युक्रेन युद्ध: फ्रान्सका राष्ट्रपतिका अनुसार ईयूमा सामेल हुन किएभलाई 'दशकौँ लाग्ने'

युक्रेन

तस्बिर स्रोत, Reuters

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनलाई युरोपेली सङ्घ ईयूमा स्वीकार्न दशकौँ लाग्ने बताएका छन्।

ईयूको संसद्लाई सम्बोधन गर्दै उनले ईयूको साटो समानान्तर "युरोपियन कम्युनिटी"मा सामेल हुन युक्रेनलाई सुझाव दिए।

युक्रेन उक्त निर्णयको पर्खाइमा रहेको छ।

माक्रोँका भनाइमा उक्त कम्युनिटीमा सहभागी भएपछि गैरईयू सदस्यहरूलाई युरोपको सुरक्षा संरचनामा अन्य तरिकाबाट सामेल हुन अनुमति दिनेछ।

पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भयङ्कर लडाइँ जारी रहेका बेला माक्रोँको त्यस्तो भनाइ आएको हो।

उक्त क्षेत्रमा रुसले लाभ उठाउन खोजिरहेको छ।

एकजना वरिष्ठ अमेरिकी रक्षा अधिकारीले रुसले उक्त क्षेत्रमा रुसले गरेको विस्तारलाई खासै धेरै विस्तार नरहेको भनेका छन्।

लुहान्स्क क्षेत्रका एकजना युक्रेनी नेताले त्यहाँ गम्भीर लडाइँ भइरहेको बताएका छन्।

माक्रोँ

तस्बिर स्रोत, EPA

रुसले आक्रमण सुरु गरेको चार दिनपछि युक्रेनले गत फेब्रुअरीमा ईयूमा सामेल हुन आवेदन दिने प्रक्रिया सुरु गरेको थियो।

"हामी सबैलाई राम्ररी थाहा छ [युक्रेनलाई] सामेल हुन अनुमति दिने प्रक्रियामा वास्तवमा धेरै वर्ष लाग्ने छ, सायद धेरै दशकहरू," माक्रोँले भने।

"यो तबसम्मको सत्य हो- जबसम्म हामीले यसमा सामेल हुने मापदण्डहरूलाई सहज बनाउँदैनौँ र युरोपेली एकतामा पुनर्विचार गर्दैनौँ।"

माक्रोँले युक्रेनको आवेदनलाई चाँडै टुङ्ग्याउनका लागि ईयूको सदस्यताका लागि तय गरिएका कडा मापदण्डहरूलाई निलम्बन गर्नुको सट्टा "समानान्तर युरोपियन कम्युनिटी"बारे विचार गर्नु पर्ने बताए।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लाइनले जुनमा युक्रेनको सदस्यताका लागि ईयूको कार्यकारीले प्रारम्भिक राय प्रकाशित गर्ने घोषणा गरेपछि माक्रोँको उक्त भनाइ आएको हो।

सोमवार किएभका अधिकारीहरूले युक्रेनले आफ्नो ईयू सदस्यता आवेदनको दोस्रो भाग ब्रसल्समा बुझाएको जनाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेना रोकिराखेको दक्षिण युक्रेनका गाउँहरू