भ्लादिमिर पुटिनः अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख भन्छन् 'रुसी राष्ट्रपति गम्भीर बिरामी भएको कुनै गुप्तचरी जानकारी छैन'

तस्बिर स्रोत, EPA
अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशकले रुसी राष्ट्रपति भ्लादिमिर अस्वस्थ रहेको वा उनको स्वास्थ्य अस्थिर रहेको भन्ने विषयमा कुनै गुप्तचरी सूचना नरहेको बताएका छन्।
यसै वर्ष ७० वर्ष पुग्ने पुटिन बिरामी भएको हुनसक्ने र सम्भवतः उनलाई क्यान्सर लागेको हुनसक्ने अपुष्ट विवरणहरू सञ्चारमाध्यममा आएका छन्।
तर विलियम बर्न्सले यस्तो सङ्केत दिने कुनै प्रमाण नरहेको बताए। उनले ठट्यौली पारामा पुटिन "एकदमै स्वस्थ" देखिएको टिप्पणी गरे।
सीआईएका प्रमुखको भनाइ अमेरिकाले युक्रेनलाई लामो दूरीमा मार हान्न सक्ने अस्त्रहरू प्रदान गर्ने घोषणा गरेपछि आएको हो।
त्यसअघि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले युक्रेनमा रुसको सैन्य प्राथमिकता पूर्वमा "मात्रै" नरहेको र पश्चिमा विश्वले युक्रेनलाई अस्त्रहरू उपलब्ध गराएपछि मस्कोको रणनीति फेरिएको जनाएका थिए।
सीआईएका प्रमुखले पुटिनबारे के भने
कोलराडोमा एस्पन सेक्यूरिटी फोरमको बैठकमा बर्न्सले भने, "राष्ट्रपति पुटिनको स्वास्थ्यबारे एकदमै धेरै हल्लाहरू फैलिरहेका छन् र हामीले अहिलेसम्म भन्न सक्ने कुरा के हो भने उनी पूर्णरूपमा एकदमै स्वस्थ छन्।"
उनको टिप्पणी सुनेर सहभागीहरू हाँसेपछि उनले आफ्नो भनाइ औपचारिक गुप्तचरी मूल्याङ्कनका आधारमा नभएको जनाएका थिए।
बर्न्सले रुसमा अमेरिकी राजदूतको उत्तरदायित्व वहन गरेका थिए। उनले रुसी नेतालाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट नियालिरहेका छन्।
उनका अनुसार राष्ट्रपति पुटिन "नियन्त्रण, धम्की र प्रतिशोधमा एकदमै धेरै विश्वास गर्छन्" र यो व्यवहार पछिल्लो दशकहरूमा अझ कठोर बन्दै गएको छ।
उनका सल्लाहकारहरूको वृत्त खुम्चिएको दाबी सीआईए प्रमुखले गरे।

तस्बिर स्रोत, Getty Images
"रुसलाई महाशक्तिका रूपमा स्थापित गर्न नै आफ्नो जन्म भएको कुरामा उनी विश्वस्त छन्। त्यसो गर्नका लागि रुसको छिमेकलाई पुनः प्रभावक्षेत्रमा ल्याउनुपर्छ र युक्रेनमाथि नियन्त्रण नजमाईकन त्यसो गर्न सकिँदैन भन्ने उनलाई लाग्छ।"
सीआईएका निर्देशक बर्न्स गत नोभेम्बरमा मस्को गएका थिए। रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना गरेको गुप्तचरी सूचना पाएपछि त्यसको परिणाम गम्भीर हुने चेतावनी दिन उनले उक्त भ्रमण गरेका थिए।
आफू "त्यहाँ पुग्दाभन्दा थप चिन्तित" भएर फर्किएको उनले बताए।
रुसी राष्ट्रपतिको योजना "अत्यन्तै त्रुटिपूर्ण अनुमान र मुख्यतः युक्रेन र प्रतिरोध गर्ने चाहनाजस्ता विषयसँग सम्बन्धित भ्रमका" आधारमा तय भएको टिप्पणी बर्न्सले गरे।
"पुटिन आफूले भनेको कुरामा साँच्चिकै विश्वास गर्छन्। गोप्य रूपमा वर्षौँदेखि युक्रेन वास्तविक देश नभएको बताएको मैले सुनेको छु।"
"वास्तविक देशहरूले प्रतिरोध गर्छन्। युक्रेनीहरूले त्यही गरे।"

तस्बिर स्रोत, Getty Images
युक्रेन युद्धमा कति क्षति?
अमेरिकाले युक्रेनमा अहिलेसम्म हताहत भएका रुसी सैनिकको सङ्ख्या उल्लेख्य भएको आकलन गरेको छ।
बर्न्सका अनुसार झन्डै १५,००० रुसी सैनिकको ज्यान गएको र सम्भवतः ४५,००० जना घाइते भएका छन्। उनले युक्रेनको पक्षमा अपेक्षा गरेभन्दा कम क्षति भएको जानकारी दिए।
अहिले डोन्बास क्षेत्रमा देखिएको रुसी सेनाको बाक्लो उपस्थितिले रुसले गम्भीर पाठ सिकेको देखिएको उनले बताए।
गत फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो।
उसले युक्रेनको पूर्वी डोन्बास क्षेत्रमा बसिरहेका मानिसहरूले नरसंहार सामना गरिरहेको र उनीहरूलाई मुक्त गर्न आवश्यक रहेको दाबी गरेको थियो।
पाँच महिना बित्दा रुसले युक्रेनको पूर्व र दक्षिणका भूभागहरूमा कब्जा जमाएको छ।
किएभलाई कब्जा गर्ने उसको सुरुको योजना विफल भएको भएको छ।
अमेरिकाले रुसले युक्रेनका विभिन्न भागहरू आफूमा गाभ्न खोजेको आरोप लगाएको थियो।











