युक्रेन युद्ध: युक्रेनद्वारा रुसी सिपाहीविरुद्ध पहिलो युद्ध अपराध मुद्दा दायर

तस्बिर स्रोत, Reuters
युक्रेनले रुसी अतिक्रमण शुरू भए यता पहिलो युद्ध अपराध सम्बन्धी मुद्दाको सुनुवाइ शुरू गरेको छ। अदालतमा उपस्थित गराइएका २१ वर्षीय रुसी सिपाहीलाई निःशस्त्र सर्वसाधारणको हत्या गरेको आरोप लगाइएको छ।
भदिम शिशिमरिन किएभमा भएको एउटा प्रारम्भिक सुनुवाइमा उपस्थित भएका छन्। यदि दोषी ठहरिएमा उनलाई जन्मकैद हुनेछ।
युक्रेनले रुसीहरूले गरेका हजारौँ युद्ध अपराध पत्ता लगाएको बताएको छ।
रुसले सर्वसाधारणलाई निशाना बनाएको अस्वीकार गर्छ र युद्ध अपराधबारे हुन लागेको सुनुवाइमाथि कुनै प्रतिक्रिया जनाएको छैन।
अभियोजनकर्ताहरूले अभियुक्त शिशिमरिनले अरू सिपाहीहरूसँग उत्तर पूर्वी सुमी क्षेत्रमा एउटा चोरेको सवारी साधन हाँकिरहेका बेला ६२ वर्षीय साइकल चालकलाई फोन प्रयोग गरिरहेका बेला उनीहरूको जम्काभेट भएको बताएका छन्।
अभियोजनकर्ताहरूका अनुसार युक्रेनी फौजलाई आफूहरूबारे जानकारी दिन रोक्न उनीमाथि गोली हान्न आदेश दिइएको थियो।
उनलाई कसरी पक्राउ गरियो र उनी विरुद्धको प्रमाणहरू कस्ता छन् भन्ने प्रस्ट भइसकेको छैन।
शिशिमरिनले आफ्नो नाम लगायतका कुराहरू भन्नेबारे मुख खोलेका छन्।
अहिलेसम्म उनले आफ्नो बयान दिइसकेका छैनन् र मुद्दा अर्को हप्ता पुन: अदालतमा प्रस्तुत हुनेछ।
रुसले यसअघि नियन्त्रणमा लिएको यो क्षेत्रमा सयौँ शवहरू फेला परेका छन्।
युक्रेनका समर्थक मुलुकहरू जस्तो कि यूके र अमेरिका लगायतले रुसले युक्रेनमा जातिवादी हत्या गरेको आरोप लगाएका छन्।
सुनुवाइपछि अभियोजनकर्ता एन्ड्री सिनयुकले रोयटर्सलाई भने, "आज यो पहिलो मुद्दा हो, अब छिटै यस्ता थुप्रै मुद्दाहरू हुनेछन्।"








