युक्रेन युद्ध: पुटिनको कदमलाई लिएर मस्कोका एक कूटनीतिज्ञले दिए राजीनामा

तस्बिर स्रोत, BORIS BONDAREV
- Author, फ्लोरा ड्रुरी
- Role, बीबीसी
एकजना रुसी कूटनीतिज्ञले "पुटिनले थालेको युक्रेनविरूद्धको" युद्धलाई "रक्तपातपूर्ण, औचित्यहीन" बताउँदै त्यसको विरोधमा आफ्नो जागिर त्यागेका छन्।
"लिङ्कडइन" को खातामा उनको परिचय जिनिभास्थित रुसको राष्ट्रसङ्घीय नियोगमा कार्यरत भनेर लेखिएको बोरिस बोन्डरेभले बीबीसीसँग कुरा गर्दै उक्त निर्णयले गर्दा क्रेमलिनले आफूलाई देशद्रोही ठान्नसक्ने थाहा भएको बताएका छन्।
तर उनी आफ्नो धारणामा अडिग छन् जसले सो युद्धलाई "युक्रेनी नागरिकहरू र रुसी जनताहरू विरूद्धको अपराध" बताएका छन्।
मस्कोले त्यसबारे प्रतिक्रिया जनाइसकेको छैन।
पद छाड्दै बोन्डेरेभले के भने?
मस्कोले युद्धका बिषयमा सरकारको धारणाभन्दा फरक वा त्यसको आलोचना गर्नेहरूलाई कारबाही गर्ने क्रम थालेको छ।
युक्रेनमा थालेको लडाईँलाई रुसले "एउटा विशेष सैन्य कारबाही" मात्र भन्ने गरेको छ।
सामाजिक सञ्जालमा राखिएको र अन्य कूटनीतिज्ञहरूले सेअर गरेको उक्त पत्रमा बोन्डरेभले २० वर्षदेखिको सेवा अन्त्य गर्ने कामको व्याख्या गर्दै त्यसको "अब आफूले रक्तपातपूर्ण, तर्कहिन र नितान्त अनावश्यक कलङ्कमा भाग नलिने" बताए।
"जसले यस युद्धबारे कल्पना गरे उनीहरूले एउटै कुरा चाहे- सत्तामा सँधैभरी रहन," उनले लेखेका छन्।
"त्यो हासिल गर्नका लागि उनीहरू जति पनि मानिसहरूको ज्यान लिन तयार छन्," उनले थप लेखेका छन्।
"यसैका लागि हजारौँ रुसी र युक्रेनीहरूले ज्यान गुमाइसकेका छन्।"
'निकै दुर्लभ'
उक्त पत्रले रुसको विदेश मन्त्रालयलाई कूटनीतिभन्दा "झुट र घृणामा" बढ्ता रुची देखाएको आरोप लगाएको छ।
कूटनीतिज्ञ बोरिस बोन्डरेभले राष्ट्रपति पुटिन, विदेशमन्त्री सर्गेई लाभरोभ र युक्रेनमाथिको रुसी हस्तक्षेपबारे आलोचना गर्न छाडेनन्।
बीबीसीका रुस सम्पादक स्टिभ रोजनवर्ग भन्छन्, "रुसी अधिकारीहरूबाट यस्ता शब्द सुन्नु निकै दुर्लभ हो।"
के यसले रुसी अधिकारीहरूलाई लज्जित बनाएको छ? पक्कै पनि छ।
स्टिभ रोजनवर्ग थप्छन्, "उनीहरूले यहाँको राज्य संयन्त्र राष्ट्रपति पुटिनको युक्रेन अतिक्रमणको पक्षमा छ भन्ने देखाउन चाहन्छन्। "










