एलेक्सी नभाल्नी: 'विष खुवाइएका' विपक्षी नेतालाई जर्मनी लग्न 'एयर एम्बुलेन्स तयार'

नभाल्नी

तस्बिर स्रोत, Reuters

विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन्।

भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उनी सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो।

चिकित्सकहरूले उनी ओम्स्क सहरको एउटा अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको बताएका छन्।

एयर एम्बुलेन्स तयार

नभाल्नीको समूहले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको आशङ्का गरेका छन्।

उनका समर्थकहरूको त्यस्तो भनाइपछि जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छन्।

जर्मनीको पीस फाउन्डेशले नभाल्नीलाई लिन रुस जानको निम्ति एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाएको छ।

नभाल्नीलाई एम्बुलेन्समा राखिँदै

तस्बिर स्रोत, EPA

ब्रिटिश विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारलाई लिएर आफू गम्भीर रूपमा चिन्तित रहेको बताए।

राष्ट्रपतिका प्रवक्ता के भन्छन्?

राष्ट्रपति भ्लादिमिर पुटिनमा कट्टर आलोचक ४४ वर्षीय नभाल्नी उनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए।

उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई 'कु' र संविधानको उल्लङ्घनको संज्ञा दिएका थिए।

राष्ट्रपति पुटिनका प्रवक्ताले उनको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लग्न दिन तयार रहेको बताएका छन्।

तर त्यसको निम्ति केही परीक्षणको परिणाम कुर्नुपर्ने उनको भनाइ छ।