युक्रेन-रुस तनावः पश्चिमा देशका प्रतिबन्धको सामना गर्न रुसको तयारी के छ

रुसी मुद्रा

तस्बिर स्रोत, Reuters

    • Author, क्रिस मोरिस
    • Role, विश्व व्यापार सम्वाददाता

रुसले यो क्षणको तयारीका लागि वर्षौँ बिताइसकेको छ।

सन् २०१४ मा युक्रेनबाट अलग भएको क्राइमियामा रुसले आफ्नो फौज पठाएसँगै उसले पहिलो चरणको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूका लागि उक्साएको थियो। तर उक्त कदमले मस्कोलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो।

त्यसपछि रुसले रक्षात्मक उपायहरू सिर्जना गर्दै गइरहेको छ। डलरको परनिर्भरता घटाउँदै गएको छ र प्रतिबन्धबाट क्षति नपुग्ने रुसी अर्थतन्त्रको विकास गरिरहेको छ।

पश्चिमा देशहरूले आकलन गरेभन्दा लामो समयसम्म प्रतिबन्ध सहन राष्ट्रपति पुटिनले बाजी थापिरहेका छन्।

अन्तर्राष्ट्रिय सञ्चिति

यसै वर्षको ज्यानुअरीमा सरकारको विदेशी मुद्रा र सुनमा गरी अन्तर्राष्ट्रिय सञ्चिति अहिलेसम्मकै उच्च ६ खर्ब ४० अर्ब अमेरिकी डलर बराबर बनाएको थियो।

यो विश्वमै चौथो ठूलो सबैभन्दा धेरै सञ्चित हो जसले रुसको मुद्रा रबललाई धान्न केही समयसम्म सहयोग गर्छ।

उल्लेख्य के छ भने पाँच वर्षअघि ४० प्रतिशत रहेको डलरसँग हुने रुसको मुद्रासटही अहिले १६ प्रतिशतमा झरेको छ।

उसको १३ प्रतिशत कारोबार चिनियाँ मुद्रा रेन्मिन्बीले ओगटेको छ। यी सबै अमेरिकी प्रतिबन्धबाट आफूलाई जोगाउन तयार गरिएको हो।

रुसी किल्ला

रुसी अर्थतन्त्रमा अरू परिवर्तनहरू पनि भएका छन्।

समयसँगै उसले विदेशी ऋण र लगानीमा आफ्नो निर्भरता घटाएको छ। उसले पश्चिमा बजारहरूभन्दा भिन्न र नयाँ ठाउँमा व्यापारका अवसरहरू खोजिरहेको छ।

अन्तराष्ट्रिय सञ्चिति

तस्बिर स्रोत, Getty Images

यो रणनीतिको ठूलो हिस्सा चीन हो। मस्कोको सरकारले अन्तर्राष्ट्रिय भुक्तानीको आफ्नै प्रणाली विकासका लागि प्रारम्भिक कदम अघि सारेको छ।

विश्वव्यापी आर्थिक सन्देश आदानप्रदानका लागि प्रयोग हुने 'स्विफ्ट' प्रणालीमा प्रमुख पश्चिमा ब्याङ्कहरूको निगरानी रहने गरेको छ।

सँगसँगै उसले आर्थिक वृद्धिभन्दा स्थायित्वलाई प्राथमिकता दिँदै आफ्नो बजेटको आकार पनि घटाएको छ। यसको अर्थ विगतको दशकमा रुसको अर्थतन्त्र हरेक वर्ष औसत एक प्रतिशतका दरले वृद्धि भएको छ। तर यो बढी आत्मनिर्भर भएको छ।

"रुसले के गरिरहेको छ भने पश्चिमा देशहरूले लगाउन सक्ने प्रतिबन्धसँग जुझ्न करिबकरिब वैकल्पिक वित्तीय प्रणाली नै विकास गरिरहेको छ," कोरिओलिस टेक्नोलोजिजका प्रमुख कार्यकारी रेबिका हार्डिङ भन्छिन्।

"तर केही समयकै लागि भए पनि उसलाई यसको पीडा त हुन्छ नै। अर्को जोखिम भनेको के हो भने उनीहरूको विश्वभरि सञ्जाल एकदमै पातलो छ।"

रणनीतिक चासो

मस्कोका लागि त्यो खतरनाक खेल हुनसक्छ। सरकारी ब्याङ्कसहित मुख्य रुसी ब्याङ्कहरूमाथिको प्रतिबन्धले चोट पुर्‍याउन सक्छ।

तर पुटिनले अमेरिका, यूके र युरोपेली सङ्घका केही भिन्न रणनीतिक चासो सम्बोधन गर्नुपर्नेबारे हिसाबकिताब गरिरहेका हुन सक्छन्।

केही देशलाई अरू देशभन्दा रुसी तेल र ग्यास उद्योगमा प्रतिबन्ध लगाउन सहज छ। उदाहरणका लागि युरोपेली सङ्घले आपूर्ति गर्ने प्राकृतिक ग्यासको ४० प्रतिशत हिस्सा रुसबाट आउँछ भने यूकेले जम्मा तीन प्रतिशत आपूर्ति मात्रै रुसबाट गर्छ।

'नोर्ड स्ट्रिम २' पाइप लाइनलाई केही समय नचलाउने जर्मनीको निर्णयले रुसलाई असर गर्न सक्छ, तर त्यसको प्रत्यक्ष प्रभाव पश्चिमी युरोपको ऊर्जाको मूल्यमा पर्न सक्छ।

कुलीन वर्गमाथि निशाना

रुसी सेना

तस्बिर स्रोत, EPA

उच्च आम्दानी भएका केही कुलीन व्यक्तिमाथि निशाना बनाउँदा समग्र देशको अर्थतन्त्रमा लगाइएको प्रतिबन्धभन्दा ठूलो प्रभाव हुन्छ?

राष्ट्रपति पुटिनले आफ्नो नाममा विदेशमा पैसा र सम्पत्ति राख्दैनन्। उच्च धनाढ्य केही व्यक्तिको सञ्जालले उनको सम्पत्तिको व्यवस्थापन गरिदिन्छ।

"उनीहरूविरुद्ध सन् २०१४ बाटै केही प्रतिबन्ध कायम छन् तर ती धेरै हदसम्म गएका छैनन् उनीहरूलाई नै निशाना बनाएर प्रतिबन्ध लगाइए मात्रै परिवर्तन देखिन सक्छ," लन्डन स्कुल अफ इकोनोमिक्सकी प्राध्यापक तोमिला लन्किन भन्छिन्।

यूकेको सरकारले केही निश्चित व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। तर भ्रष्टाचारविरुद्ध काम गरिरहेको ट्रान्सपरेन्सी इन्टरन्याश्नलका अनुसार सन्दिग्ध पैसामा कर टुट हुने देशहरूबाट भित्रिएको एक अर्ब ५० करोड रुसी लगानीबाट लन्डनमा मात्रै सम्पत्ति खरिद गरिएको छ।

पश्चिमा देशहरूले पछिल्ला केही दिनयता घोषणा गरिएका प्रतिबन्धहरू उनीहरूले चाल्न सक्ने सम्भावित कदमका केही प्रारम्भिक चरणहरू मात्रै भएको बताएका छन्।

तर पश्चिमा देशहरूले चाल्ने कदमका कारण रुस बाटो बदल्न बाध्य होला?

प्रतिबन्धको असर निश्चय नै भए पनि रुसजस्तो ठूलो अर्थतन्त्रमा त्यसलाई प्रभावकारी बनाउन पश्चिमा देशहरूले धेरै मेहनत गर्नुपर्ने हुन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?