युक्रेन युद्ध: रुसी आक्रमणमा युक्रेनका धनाढ्य निर्यातकर्ता व्यापारी मारिए

तस्बिर स्रोत, NIBULON
युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारी, रुसको "भयानक" बमबारीमा श्रीमतीसहित मारिएका छन्।
दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन्।
अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले "हिरो अफ युक्रेन" उपाधि समेत पाएका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट ठूलो क्षति भएको बताएका छन्।
मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन्।
बमबारीका कारण होटेल, खेलकुद भवन, दुईवटा विद्यालय र सेवा केन्द्रसहित घरहरूमा क्षति पुगेको छ।
मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ। ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह रहेको ओडेसामा गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता बारम्बार बमबारी भएको छ।
उक्त क्षेत्रका नेताले भाडातुर्सकीको व्यापार र कृषिमा ठूलो योगदान रहेको बताएका छन्।
राष्ट्रपति जेलेन्सकीको कार्यालयका एक जना सल्लाहकारले उनलाई नियोजित रूपमा लक्षित गरिएको आफूलाई लागेको बताएका छन्।
मिखाइलो पोडोलियाकले एउटा क्षेप्यास्त्रले मारिएका व्यापारीको शयन कक्षमा प्रहार भएको र यसले उनीमाथिको आक्रमण नियोजित भएकोमा "कुनै शङ्का बाँकी नरहेको" बताएका छन्।

तस्बिर स्रोत, RAZVOZHAYEV/TELEGRAM
निबुलोनले भण्डारणका सुविधाहरू निर्माण गर्नुका साथै अन्न निर्यातका लागि आवश्यक अन्य पूर्वाधार बनाएको छ।
युक्रेन र रुस गहुँ बालीको मुख्य निर्यातकर्ता हुन् र युद्धका कारण यी देशबाट निर्यात अवरुद्ध हुँदा विश्वभरी खाद्यान्नको मूल्यवृद्धि भएको छ।
संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा दुई देशले गत साता अन्न निर्यात गर्ने सम्झौता गरेको एक दिनपछि एक मुख्य युक्रेनी बन्दरगाह सहरमा ओडेसामा रुसी आक्रमण भएको थियो।
सुरक्षा जाँचका कारण पनि युक्रेनी निर्यात थप ढिलो भएको छ।
तर आइतवार टर्कीले अन्न बोकेको पहिलो पानीजहाज सोमवार बिहानै ओडेसाबाट बाहिरिने जनाएको छ।
युक्रेनले रुसी नियन्त्रणमा रहेका खेतहरूबाट अन्न चोरेर क्राइमियाको बाटो हुँदै निर्यात गरेको आरोप रुसमाथि लगाएको छ। तर रुसले यस्तो आरोप अस्वीकार गरेको छ।
रुसको जल सेना दिवसमा धक्का
यसैबीच रुसले सन् २०१४ मा कब्जा गरेको क्राइमियामा मनाउन लागेको जल सेना दिवस स्थगित गरेको छ।

तस्बिर स्रोत, MYKOLAIV REGIONAL PROSECUTOR'S OFFICE
ब्ल्याक सी क्षेत्रमा युक्रेनको ड्रोन आक्रमणका कारण उक्त कार्यक्रम रद्द गरिएको स्थानीय गभर्नरले बताएका छन्।
रुस नियन्त्रित क्राइमियाका एक जना सांसदले ड्रोन हमलाका दोषीको खोजी भइरहेको बताएका छन्। तर युक्रेनी अधिकारीहरूले भने रुसको दाबीलाई "उत्तेजना" फैलाउने काम भनेका छन्।
यसअघि अप्रिलमा रुसी सेनाको महत्त्वपूर्ण पानीजहाज मस्क्भा युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण ब्ल्याक सीमा डुबेको थियो।
यसैबीच युक्रेनको उत्तरी सहर खार्किभमा पुन रुसी क्षेप्यास्त्रहरू प्रहार भएको त्यहाँका मेयरले बताएका छन्।
रुसले प्रहार गरेको क्षेप्यास्त्रले एक विद्यालयको मुख्य भवन ध्वस्त भएको उनले बताएका छन्। पछिल्ला विवरणहरू बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।








