ब्रिट्नी ग्राइनर: रुसमा पक्राउ परेकी बास्केटबल खेलाडीको रिहाइका लागि अमेरिकाको लेनदेन प्रस्ताव

ब्रिट्नी ग्राइनर

तस्बिर स्रोत, Reuters

रुसमा पक्राउ परेकी ओलम्पिक विजेता अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको छ।

दुई पटक ओलम्पिक विजेता ग्राइनरले गाँजाको तेल बोकेको पाइएपछि लागूपदार्थ तस्करीको अभियोगमा रुसमा नौ वर्ष जेल सजाय तोकिएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले "गम्भीर प्रस्ताव" गरेको बताए पनि त्यसबारे थप खुलाएका छैनन्।

अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकाले पक्राउ गरेका रुसी हतियार तस्करसँग उनलाई साटफेर गर्न प्रस्ताव गरिएको हुनसक्ने उल्लेख गरेका छन्।

"मृत्युका व्यापारी" भनेर चिनिने भिक्टर बाउटले अमेरिकामा २५ वर्ष जेल सजाय भुक्तान गरिरहेका छन्।

अमेरिकाले उनलाई ग्राइनर र पूर्व अमेरिकी नौसैनिक पल विलनको सट्टामा रुसलाई हस्तान्तरण गर्न सक्ने विवरणहरू आएका छन्।

अमेरिकी, ब्रिटिश, क्यानेडियन र आइरिश पासपोर्ट बोक्ने विलनलाई जासुसी गरेको आरोपमा रुसले सन् २०२० मा १६ वर्ष जेल सजाय तोकेको थियो।

किर्वीले दुवै जनालाई गलत तरिकाले पक्राउ गरिएको भन्दै रिहा हुनुपर्ने बताएका थिए।

अमेरिकी प्रस्तावबारे उनले भने, "त्यो स्वीकार गर्न उनीहरूलाई हाम्रो आग्रह छ। हामीले पहिलो पटक हप्तौँअघि गरेको प्रस्ताव नै उनीहरूले मान्नुपर्थ्यो।"

रोएटर्स समाचार संस्थाका अनुसार रुसले कैदी साटफेर प्रस्तावमा हत्या अभियोगमा जर्मनीको जेलमा रहेका आदिम क्रसैकोभलाई पनि रिहा गर्ने माग अघि सार्न सक्छ।

यसबारे सोधिएको प्रश्नमा किर्वीले भने, "हामी यसलाई प्रतिप्रस्ताव भन्ने हदसम्म पुग्छौँ जस्तो लाग्दैन।"

ब्रिट्नी ग्राइनर

तस्बिर स्रोत, Getty Images

३१ वर्षकी ग्राइनरले अदालतलाई आफूले "इमानदार गल्ती" गरेको र कानुन उल्लङ्घन गर्ने नियत नभएको बताएकी छन्।

विश्वकै उत्कृष्ट महिला खेलाडीको पहिचान बनाएकी ग्राइनर गत फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलबाट गाँजाको तेल भरिएको धूमपान गर्ने विद्युतीय उपकरणसहित पक्राउ परेकी थिइन्।

उनी अमेरिकी अफ सिजनमा बास्केटबल खेल्न रुस आएकी थिइन्।

उनको पक्राउ लगत्तै रुसले युक्रेनमाथि हमला गर्‍यो र उनको मुद्दा अमेरिका र रुसबीच उच्च तहको कूटनीतिक मामिला बन्यो।

उनका वकिलहरूले रुसी अदालतको फैसलाविरुद्ध पुनरावेदनमा जाने बताएका छन्।

उनको फोनिक्स मर्करी टिमका अन्य खेलाडीहरूले उनीप्रति ऐक्यबद्धता जनाउँदै बिहीवार ४२ नम्बर जर्सी लगाउने ग्राइनरको नाममा ४२ सेकेन्ड मौन धारण गरे।

अमेरिकी राष्ट्रपति जो बाइडनले उनलाई दिइएको सजाय "अस्वीकार्य" भनेका छन्।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले यो घटनाले देशबाहिर यात्रा गर्ने र काम गर्नेहरूमाथि गैरकानुनी पक्राउको जोखिम बढाएको बताए।

ब्लिङ्कनले गत साता रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभसँग पनि यस विषयमा कुरा गरेका थिए।

हाल दक्षिणपूर्वी एशियाली देशहरूको बैठकमा कम्बोडियामा रहेका उनीहरूबीच प्रत्यक्ष भेटवार्ता पनि हुने ठानिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आप्रवासन: अमेरिकी सपनाका लागि ज्यानै जोखिममा