी मतले चुनाव जितिन् र अब उनले उक्त सानो जिल्ला हाँक्ने छिन्।

मरिनाले सेल्स सहायकको तालिम लिएकी थिइन्। तर काम पाइनन्।

उनको गाउँ पोभालिखिनोमा दुईवटा मात्र साना पसल थिए। उनले घर-परिवार, बगैँचा र पशुपक्षी पनि हेर्नुपर्थ्यो।

Ducks and geese

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, घर-परिवार, बगैचा र पशुपङ्क्षि पनि हेर्नुपर्ने मरिनाका जिम्मेवारीमा पर्थ्यो

उनले स्थानीय कार्यालयमा सफाइ कर्मचारीका रूपमा काम पनि गरिन्।

उनलाई भर्ना गरेका बहालवाला मेयरविरुद्धको उनको जित आश्चर्य बनेको छ।

त्यो समाचार तीव्र रूपमा देशभरि फैलियो र बाँकी रुसका निम्ति पनि झट्का थियो।

विपक्षी राजनीतिज्ञ दिमित्री गुडकोफले आफ्नो ब्लगमा उनलाई बधाई दिँदै त्यसले राष्ट्रपति पुटिनको दलबाट त्यस क्षेत्रका मतदाता निराश भएको सङ्केत दिएको टिप्पणी गरेका छन्।

संयोगको उम्मेद्वार

सेप्टेम्बरको चुनावबाट ५३ वर्षीय निकोलाइ लोक्तेफ पुन: निर्वाचित हुन चाहन्थे।

कानुनी मापदण्ड पूरा गर्न उनले आफ्नो प्रतिस्पर्धीको रूपमा मरिनालाई रोजे। त्यो उनकै निम्ति दुर्भाग्यपूर्ण बन्न पुग्यो।

पूर्वमेयर लोक्तेफ

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, पूर्वमेयर लोक्तेफले आफूलाई हारमा कुनै पछुतो नभएको बताए तर उनी तनावमा देखिन्थे

पूर्वप्रहरी लोक्तेफ पछिल्लो पाँच वर्षदेखि ग्रामीण जिल्लाको मेयर छन्।

गाउँका कैयौँले उनलाई सम्मान गर्छन् र राम्रो बाटोमा जिल्लालाई हिँडाइरहेको ठान्छन्।

"हो, मैले मरिनालाई उम्मेद्वार बन्न भनेको हुँ," उनले बीबीसी रसियनलाई भने, "वास्तावमा मैले अरू पनि केही मानिसलाई भनेको थिएँ, तिनीहरूलेअस्वीकार गरे। विकल्प भएको भए उनलाई भन्ने थिइनँ। तर उनको जित कुनै विशेष वा असामान्य लागेको छैन। म धन्य छु, उनी चुनाव लडिन्, जनताले साथ दिए।"

उनले गाउँ छाडेर स्थानीय सहरमा सर्ने र काम खोज्ने योजना सुनाए।

उनले राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीको हारको रूपमा हेरिएको विषयमा बोल्न मानेनन्। उनले आफू र मरिना कुनै दलको सदस्य नरहेको बताए।

मरिनाप्रतिको विश्वास

मरिनाले कार्यभार सम्हाल्दा उनले जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताइन्।

सुरुमा सङ्कोच लागे पनि अहिले सामान्य अनुभव भइरहेको सुनाउँदै उनले भनिन्, "जनताले मलाई निर्वाचित गरेकाले मैले उनीहरूको निम्ति काम गर्नेछु।"

कार्यभार सम्हालेपछि उनी कारमा चढिन् र स्थानीय बासिन्दालाई भेट्न गइन्। पत्रकारहरूले उनलाई पछ्याए। उनका समर्थकहरूको आँगनमा तस्बिरहरू लिइए।

समर्थकका साथ मरिना

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, समर्थकका साथ मरिना

एक महिलाले भनिन्, "निश्चय नै मैले मरिनालाई भोट दिएकी हुँ, हामी सबैले उनलाई विश्वास गर्छौँ।"

मरिनाले छिट्टै क्षेत्रीय नेताहरूको निम्ति दिइने तालिम लिनेछिन्। आफ्नो जस्तो सानो जिल्ला हाँक्न र स्थानीय बजेटबारेमा सिक्नेछिन्।

मरिनाप्रतिको धारणा के छ?

एउटा स्थानीय पसलमा पहेँलो कोट लगाएकी महिलासँग कुरा गर्दा थाहा भयो उनी मरिनाकी सासु रहिछन्।

मरिनाकी सासु

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, मरिनाकी सासुसँग पनि बीबीसीको कुराकानी भयो

"ती युवा महिला मेरी बुहारी हुन्," उनले भनिन्, "मलाई लाग्छ यदि उनले राम्रो काम गर्न सक्छिन् भने गर्नुपर्छ तर सक्दिनन् भने छाड्नु पर्नेछ।"

अर्की महिला मरिनाको जितमा खुसी छन्।

उनले भनिन्, "हामी नयाँ र ताजा अनुहार चाहन्छौँ। केही परिवर्तन गर्न उनलाई अवसर हुनेछ।"

मरिनाका समर्थक

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, गाउँमा मरिनाका समर्थक भेट्न गाह्रो छैन

उनको आशावादी स्वरमा स्वर मिलाए अर्का पुरुषले।

मिखायल नाममा ती व्यक्तिले कुरा गरिरहँदा सूर्यमुखीको बिउ चपाइरहेका थिए।

"उनले समयसँगै अनुभव प्राप्त गर्नेछिन्, सबै कुरा सिक्नेछिन्, उनी युवा, सुन्दर र रमाइलो छिन्," यति भन्दा कुटनीति रूपमा उनले थपे, "निकोलाइ लोक्तेफ पनि राम्रा थिए।"

पुटिनको पार्टीको निम्ति कस्तो अर्थ?

रुसी विपक्षीले तत्कालै मरिनाको जितलाई पुटिनको पार्टीको हारको रूपमा व्याख्या गरे।

नयाँ मेयरप्रति आशावादी एक पुरुष

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, यी पुरुष पनि नयाँ मेयरप्रति आशावादी देखिए

तर एउटा सानो गाउँमा एकजना महिला सफाइ कर्मचारीले पुटिनको पार्टीको तर्फबाट उम्मेद्वार बनेका बहालवाला मेयरलाई हराइ दिएको भन्ने समाचार जसरी डढेलो सरह फैलियो त्यसले पक्कै धक्का पुगेको छ।

समाचार मस्को पुग्यो र रुसको केन्द्रीय निर्वाचन आयोगका प्रमुखले टिप्पणी गरे।

"हो, उनी प्राविधिक उम्मेद्वारको रूपमा चुनावमा उठेकी थिइन्," आयोग प्रमुख इल्ला पम्फिलोफाको भनाइ थियो, "तर त्यहाँ कुनै गलत भएको छैन। गाउँका उनका मतदाताले उनलाई भोट दिए, महिला सफाइ कर्मचारीको रूपमा उनले त्यसो होला भनेर सोचेकी थिइनन्।"

पुटिनको दलका स्थानीय प्रमुख गलिना पोलिआकोफले बीबीसी रसियालाई असमान्य अवस्था भने पनि त्यहाँ कुनै समस्या नहुने बताए।

राष्ट्रपति पुटिनको दलको स्थानीय कार्यालय

तस्बिर स्रोत, Yevgeny Zhuravlev / BBC

तस्बिरको क्याप्शन, राष्ट्रपति पुटिनको दलको स्थानीय कार्यालय

उनले भने, "अरू साना जिल्लाहरूमा जस्तै मरिनाका पनि परामर्शदाता हुनेछन्। हो, यो समान्यभन्दा फरक हो, तर दुःखद होइन।"

उनका बुझाइमा युनाइटेड रसियाका उम्मेद्वारले हारे पनि कुनै खराब भएको छैन, मतदाताले सधैँ पार्टीलाई नभइ व्यक्तिलाई भोट दिन्छन्।

उनले भने, "सम्भवत: उनी राम्री समन्वयकर्ता हुन्, राम्रो व्यावसायिक क्षमता छ र पूर्व मेयरले चाल चाल्न जानेनन्।"