युक्रेन युद्ध: युक्रेनले दक्षिणतर्फ फौज केन्द्रित गर्न खोजिरहँदा किएभ नजिकै हमला

युक्रेन

तस्बिर स्रोत, UKRAINE'S DSNS EMERGENCY SERVICE VIA REUTERS

रुसले युक्रेनभर घातक हमलाहरू गरेको छ। किएभले दक्षिणी खेर्सन क्षेत्रमा कब्जामा परेका भाग फिर्ता ल्याउने प्रयास गरिरहँदा पछिल्ला घटनाहरू भएका हुन्। 

अधिकारीहरूका अनुसार मध्य शहर क्रोपिइभ्निस्कीमा क्षेप्यास्त्र हमलाहरू हुँदा पाँच जना मानिसहरू मारिनुका साथै २६ जना घाइते भएका छन्। 

पूर्वी भेगको बहमुतमा तीन जनाको ज्यान गएको छ।

किएभनजिकै एउटा सैन्य आधारमा १५ जना घाइते भएका छन्। 

युक्रेनको उत्तरी र दक्षिणी क्षेत्रहरू समेत प्रभावित भएका छन्। 

अवस्था

युक्रेनले देशको दक्षिणमा रुसी फौजलाई एक्ल्याउन खोजिरहँदा यस्तो घटनाक्रम देखिएको हो। 

खेर्सन शहरको एउटा मुख्य पुल युक्रेनी फौजले अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेर काम नगर्ने बनाएको छ। 

जसले गर्दा रुसलाई थप सेना र हतियार पठाउन असम्भव पारेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाको विमानसँग आकाशमा यसरी भयो जम्काभेट

यूकेका रक्षा अधिकारीहरूका अनुसार २४ फेब्रुअरीमा रुसी हस्तक्षेप सुरु भएयता कब्जामा परेको एकमात्र युक्रेनी क्षेत्रीय राजधानी अहिले "कब्जा गरिएको क्षेत्रबाट लगभग टुटेको" छ। 

यद्यपि मस्कोले अहिले पूर्वी युक्रेनबाट खेर्सन क्षेत्रको प्रतिरक्षाका लागि आफ्ना फौज पठाइरहेको युक्रेनी सेनाले जनाएको छ। 

नियतवश देखाउन खोजिएको देखिएका तस्बिरमा रुसी फौजहरू भत्किएको पुल तर्न तैरने पूर्वाधारको सहायता लिएको देखिन्छ।

महत्त्वपूर्ण

क्राइमियाका लागि स्थलमार्ग पर्ने भएकाले खेर्सनमा नियन्त्रण राख्नु रुसका लागि महत्त्वपूर्ण छ। 

युक्रेनको दक्षिणी प्रायद्वीपलाई क्रेमलिनले सन् २०१४ मा गाभेको थियो। 

क्रोपिइभ्निस्कीको एक हवाई स्कूलमा मङ्गलवार १२:२० बजेतिर दुईवटा रुसी क्षेप्यास्त्र प्रहार भएको त्यस क्षेत्रका गभर्नरले जनाएका छन्। 

पूर्वी डोनबास क्षेत्रमा पर्ने बहमुतमा रुसी बमबारीमा परेर कम्तीमा तीनजना मानिसहरू मारिएको र अन्य तीन जना घाइते भएको त्यस क्षेत्रका प्रमुखले जनाएका छन्। 

बेग्लै घटनामा ६ रुसी क्यालिबर क्षेप्यास्त्रहरू राजधानी किएभको १० किलोमिटर उत्तरतर्फ पर्ने एउटा सैन्य आधारमा प्रहार हुँदा १५ जनाले क्षति व्यहोरेको एक वरिष्ठ युक्रेनी सैन्य अधिकारीले जनाएका छन्।

कसैको मृत्यु भए नभएकोबारे ती अधिकारीले प्रस्ट पारेनन्।

अन्यत्र मध्य पूर्वी दिनिपर्पुच्चोख क्षेत्रमा रुसी बमबारीबाट एकजना मारिनुका साथै दुईजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।