एलेक्सी नभाल्नी: ती दुई घण्टा जसले रुसी विपक्षी नेता नभाल्नीको जीवन बचायो

तस्बिर स्रोत, Reuters
- Author, बीबीसी रुसी सेवा
- Role, मस्को
रुसका विपक्षी नेता एलेक्सी नभाल्नी जर्मनीको बर्लिनस्थित अस्पतालमा अचेत अवस्थामा कोमामा छन्।
जर्मनीले उनलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको बताएको छ।
उनी रुसमा साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला बिरामी परेका थिए र जहाजले ओम्स्कमा आपत्कालीन अवतरण गर्नुपरेको थियो।
दुई दिनपछि रुसी अधिकारीहरूलाई मनाएर नभाल्नीलाई विमानमा राखेर जर्मनी पुर्याइएको थियो।
बीबीसी रुसी सेवाले कसरी विमानका कर्मचारीहरू र स्वास्थ्यकर्मीले साइबेरियाको आकाशमा उनको जीवन बचाउन सङ्घर्ष गरे भन्नेबारे एक रिपोर्ट गरेको छ।
त्यो खतरापूर्ण दुई घण्टा लामो यात्राको उसले यसरी वर्णन गरेको छ।
बिहान कसरी बित्यो
त्यो २० अगष्टको दिन थियो। एलेक्सी नभाल्नी एस सेभेन उडान मार्फत् टोम्स्कबाट मस्को जान विमान चढ्दै थिए।
उनले बिहानभरि केही पिएका या खाएका थिएनन्- उनकी प्रेस सचिव किरा यार्मिसका अनुसार नभाल्नीले टोम्स्क बोगाशेभो विमानस्थलमा केवल एक कप चिया किनेर पिएका थिए।

तस्बिर स्रोत, Ilya Ageev
सोही विमानमा उड्न लागेकी अर्की यात्री इल्या अगीभले नभाल्नीले विमान उड्नु करिब एक घण्टा अघि चिया पिएको देखेकी थिइन्। उनी मुस्काइरहेका थिए र सँगै विमान चढ्न लागेका उनलाई चिन्ने यात्रुहरूसँग ठट्टा गरिरहेका थिए।
टोम्स्क समय ०८:०१ (०१:०१ जीएमटी)
उडानको पहिलो आधा घण्टामै नभाल्नीले असजिलो महसुस गर्न थाले। परिचारक/परिचारिकाहरूले यात्रुहरूलाई पानी बाँड्न थाले, उनले त्यो लिएनन्। त्यसपछि उनी शौचालय गए।
टोम्स्क समय ०८:३० (०१:३० जीएमटी)
त्यही समयमा अर्का यात्रुले शौचालय प्रयोग गर्न खोजे तर एलेक्सी नभाल्नीले शौचालयमा झण्डै २० मिनेट लगाए। ढोका बाहिर शौचालय जान चाहनेहरूको लाम लागिसकेको थियो।
टोम्स्क समय ०८:५० (०१:५० जीएमटी)
यसबेलासम्म चारैजना परिचारकहरूले आफ्नो विमानका एक यात्रुलाई सञ्चो नभएको चाल पाइसकेका थिए।
टोम्स्क समय ०९:०० (०२:०० जीएमटी)
केही मिनेटपछि एकजना परिचारकले कोही यात्रु डाक्टर छन् कि भनेर सोधे। अरू यात्रुले परिस्थिति गम्भीर भएको बुझे।
अरू सहयोगीहरूले पाइलटलाई त्यो सूचना दिए र नभाल्नीलाई प्राथमिक उपचार गर्न थाले।
उनकी सहयोगी इल्या पाखोमोभले विमानमा यताउता हिँड्दै चिकित्सकीय सहयोगका लागि अनुरोध गरिन्। अपरिचित एक महिला आफू नर्स हुँ भन्दै अगाडि आइन्।
एस सेभेन विमान सेवा कम्पनीका अनुसार पाइलटले आपत्कालीन अवतरण गरुन्जेल त्यसपछिको एक घण्टा ती नर्स महिला र उडान कर्मचारीहरू नभाल्नीको होस रहिरहोस् भन्नेमा केन्द्रित रहे।
'उनी बोलेका थिएनन्, चिच्याइरहेका थिए'
सेर्गेइ नेझनेट्स नामका एकजना वकिल पछाडिपट्टिको सीटमा थिए जहाँ नभाल्नीको उपचार गरिँदै थियो। उनी मस्को हुँदै क्र्यासनोडर जाँदै थिए।
नेझनेट्सले बीबीसीलाई भने, "जहाजका कर्मचारीले कोही यात्रु डाक्टर हुनुहुन्छ भने सहयोग गर्नुहोस् भन्ने आग्रह गरेपछि मैले परिस्थितिमाथि ध्यान दिन थालेँ।"
"केही मिनेटपछि पाइलटले एकजना यात्रु बिरामी परेकाले ओम्स्कमा आपत्कालीन अवतरण गर्न लागेको घोषणा गरे। मैले ती यात्रु नभाल्नी रहेछन् भन्ने अवतरण गरेपछि ट्विटर हेर्दा उनकी प्रवक्ताको ट्वीट हेरेर मात्र थाहा पाएँ।"
"डाक्टर कोही छ कि भनेर सोधेको केही मिनेटपछि एलेक्सीले कन्न र कराउन थाले। उनलाई पीडा भइरहेको थियो। क्याबिन क्रुका लागि छुट्याइएको ठाउँको भुइँमा उनी लडिरहेका थिए। उनले केही शब्द उच्चारण गरिरहेका थिएनन्- उनी ठस ठस कनिरहेका थिए।"
"नर्स सहयोग गर्न अगाडि बढेका बेला त्यस्तो अवस्था थियो", उनी भन्छन्।
"उनलाई कस्तो सहयोग दिइँदै थियो मैले देखिन," उनी भन्छन्, "तर मैले उनीहरूले बारम्बार एलेक्सी पीउ, पीउ, एलेक्सी सास फेरिरहु भनेको सुनेँ।"

तस्बिर स्रोत, Ilya Ageev
"उनी पीडाले कनिरहेको सुन्दा हामी यात्रुले चाहिँ राहत महसुस गर्यौँ किनभने उनी अझ जीवित थिए भन्ने त्यसले देखाउँथ्यो। म जोड दिन चाहन्छु त्यसबेला मलाई उनी नभाल्नी थिए भन्ने थाहा थिएन।"
नभाल्नीका दुईजना सहयोगीहरू नजिकै उभिइरहेका थिए। एकजना उनकी प्रेस सचिव किरा यार्मिस थिइन्।
नेझेनेट्स भन्छन्, "उनी असाध्यै आत्तिएकी थिइन्। स्वास्थ्यकर्मीले नभाल्नीलाई के भएको हो भनेर सोध्दा किराले भनिन्, "मलाई थाहा छैन शायद उनलाई विष दिइएको थियो।"
ओम्स्क समय ०८:२० (०२:२० जीएमटी)
विमान कर्मचारीले आपत्कालीन अवतरणको अनुमति मागे। विमान सेवा कम्पनी भन्छ "त्यो तत्काल दिइयो"।
यात्रुहरूलाई आपत्कालीन अवतरण गर्न लागेको जानकारी दिइएपछि आधा घण्टाभन्दा अलिकति बढी समय लाग्यो विमान अवतरण गर्न।
क्याबिन क्रुले झ्यालबाट बाहिर हेरिरहेका थिए र बादल डम्म लागेकोमा गुनासो गरिरहेका थिए। एलेक्सी गम्भीर बिरामी हुँदा अवतरण गर्न अरूबेला भन्दा केही बढि समय लागिरहेको थियो।
ती वकिलले उनलाई केही कुरा पिउन भनिरहेको आवाज सुनिरहेका थिए।
उनको पेटमा पम्प गरिएको थियो?
ओम्स्क विमानस्थलका प्रमुख डाक्टर भसिली सिडोरसले यो कुरा पुष्टि गर्न या अस्विकार गर्न चाहेनन्। उनले यति मात्र भने त्यहाँ सबै कुरा गरिएको थियो।

तस्बिर स्रोत, Ilya Ageev
"उनीहरूले 'फुड प्वाइजनिङ' भएको आशङ्का गरे कि, क्याबिन क्रुले त्यो प्रयत्न गरेको हुन सक्छ," इजरेली सघन उपचार विज्ञ मिखायल फ्रेमडरमनले भने। "तर त्यसले केही सहयोग गरेन होला किनभने अहिले जर्मनहरूले भनिरहेको अर्ग्यानोफोस्फोरस मिश्रणलाई त्यसले केही गर्दैन।"
र यदि नभाल्नीको खाना वा पिउने कुरामा विष मिसाइएको भए बान्ता गराउँदा उनलाई सहयोग गर्नेहरू या विमान सफा गर्नेहरूमाथि खतरा उत्पन्न हुन्थ्यो।
ओम्स्क समय ०९:०१ (०३:०१ जीएमटी)
ओम्स्कको समय ९ बजेर १ मिनेटमा विमान अवतरण गर्यो।
ओम्स्क समय ०९:०३ (०३:०३ जीएमटी)
अवतरण गरेको दुई मिनेटमै स्वास्थ्यकर्मीहरू विमानभित्र छिरे।
नभाल्नीको परीक्षण गर्ने बित्तिकै उनीहरूले भने "यो हामीले हेर्ने केस होइन उनलाई सघन उपचारको खाँचो छ।" नेझेनेट्स सम्झन्छन्।
त्यसपछि उनले एकजना स्वास्थ्यकर्मीले आइसीयू एम्बुलेन्सलाई फोन गरेको सुने। बिरामी गम्भीर अवस्थामा रहेकाले सीधा अवतरण क्षेत्रमा आउन भनिएको थियो।
त्यसपछि ती स्वास्थ्यकर्मीले विमानको रङबारे बताए र एम्बुलेन्स चालकलाई जहाजको भर्याङको छेउमा पार्क गर्न भने।
एम्बुलेन्स आउन दश मिनेट लाग्यो। त्यतिन्जेल डाक्टरहरूले नभाल्नीको रक्तचाप नापे र उनलाई सलाइन चढाए तर त्यसले केही फाइदा हुने छैन भन्ने उनीहरूलाई थाहा थियो।

तस्बिर स्रोत, Sibir.Realii
डा. सिडोरस भन्छन् उनी व्यक्तिगत रूपमा एलेक्सी नभाल्नीको उपचारमा संलग्न थिएनन् तर उनका सहकर्मीहरूले उनको जीवन बचाउन सक्दो गरे।
"नभाल्नीलाई के भइरहेको छ भन्ने बुझ्न कठिन थियो किनभने उनी बोल्न सक्दैनथे। उनले तिनको जीवन बचाउन जे जति गर्न सकिन्छ सबै गरे र उनलाई उचित अस्पतालमा पुर्याउन सहयोग गरे।"
हामीले कुराकानी गरेका यात्रुहरूले ती स्वास्थ्यकर्मीहरूले नभाल्नीलाई १५ देखि २० मिनेट परीक्षण गरेको बताए।
ओम्स्क समय ०९:३७ (०३:३७ जीएमटी)
त्यसपछि उनलाई विमानबाट बाहिर निकालियो, उनी रहेको स्ट्रेचरलाई एम्बुलेन्समा राखियो र ओम्स्कको अस्पताल नम्बर १ को इमर्जेन्सीमा लगियो।
त्यसपछि विमानमा इन्धन भरियो। करिब आधा घण्टापछि विमान मस्कोतिर लागेको नेझनेट्सले बीबीसीलाई भने।
जब हामी मस्कोको डोमोडेडोभो विमानस्थलमा अवतरण गर्यौँ केही प्रहरी र साधा लुगा लगाएका मानिसहरू विमानभित्र प्रवेश गरे।

तस्बिर स्रोत, DJPavlin
त्यसपछि उनीहरूले एलेक्सीको नजिक बसेका मानिसहरूलाई त्यहीँ बस्न भने र अरूलाई बाहिर जान भने। एलेक्सी विमानको मध्यतिर बसिरहेका थिए त्यस्तै दशौँ वा एघारौँ लहरमा।
"विमानमा प्रहरी आउँदा अनौठो लाग्यो। त्यसबेलासम्म त्यहाँ अपराध भयो होला भन्ने लागेन। तर पनि त्यहाँ सुरक्षाकर्मी थिए," नेझनेट्सले भने।
'नोविचोक विष दिइयो'
त्यसपछिका दुई दिन नभाल्नी ओम्स्क अस्पतालको अति विष लागेकालाई उपचार गर्ने विभागमा रहे। शुरूमा उनीहरूले नभाल्नीको अस्थिर अवस्था देखाउँदै जर्मनी लग्न अनुमति दिएनन्।
तर २२ अगष्टका दिन उनलाई बर्लिनको च्यारीटी क्लिनिकमा विमानमार्फत् लगियो । दुईदिन पछि जर्मन डाक्टरहरूले उनीहरूले गरेका परीक्षणबाट उनलाई विष दिइएको पाइएको बताए।
ओम्स्कमा रहेका डाक्टर र इमर्जेन्सी हस्पिटल नम्बर १ मा रहेका प्रमुख डाक्टर तथा प्रमुख विष विज्ञले उनीहरूको अन्तर्गत रहँदासम्म नभाल्नीको शरीरमा कुनै विषाक्त वस्तु नभेटिएको भनिरहे।
उनीहरूले भने, नभाल्नीलाई पाचन क्रियासँग सम्बन्धित 'मेटाबोलिक डिसअर्डर' भएको पनि हुन सक्छ।
बीबीसी रुसी सेवाले ओम्स्क स्वास्थ्य अधिकारीहरूसँग प्रतिक्रिया र नभाल्नीको अस्पताल बसाइको विस्तृत विवरण मागेपनि अहिलेसम्म त्यसको जबाफ प्राप्त गरेको छैन।
(आना पुशकार्स्काया, एलीना बर्दनिकोभा, टिमुर सजनोभ, एन्ड्रेइ सोशनिकोभ र कसेनिया चर्मानोभाको रिपोर्टिङ।)










