युक्रेन युद्ध: पुटिनले युद्धको आधिकारिक घोषणा गरे भने के हुन्छ?

तस्बिर स्रोत, Getty Images
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मे ९ मा युक्रेनविरुद्ध युद्धको आधिकारिक घोषणा गर्न सक्ने मिडिया विवरण सार्वजनिक भएका छन्।
पश्चिमा अधिकारीहरूले पनि यसको आकलन गरेका छन्।
तर युद्धको औपचारिक घोषणाको वास्तविक अर्थ के हो र युद्धको लागि सैन्य सेना र आपूर्तिहरूको परिचालन कसरी हुनेछ?
रुसी सरकारले "विशेष सैन्य कारबाही" सञ्चालन गरिरहेको दाबी गरेको छ। युक्रेनमा भइरहेको उक्त कारबाहीको सन्दर्भमा "युद्ध" र "आक्रमण" शब्दहरू प्रयोग गर्न निषेध गरिएको छ।
'मे दिवसमा घोषणा हुने सम्भावना'
तर शब्दावली प्रयोगबारे परिवर्तन हुने अनुमानबीच, बेलायतका रक्षा मन्त्री बेन वालेसले एलबीसी रेडिओसँग भने, "मलाई लाग्छ उनी आफ्नो 'विशेष कारबाही'बाट अघि बढ्दै छन्। उनी 'हेर, यो नाजीहरू विरुद्धको युद्ध हो। मलाई थप रुसी तोप चाहिन्छ' भन्न तयारी गरिरहेका छन्।"
"उनले सम्भवतः यही मे दिवसमा 'हामी अहिले विश्वका नाजीहरूसँग युद्धमा छौँ' भन्ने घोषणा गर्न सक्छन्। तर यो कुराले मलाई आश्चर्यमा पार्दैन।"

तस्बिर स्रोत, Getty Images
अमेरिका भन्छ 'ठूलो विरोधाभास'
अमेरिकी अधिकारीहरूले पनि युक्रेनमाथि रुसको युद्धबारे उस्तै मूल्याङ्कन गरेका छन्। त्यहाँस्थित राज्य विभागका प्रवक्ता नेड प्राइसले यसै साता भनेका थिए, "यदि मस्कोले 'विजय दिवस' को अवसरमा युद्धको घोषणा गर्यो भने त्यो निकै विरोधाभासपूर्ण हुनेछ। त्यो घोषणाले उनीहरूलाई सेनामा भर्ती बढाउन लगाउँछ जुन तत्काल गर्न सक्दैनन्।"
सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै पुटिनले रुसको विजय दिवसमा युक्रेनमा आफ्ना उपलब्धिहरू घोषणा गर्न वा सैन्य कारबाही बढाउन वा दुवै घोषणा गर्न सक्ने जनाएको छ। यद्यपि, उसका अनुसार युद्धको घोषणाको सम्भावना सबैभन्दा उच्च रहेको उल्लेख गरिएको छ।
सीएनएनले युद्धको आधिकारिक घोषणाले युक्रेनमा सैन्य कारबाहीको लागि सार्वजनिक समर्थन पाउन सक्ने र हालको आवश्यकता अनुरूप रुसी सरकारलाई सेना परिचालन गर्न अनुमति दिनेछ।
क्रेमलिन: 'बकवास'
क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बुधवार सम्भावित घोषणाको बारेमा आएका विवरणहरूको बारेमा भन्यो,"यो खबर साँचो होइन। यो बकवास हो।"
कथित सैन्य विशेष कारबाही सुरु हुनुभन्दा तीन दिन अघि फेब्रुअरी २० मा पेस्कोभले युक्रेनमा रुसी सेनाले नियोजित ढङ्गमा गरेको आक्रमणबारे विवरणहरूले उत्तेजना फैलाएको बताए।
उनले भने, "याद राख्नुस् इतिहासमा रुसले कहिल्यै कसैमाथि आक्रमण गरेको छैन। र धेरै युद्धहरूको सामना गरेको रुस यस्तो युरोपेली देश हो जुन "युद्ध" शब्दको उच्चारण गर्न चाहँदैन।"

तस्बिर स्रोत, Getty Images
पोप फ्रान्सिसले, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले अप्रिल २१ मा भएको भेटमा, रुसी सरकारले मे ९ सम्ममा सैन्य कारबाही अन्त्य गर्ने योजना बनाएको बताएका छन्।
मार्च महिनाको सुरुवातमा पुटिनले सैन्य कानुन वा अन्य कुनै पनि आपत्कालीन अवस्था लागू गर्ने परिस्थिति नभएको बताएका थिए। उनले देशमा बाहिरबाट आक्रमण भएको अवस्थामा मात्र त्यसो हुने बताएका थिए।
'युद्धको अवस्था' र सैन्य कानुन
रुसले युद्धको औपचारिक घोषणा गरेपछि सैन्य कानुन लागु हुन सक्छ। यस प्रक्रियालाई कानुनमा व्याख्या गरिएको छैन तर त्यसमा युद्ध घोषणा हुनसक्ने अवस्थाहरूबारे उल्लेख गरिएको छ।
युद्धले केही हदमा सैन्य कानुन आकर्षित गर्छ। यद्यपि, यी कानुनी भाषामा यी दुई भिन्न विषय हुन्।
"युद्धको अवस्था"ले अन्तर्देशीय सम्बन्धलाई जनाउँछ भने "सैन्य कानुन" राज्य भित्रको विशेष कानुनी व्यवस्था हो।
रक्षा सम्बन्धी कानुनको धारा १८ मा "युद्धको अवस्था अर्को राज्य वा राज्यहरूको समूहद्वारा रुसमाथि सशस्त्र आक्रमण भएको स्थितिमा र रुसको अन्तर्राष्ट्रिय सम्झौताहरू पूरा गर्न आवश्यक परेको खण्डमा सङ्घीय कानुनमार्फत घोषणा गरिन्छ।"
अन्तर्राष्ट्रिय कानुन
युद्धको घोषणा सम्बन्धी अवधारणा अन्तर्राष्ट्रिय कानुनले समेट्छ।
सन् १९०७ मा हेगमा भएको सैनिक कारबाही सुरु गर्ने महासन्धिले पूर्व र स्पष्ट चेतावनीबिना सैन्य कारबाही सुरु गर्न नहुने बताइएको छ। त्यसो गरिएको खण्डमा त्यस्ता कारबाही युद्ध घोषणा गर्ने उद्देश्य वा युद्धको धम्कीको रूपमा बुझिने जनाइएको छ।
त्यसपछि देश युद्धको अवस्थामा पुग्नेछ।
रुसमा सैन्य कानुन रक्षा, परिचालन, सैन्य कर्तव्य र सैन्य सेवालगायत अरू धेरै वटा कानुनहरूद्वारा नियमन हुन्छ। यसले राज्यका सार्वजनिक जीवन, निकायहरू, अर्थव्यवस्था, व्यापार, सञ्चारमाध्यम, राजनीतिक नियन्त्रणलगायत अधिकांश क्षेत्रहरूलाई समेट्छ।

तस्बिर स्रोत, Getty Images
थप शक्ति
राष्ट्रपति र सरकारलाई अतिरिक्त कार्यकारी अधिकार दिइएको छ। ती अधिकार अन्तर्गत राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने, सभा-बैठकहरू निषेध गर्ने र अन्य गतिविधिमा रोक लगाउन सक्छन्। मानिसहरूको चहलपहल, विदेश यात्रा वा आवास परिवर्तन गर्ने कार्यहरूमा पनि प्रतिबन्ध लाग्न सक्छ।
कर्फ्यु जारी गर्न वा सेनाको आवश्यकता अनुरूप कुनै पनि समयमा आम मानिसहरूको सम्पत्ति जफत गर्न सकिन्छ।
अन्य धेरै सामग्रीसँगै हतियारको बिक्रीमा प्रतिबन्ध लगाउन सकिन्छ। यी प्रावधानहरू सैन्य कानुनको धारा ७ मा उल्लेख गरिएको छ।
सेना परिचालन
सैन्य कानुन अन्तर्गत सरकारले परिचालनको घोषणा गर्न सक्छ। यो आंशिक वा सामान्य खालको हुन सक्छ र यो देशको सबै भागमा नभई केहीमा घोषणा गरिन्छ। सैन्य कानुन घोषणा हुँदै सेना स्वतः खटाउने भने होइन। उनीहरूलाई परिचालन नगरी पनि कानुन लागु हुन सक्छ।
यो सेनामा डाकिएकाहरूसँग मात्र सम्बन्धित विषय भने होइन। सेना परिचालनले सरकार, उद्योग र समग्र अर्थतन्त्रलाई असर गर्छ।

तस्बिर स्रोत, Getty Images
आवश्यकता अनुसार खट्ने बल
परिचालनका लागि सबैभन्दा सशक्त ढङ्गमा तयारी गरेको पहिलो समूह, राज्यसँग विशेष सम्झौतामा हस्ताक्षर गर्नेहरू मिलेर बनेको छ। दोस्रो समूहमा सरकारी सेवा पूरा गरेकाहरू समावेश छन्। परिचालनको बेलामा बोलाइने केहीलाई उनीहरूको जागिर जोगिनेबारे सुनिश्चित पार्न सकिन्छ। यसले उद्योग र सरकारी निकायहरूमा हुने गतिविधिलाई निरन्तरता दिन मद्दत पुर्याउँछ।
युद्धको घोषणा र परिचालनले विज्ञहरूले रुसका लागि सङ्घर्षपूर्ण ठानेको कम्तीमा दुई वटा समस्याहरू समाधान गर्न सक्छ। युद्धमा खट्नेहरूको अभाव र युक्रेनको युद्ध क्षेत्रमा जान र लड्न सैनिकहरूले अस्वीकार गर्नु मुख्य समस्या हुन्।
पर्यवेक्षकहरूले अहिले युक्रेनमा रुसी आक्रमण सुस्त गतिमा विकास भइरहेको बताएका छन्। नाम नखुलाएका एक अमेरिकी रक्षा अधिकारीले रुसी सेनाले युक्रेनी सहर इजुम र पोपस्नाको पूर्वमा सामान्य उपलब्धि हासिल गरेको भए पनि उनीहरूको प्रगति "सुस्त र अमिल्दो" भएको बताए।
पेन्टागनले रुसी बलहरू जोखिमबाट जोगिन र आफ्नो सेनाबीच हवाई मार्फत र जमिनमा हुने हताहतीबाट बच्न प्रयास गरिरहेका छन्।
जागिरमा भर्ती
बेलायती र अमेरिकी अधिकारीहरूले रुसले युक्रेनविरुद्धको लडाइँमा आफ्नो सैन्य शक्तिको झन्डै दुई तिहाइ खटाएको बताएका छन्।
रुसलाई लड्नको लागि थप मानिस चाहिने अप्रत्यक्ष सङ्केत, त्यहाँको रक्षा मन्त्रालयले गत मार्चदेखि रोजगारी खोज्ने सम्बन्धी विभिन्न वेबसाइटहरूमार्फत थप कर्मचारीहरू आह्वान गर्नुमा देखिन्छ।.

तस्बिर स्रोत, Getty Images
सामाजिक सञ्जालमा सैन्य कानुन र सेना परिचालन हुन्छ या हुँदैन भन्ने विषयमा व्यापक चर्चा भइरहेको छ।
धेरै सैन्य विज्ञ र ब्लगरहरू पक्षमा छन्। सबैभन्दा जोसिलो समर्थकहरू मध्ये एक इगोर स्ट्रेलकोभ भनिने घिरकिन हुन्। उनी सन् २०१४ मा डोनबासमा भएको लडाइँमा सक्रिय भूमिका निर्वाह गरेका कारण प्रसिद्ध छन्।
सेना परिचालनको पक्षमा रहेकाहरू रुसले सेनाको सङ्ख्या नबढाएसम्म युक्रेनविरुद्ध युद्ध जित्न नसक्ने बताउँछन्। जबसम्म यो तिनीहरूको सङ्ख्या धेरै गुणा बढ्दैन।
अर्थतन्त्र
सैन्य कानुनले रुसको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ।
सङ्गठनहरूमा सैन्य कानुन कार्यान्वयन सम्बन्धी फरक नियमहरू छन्। उदाहरण को लागि, कम्पनीहरू आफूसँग भएको सम्पत्ति रक्षा आवश्यकताहरूको लागि उपलब्ध गराउन बाध्य छन्। ती सम्पत्तिको मूल्य तिर्न सरकार बाध्य छ।
सेनाको आपूर्तिका लागि नागरिकलाई कानुनको व्यवस्था अनुरूपमा काममा खटाइन्छ।
यदि युद्धको औपचारिक घोषणा गरियो भने रुसमा जीवनका धेरै पक्षहरू परिवर्तन हुन सक्ने देखिन्छ।









