युक्रेन युद्ध: 'पुटिन लामो लडाइँको तयारीमा'- अमेरिकी गुप्तचर अधिकारीहरू

पुटिन

तस्बिर स्रोत, EPA

    • Author, जर्ज राइट
    • Role, बीबीसी न्यूज

अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन्।

उनीहरूका भनाइमा पुटिनले पूर्वी युक्रेनमा जित हासिल गरे भने पनि त्यहाँ द्वन्द्व अन्त्य हुने सम्भावना रहेको देखिएको छैन।

रुसले पूर्वी युक्रेनी भू-भाग कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी रहेका बेला उनीहरूको यस्तो चेतावनी आएको हो।

युक्रेनले उसको राजधानी किएभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ।

त्यसका बावजूद पनि रुसी सेनाले गतिरोध सामना गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ।

गुप्तचर संयन्त्रका राष्ट्रिय निर्देशक एभ्रिल हेन्सले मङ्गलवार अमेरिकी सिनेटको एउटा समितिमा भएको सुनुवाइका क्रममा त्यस्तो विवरण दिएकी हुन्।

पुटिनका बाध्यता

एभ्रिल हेन्स

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सिनेट समितिको सुनुवाइमा गुप्तचर अधिकारी

उनले पुटिनले "डोनबास क्षेत्रभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न" चाहेको तर "आफ्नो महत्वाकांक्षा र वर्तमान रुसी परम्परागत सैन्य क्षमताबीच बेमेल सामना गरिरहेको" बताइन्।

उनका भनाइमा रुसी राष्ट्रपतिले युक्रेनमा ईयू र अमेरिकाले दिइरहेको सहयोगको "सम्भवत:" मूल्याङ्कन गरिरहेको बताएकी छन्।

यद्यपि रुसी राष्ट्रपतिले युद्ध जारी रहँदा "थप कठोर माध्यम" प्रयोग गर्नसक्ने उनको भनाइ छ।

तर उनले रुसका लागि नै "अस्तित्वको खतरा" महसुस गरेको अवस्थामा मात्र पुटिनले परमाणु अस्त्रहरू प्रयोग गर्नसक्ने बताइन्।

पछिल्लो युक्रेनी दाबी

डिफेन्स इन्टलिजेन्स एजेन्सीका निर्देशक स्कट बेरियरले उक्त सुनुवाइका क्रममा रुसी र युक्रेनी दुवै "अलिकति गतिरोधमा रहेका थिए" भनेका छन्।

पछिल्लो लडाइँमा युक्रेनले पूर्वोत्तरको खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई विस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताए।

त्यस क्षेत्रमा युद्ध सुरु भएदेखि नै बमबारी भइरहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेना रोकिराखेको दक्षिण युक्रेनका गाउँहरू