युक्रेन युद्ध: रुसी बम विद्यालयमा खस्दा ६० भन्दा बढी मारिएको हुनसक्ने आशङ्का

युक्रेन

तस्बिर स्रोत, Reuters

पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिवार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने स्थानीय गभर्नरले जनाएका छन्।

लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए।

डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो।

गभर्नर सेरही हाइडाईका अनुसार रुसी गोलाबारीले नजिकैका अन्य दुई शहरमा विद्युत् आपूर्ति बन्द भएको छ।

उक्त विद्यालय भवनमा ९० जना भन्दा बढीले आश्रय लिइरहेको बताइएको छ।

बम हमलापछि उक्त विद्यालयबाट ३० जनालाई उद्धार गरिएको भनिएको छ जसमा सात जना गम्भीर अवस्थामा छन्।

गभर्नर हाइडाइले शनिवार रुसले विद्यालय भवनमा बम खसालिदिएको बताए।

बीबीसीले उक्त आरोपको पुष्टि गर्न सकेको छैन। यसबारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन।

घेराबन्दीमा रहेको स्टिल उद्योगबाट बाहिरिए सर्वसाधारण

यसअघि रुस र युक्रेनले घेराबन्दीमा रहेको मारिऊपोल सहरस्थित एजोभस्टाल स्टिल उद्योगबाट महिला, बालबालिका र वृद्धवृद्धा सबैलाई अन्यत्र लैजाँदै गरिएको घोषणा गरेका थिए।

संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको समन्वयमा उक्त कार्य एक साताअघि सुरु भएको थियो। तर यी निकायहरूले भने यो पछिल्लो उद्धार गरिँदै गरेकोबारे पुष्टि गरेका छैनन्।

रुसको नियन्त्रणमा नरहेको सहरको अन्तिम भागमा पर्ने स्टिल उद्योगमा भारी बमबारी भइरहेको छ र युक्रेनी फौजहरू कठिन परिस्थिति हुँदाहुँदै पनि लडिरहेका छन्।

सर्वसाधारणलाई अन्यत्र लैजाने काम संयुक्त राष्ट्रसंघ र रेडक्रसले गरिरहेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सर्वसाधारणलाई अन्यत्र लैजाने काम संयुक्त राष्ट्रसंघ र रेडक्रसले गरिरहेका छन्

रुसले हप्तौँदेखि घेराबन्दीमा राखेको उक्त उद्योगमा एजोभ बटालियनबाट प्रतिरक्षकहरूले आत्मसमर्पण गरुन् भन्ने रुसले माग गर्दै आएको छ।

उद्धार गरेर अन्यत्र लगिन लागेकाहरू अहिले कहाँ छन् भन्ने स्पष्ट छैन।

तर युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारबाहीको यो हिस्सा अहिलेलाई सकिएको बताएकी छन्।

विगतमा युक्रेनको नियन्त्रणमा रहेको भूभागमा उद्धार गरिएकालाई पुर्‍याउन थुप्रै दिन लागेको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३०० भन्दा बढी सर्वसाधारणलाई स्टिल उद्योगबाट उद्धार गरिएको बताएका छन्। जबकी रुसी रक्षा मन्त्रालयले भने तीन दिनको अवधिमा ५१ जनाको मात्रै उद्धार गरिएको जनाएको छ।

जेलेन्स्कीले मारिऊपोलमा रहेका सेनालाई बाहिर ल्याउनका लागि कूटनीतिक प्रयासहरू जारी रहेको बताएका छन्।

मारिऊपोल, मार्च २०

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युद्धमा मारिऊपोलको धेरै भाग ध्वस्त भएको छ

अब के?

line

लउरा बिकरको विश्लेषण, बीबीसी न्यूज, जापोरिझिया

एजोभस्टाल कम्प्लेक्सभित्र रहेका युक्रेनी लडाकुले सामाजिक सञ्जालमा जारी गरेको एउटा विज्ञप्तिमा आफूहरू र रुसीहरूले सर्वसाधारणलाई बाहिर पठाउन सेता झन्डा प्रयोग गरेको जनाएका थिए।

त्यसले दुईपक्षबीच प्रगति भइरहेको र सम्झौताहरूले जीवन रक्षा गरिरहेको जस्तो भान दियो।

यद्यपि युद्ध विरामको प्रतिबद्धता गरिएको भए पनि क्रेमलिन समर्थित फौजले पछिल्ला दिनहरूमा स्टील उद्योगमा कारबाही सघन बनाएको बताइएको छ।

यसअघिको संयुक्त राष्ट्र सङ्घ र रेड क्रसको कारबाहीका कारण भूमिगत बारुद र मोर्टार प्रहारका कारण फसिरहेका १०० जनाभन्दा बढी मानिसहरूलाई त्यहाँबाट मुक्त गर्न सकिएको थियो।

अब नागरिकहरू मुक्त भएका छन्। त्यसैले युक्रेनी सरकारमाथि २,००० लडाकुहरू मुक्त गर्न दबाव बढेको छ। ती लडाकुहरूले मारिऊपोल शहरको रक्षार्थ कहिल्यै आत्मसमर्पण नगर्ने प्रतिज्ञा गरेका थिए।

उनीहरूका परिवारले उनीहरूको मुक्ति सुरक्षित रुपमा गर्न आग्रह गर्दै आएका छन्।

line

विजयोत्सव नहुने

यसैबीच रुसले मारिऊपोलमा विजयोत्सवका कार्यक्रम नहुने बताएको छ।

दोस्रो विश्व युद्धमा सोभियत सङ्घको विजयको स्मरण गर्दै भीक्ट्री डे अर्थात् जितको दिन हरेक वर्ष मे ९ तारिखमा मनाउने गरिन्छ।

"एउटा समय आउनेछ र त्यहाँ हामी विशाल उत्सव मनाउने छौँ," दिमित्री पेस्कोभले पत्रकारहरूलाई त्यस दिन मारिऊपोलमा औपचारिक भ्रमणको योजना नरहेको जानकारी दिलाउँदै भने।

यस समयमा खार्किभ क्षेत्रमा सघन लडाइँ जारी छ र युक्रेनी फौजले उक्त क्षेत्र रुसीहरूको नियन्त्रणबाट फिर्ता लिने प्रयत्न गरिरहेका छन्।

युक्रेनको सशस्त्र फौजले शनिवार देशको दोस्रो ठूलो शहरको पाँच गाउँहरू आफ्नो नियन्त्रणमा फिर्ता ल्याएको जनाएका छन्।

विश्लेषकहरू भन्छन् युक्रेनी कारबाही सफल हुँदै गइरहेको देखिन्छ। खार्किभमा २४ फेब्रुअरीमा सुरु भएको रुसी अतिक्रमण यता चर्को गोलाबारी भइरहेको छ।