नभाल्नीलाई विष: क्रेमलिनका आलोचक नभाल्नीले मृत्युको मुखमा पुग्नै लाग्दाको अनुभव यसरी सुनाए

    • Author, एन्ड्रेइ कोजेन्को
    • Role, बीबीसी रुसी सेवा

Alexei Navalny in Berlin with wife Yulia and son Zakhar, 2 Oct 20
तस्बिरको क्याप्शन, एलेक्सी नभाल्नी अस्पतालबाट डिस्चार्ज भएका छन्, उनकी श्रीमती युलिया र छोरा जाखरसँग बर्लिनमा

विष दिइएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नी स्नायु सम्बन्धी विषको प्रभावबाट निस्कन आफूलाई लामो समय लाग्ने बताउँछन्। उनलाई रातभर निद्रा नलाग्ने समस्या भएको छ र बसउठ गर्न अफ्ठ्यारो भएको छ।

तर उनले बीबीसी रुसी सेवालाई भने, "मलाई अहिले धेरै राम्रो भएको छ"। उनले आफू अन्तत: रुस फर्कने दोहोर्‍याए।

बीबीसीले उनलाई गार्डहरूले घेरिएको बर्लिनस्थित एक होटलमा भेटेको छ। उनले ३२ दिन बर्लिनको च्यारीटे अस्पतालको खासगरी सघन उपचार कक्षमा बिताएका थिए।

उनलाई शुरूमा कामज्वरो आयो तर शरीमा अरू दुखाइ थिएन, "तर त्यो मेरो अन्त्य यही रहेछ भन्ने महसुस गराउने किसिमको थियो।"

"मलाई कत्ति पनि र कतै पनि दुखेको थिएन। ला! के भयो भनेर आत्तिएको पनि होइन। तर शुरूमै केही गडबड भयो भन्ने थाहा भइहाल्यो। र म सोचिरहेको थिएँ लौ सिद्धियो। म अब मर्नेछु।"

उनी साइबेरियाको टम्स्कबाट जहाजमा उडेको केही बेरमै बेहोस भएका थिए र विमानले ओम्स्कमा आपत्‌कालीन अवतरण गरेकाले मात्र बचे। ओम्स्कमा उनलाई सघन उपचार कक्षमा लगिएको थियो।

पछि रुसी अधिकारीहरूसँग उच्च स्तरीय वार्ताहरूपछि उनलाई विमानबाट बर्लिन लगिएको थियो र औषधि दिएर कोमामा राखिएको थियो।

नोविचोक दिइएको पुष्टि

रासायनिक हतियार सम्बन्धी अन्तर सरकारी संस्थाले ४४ वर्षीय नभाल्नीलाई नोविचोक किसिमको स्नायुमा प्रभाव पार्ने विष दिइएको पुष्टि गरेको छ।

एउटा विज्ञप्तिमा उक्त संस्थाले उनको पिसाब र रगतमा प्रतिबन्धित रासायनिक हतियारको मात्रा भेटिएको जनाएको छ।

जर्मनीले जर्मन वैज्ञानिकहरूले भनेकै कुरा फ्रान्स र स्वीडेनको प्रयोगशालाहरूले पनि नभाल्नीलाई स्नायुमा असर पार्ने तत्व दिइएको पुष्टि गरेको भन्दै स्नायुमा असर गर्ने विषालु तत्व दिइएकोमा "कुनै शङ्का नरहेको" बताएको छ।

नोविचोक रुसी वैज्ञानिकहरूले शीत युद्धका बेला विकास गरेको अति विषालु - तत्व हो जसको सानो मात्राले पनि मानिसको ज्यान लिन्छ।

अस्पतालबाट सेप्टेम्बरको अन्त्यमा डिस्चार्ज भए यताको पहिलो भिडिओ अन्तरवार्ता दिँदै गत हप्ता नभाल्नीले रुसी अधिकारीहरूले आगामी वर्ष हुन लागेको संसदीय चुनावमा उनीहरूको दबदबालाई खतरा पुर्‍याएकाले आफूलाई समाप्त पार्न विष दिइएको बताएका थिए।

रुसी सरकारले उनलाई विषाक्त बनाउनमा आफ्नो संलग्नता रहेको अस्वीकार गर्छ। नभाल्नीको उपचार गरेका रुसी डाक्टरहरूले नभाल्नीमा कुनै विष फेला नपारेको बताउँदै आएका छन्।

Alexei Navalny in Berlin with wife Yulia, 2 Oct 20
तस्बिरको क्याप्शन, हप्तौँसम्म युलियालाई आफ्ना श्रीमान सञ्चो होलान् कि नहोलान् भन्ने निश्चित थिएन

"यसमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात छ भन्ने म भन्न चाहन्छु। त्यसबाहेक यसो हुनुको अर्को कारण म देख्दिन," उनले जर्मन म्यागेजिन डेर स्पीगेललाई गत हप्ता भएका थिए।

उनी साइबेरियामा भ्रष्टाचार विरोधी अभियानमा लागेका उनका सहकर्मीलाई त्यहाँको स्थानीय निकायमा जिताउन प्रचारप्रसार गरेपछि बिरामी परेका थिए।

उनी राष्ट्रपति पुटिनका चिनिएका आलोचक हुन्। उनका सामाजिक सञ्जालमा दशौँ लाख फलोअरहरू छन्। उनले सत्तामा रहेकाहरूले गरेका भ्रष्टाचार सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गर्छन् र पुटिन समर्थक युनाइटेड रसिया पार्टीलाई "चोरहरू"भनेर भर्त्सना गर्छन्।

उनले निर्वासनमा जीवन बिताउने कुरा अस्वीकार गर्दै बीबीसीलाई भने, "उनीहरूले मलाई लामो समयदेखि देश बाहिर निकाल्न चाहन्थे।"

"घटनाक्रम कसरी विकसित होला मलाई थाहा छैन, म खतरा मोल्न चाहन्न। मेरो आफ्नो लक्ष्य छ, मेरो आफ्नो देश छ।" उनले आफ्नो नियन्त्रणमा नभएका घटनाक्रमबारे सोच्न नचाहेको बताए।

दिग्भ्रमित पार्ने खालका भावना

बीबीसीलाई उनले भने- जब विष उनको शरीरमा फैलिँदै गयो उनी केहीमा पनि केन्द्रित हुन सकेनन्। तर उनका अगाडि भएका मानिस र बस्तुहरू मदिरापान गरेका बेला जस्तो धमिलो पनि देखिएका पनि थिएनन्।

अस्पतालमा निकै पछि "धेरै कुराहरू सम्झनामा आयो र त्यो चाहिँ सबभन्दा नारकीय छ।"

"लामो समयसम्म म दिग्भ्रमित भइरहेँ" उनले भने। उनकी श्रीमती युलिया, डाक्टरहरू र उनका सहकर्मी लिओनिड भोल्कोभले उनी दुर्घटनामा परेको र उनले खुट्टा गुमाएको भनिरहेका जस्तो उनलाई लागेको थियो। र उनले सोच्ने गरेका थिए, "मलाई चिकित्सकहरूले नयाँ मेरुदण्ड र नयाँ खुट्टाहरू दिनेछन्।" उनले त्यही नै वास्तविकता भएको ठानेका थिए। रातमा उनलाई दुस्वप्नको समस्या हुन थालेको थियो।

German army emergency personnel load portable isolation unit (Epi Shuttle) into their ambulance that was used to transport Russian opposition figure Alexei Navalny at Charite hospital on August 22, 2020 in Berlin, Germany

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अचेत भएको दुई दिनपछि नभाल्नीलाई २० अगष्टका दिन विमानमा राखेर रुसबाट जर्मनीको बर्लिन ल्याइएको थियो

"मेरो मुख्य समस्या चाहिँ सुताइमा आएको छ। मैले सुत्ने बानी गुमाएको छु। निद्रा लगाउने औषधी बिना सुत्नै सक्दिन। यस्तो समस्या यस अघि मलाई कहिल्यै थिएन।"

"मेरो हात कहिलेकाहीँ हल्लिन थालेको छ तर त्यो यहीबेला यस्तै हुन्छ भन्ने छैन," उनले भने। उनले नियमित रूपमा स्वास्थ्य जाँच गराइरहेको बताए। उनले भने "शारीरिक रूपमा निकै तीव्र गतिमा सञ्चो भइरहेको छु।"

"म कहिलेकाहीँ दुईपटकसम्म हिँड्न जान्छु र निकै बेर हिँड्न सक्छु। मेरा लागि कारमा बस्नु कारबाट बाहिर निस्कनु भने असाध्यै मुस्किलको काम भएको छ।"

शरीरमा कुनै दुखाइ नभएकाले उनलाई राहत भएको छ। तर सानो भकुण्डो फ्याँक्न प्रयास गर्दा पनि खेल प्रतिस्पर्धामा "गह्रुँगो भकुन्डो" फाल्न चाहिने मेहनत गर्नुपर्दा भने उनलाई दिक्दार लागेर आउँछ।