नेपाली कांग्रेसमा सहमति जुटाउने प्रयास विफल, केन्द्रीय समितिको बैठक सुरु

तस्बिर स्रोत, AFP via Getty Images
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली कांग्रेसमा सबैलाई स्वीकार्य हुने गरी सहमति गर्ने प्रयास विफल भएपछि पार्टीको संस्थापन र दुई महामन्त्रीको अग्रसरतामा विशेष महाधिवेशन आयोजना गरिरहेको पक्षले अब आफ्नै किसिमले प्रक्रिया अगाडि बढाउने बताएका छन्।
काठमाण्डूको भृकुटीमण्डपमा विशेष महाधिवेशन बुधवार नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्दा संस्थापन पक्षले ललितपुरको सानेपास्थित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
सभापतिमा गगन थापाको मात्र र महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
अर्कोतर्फ संस्थापन पक्षले केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर महामन्त्रीद्वयमाथि कारबाही गर्न सक्ने बुझिएको छ।
सभापति शेरबहादुर देउवा एवं महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बुधवार बिहान भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको नेता मधु आचार्यले बीबीसीलाई बताए।
केन्द्रीय समितिको बैठकमा बोल्दै देउवानिकट नेता रमेश लेखकले छलफलबाट सफलता हात नलागेको बताएको सार्वजनिक भएको छ। शेखर कोइरालानिकट ठानिएका नेता मीनेन्द्र रिजालले आफूहरूले महामन्त्रीद्वयको जबाफ कुरेको बीबीसीलाई बताएका थिए।
मङ्गलवार साँझ बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले अर्का गगन थापालाई पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्रीको रूपमा अघि सार्ने सङ्केत गरेका थिए।
'देउवा पछि हटे'

तस्बिर स्रोत, NurPhoto via Getty Images
वार्ता प्रक्रियामा संलग्न रहँदै आएका नेता आचार्यले बुधवारको वार्तामा सभापति देउवा सहमति भइसकेका विषयबाट पनि पछि हटेको बताए।
यसअघि संस्थापन पक्षका नेताहरूसँग मङ्गलवार भएको वार्तामा आचार्य स्वयं पनि सहभागी भएका थिए।
"विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्ने र बन्दसत्रबाट पारित दस्तावेजहरूलाई परिमार्जनसहित स्वीकार्ने विषयमा हामीले हिजो [मङ्गलवार] सहमति गरिसकेका थियौँ। तर त्यसबाट पनि आज [बुधवार] उहाँ ब्याक हुनुभयो," बीबीसी न्यूज नेपालीसँग उनले भने।
तर सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवानिकट नेता एवं कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टिकटमा आफ्नो हस्ताक्षर फिर्ता लिनेबारे "लचिलो" भएको बताएका छन्।
"देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताउनुभयो," उनले भने।
देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताउनुभयो
विशेष महाधिवेशन पक्षधर नेता आचार्यले भने संस्थापन पक्ष "सहमतिको वातावरण बिगार्न उद्यत देखिएको" आरोप लगाए।
"उहाँहरू विखण्डनमा जाने स्पष्ट देखिएको छ। उहाँहरू मिलेरै जाने देखिएन," उनले भने।
जारी विशेष महाधिवेशनमा बाधा पुर्याउने र अल्झाउने नियत संस्थापन पक्षको देखिएको पनि उनले आरोप लगाए।
संस्थापनपक्ष पार्टीबाट निकाल्ने हदसम्म गएमा राजनीतिक रूपमा त्यसको सामना गर्ने आचार्यले बताए।
"विशेष महाधिवेशन भनेको पार्टीको सर्वोच्च निकाय हो। सर्वोच्च निकायले गर्ने निर्णय आधिकारिक कांग्रेसको हुन्छ," उनले थपे।
'बुधवार आयोग जाने'

तस्बिर स्रोत, RSS
नेता आचार्यका अनुसार आवश्यक कागजपत्रसहित विशेष महाधिवेशन पक्षधर बुधवार नै निर्वाचन आयोग जाने सम्भावना छ।
"आवश्यक प्रक्रियाहरू पूरा गरेर हामी आजै निर्वाचन आयोग जान्छौँ। किनकि आयोगमा अद्यावधिक गर्नुपर्ने हुन्छ," उनले भने।
संस्थापनपक्षसँग विवाद मिलाउने प्रयास जारी रहँदा महामन्त्रीद्वय कानुनी परामर्शमा पनि जुटेको विवरणहरू आएका छन्।
संस्थापनपक्षका नेताहरूले जारी विशेष महाधिवेशनको वैधतामाथि प्रश्न गर्दै आएका छन्।
केन्द्रीय कार्यसमितिको कार्यकाल जेठ मसान्तमा सक्ने हुँदाहुँदै विशेष महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्व वैध नहुने नेता मीनबहादुर विश्वकर्माको दाबी छ।
पार्टीले आधिकारिक निर्णय नगरी महामन्त्रीद्वयको परामर्शमा मात्र विशेष महाधिवेशन डाकिएको उनको भनाइ छ। संस्थापनपक्षले त्यसलाई एउटा भेला मान्न सकिने जनाएको छ।
तर विशेष महाधिवेशन पक्षधर नेताहरूले विधानसम्मत ढङ्गले नै त्यो डाकिएको बताउँदै आएका छन्।
"यो विशेष महाधिवेशनसँगै यही नेपाली कांग्रेस चाल, चेहरा, चिन्तन र चरित्रका हिसाबले नयाँ कांग्रेस भएर निस्किने छ," नेता आचार्यले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








