युक्रेन युद्ध: 'युक्रेनी बमबारीका कारण डोनेट्स्क क्षेत्रमा ४० जना युद्धबन्दी मारिए'

सेना

तस्बिर स्रोत, Reuters

रुसका रक्षामन्त्रीले पृथकतावादीको नियन्त्रणमा रहेको डोनेट्स्क क्षेत्रमा युक्रेनीहरूले बमबारी गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको बताएका छन्।

अधिकारीहरूले ओलेनिभ्कास्थित बन्दी शिविरमा भएको रकेट हमलामा अन्य ७५ जना घाइते भएको बताएका छन्।

युक्रेनको सेनाले आफूले त्यस्तो हमला नगरेको बरु रुसले कारागारमा बमबारी गरेको आरोप लगाएको छ।

उक्त क्षेत्रमा दिइएको यातनाको प्रमाण ढाकछोप गर्न मस्कोले खोजिरहेको युक्रेनले जनाएको हो।

युक्रेनका जेनेरल स्टाफले भने, "उक्त क्षेत्र ओगटेर बसेका रुसीहरूले आपराधिक लक्ष्य राखेका थिए त्यसैले युद्ध अपराध गरेको आरोप युक्रेनलाई लगाउन, बन्दीहरूलाई दिएको यातना र रुसको सशस्त्र फौजको निर्देशन अनुसार गोलाबारी गरेको घटना लुकाउन यस्तो गरिएको हो।"

रुसी सरकारी टिभीमा प्रसारण गरिएको फुटेजमा केही मानिसका शव रहेको भवनबाट धुवाँ उडिरहेको देखिन्छ।

बीबीसीले उक्त फुटेजको स्वतन्त्र पुष्टि गर्न सकेको छैन तर विश्लेषणहरूका अनुसार उक्त भवन नियमित खालको तोपबाट नभई आगो लगाउने उपकरणले प्रहार गरिएको हो।

रुस समर्थित पृथकतावादी डोनेट्स्क र पीपल्स रिपब्लिकका प्रवक्ता दनिल बेज्सोनोफले हमला बन्दीहरू राखिएको ब्यारेकमै गरिएको र मारिनेको सङ्ख्या वृद्धि हुनसक्ने बताएका छन्।

रुसका रक्षामन्त्रीले हमला अमेरिकामा बनेको हिमार्स तोपबाट भएको र उनकै शब्दमा युक्रेनले जानाजान विषय उक्साएको बताएका छन्।

मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जेनेरल इगोर कोनसेन्कोफले पनि आठजना कारागारका कर्मचारी घाइते भएको बताए।

तर युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले रुसी आरोपहरू निन्दनीय र झुटा भएको र युक्रेनी अधिकारीलाई बदनाम गर्ने नियतले गरिएको बताए।

उनले भने, "हामी यसप्रति संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट प्रतिक्रिया आओस् भन्ने माग गर्छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा भएको विनाशको दृश्य आकाशबाट यस्तो देखियो

र, युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसमाथि "अर्को एउटा भयानक युद्ध अपराध" गरेको आरोप लगाएका छन्।

यसैबीच किएभले दक्षिणी खेर्सन क्षेत्रमा कब्जामा परेका क्षेत्र फिर्ता ल्याउने प्रयास गरिरहँदा रुसले घातक हमलाहरू बढाएको छ।

अधिकारीहरूका अनुसार मध्य शहर क्रोपिइभ्निस्कीमा क्षेप्यास्त्र हमलाहरू हुँदा पाँचजना मानिसहरू मारिनुका साथै २६ जना घाइते भएका छन्।

त्यस्तै पूर्वी भेगको बहमुतमा पनि तीनजनाको ज्यान गएको छ।

पूर्वी डोनबास क्षेत्रमा पर्ने बहमुतमा रुसी बमबारीमा परेर कम्तीमा तीनजना मानिसहरू मारिएको र मध्य पूर्वी दिनिपर्पुच्चोख क्षेत्रमा पनि रुसी आक्रमणमा परी एकजनाको मृत्यु भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आफ्नै घरमा बम हानिएको देख्न म तयार थिइनँ': बीबीसी पत्रकारको किएभको यात्रा