भ्लादिमिर पुटिन र कोरोना भाइरस: रुसी राष्ट्रपतिलाई कोभिड-१९ बाट जोगाउन कसरी करोडौँ डलर खर्च हुन्छ

पीपीई लगाएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पीपीई लगाएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिन

कोभिड-१९ महामारी उत्कर्षमा पुग्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा सुरक्षा प्रदान गरिएका नेतामध्ये एक थिए।

अहिले कोभिडको सुरक्षा मापदण्ड केही खुकुलो बनाइँदा समेत उनले त्यस्तै किसिमको सुरक्षा पाइरहेका छन्।

रुसी राष्ट्रपतिसँग एक किलोमिटर परिधिमा रहने सबै व्यक्तिले दुई साता क्वारन्टीनमा बिताउनुपर्छ। तिनमा चिकित्सक, विमानचालक, सहयोगी कर्मचारी र अरू धेरै व्यक्ति पर्छन्।

उनीहरूले कम्तीमा चार पटक कोभिड परीक्षण गराउनुपर्छ र कतिपय अवस्थामा दिसासहित अन्य परीक्षणहरू पनि गराउनुपर्छ।

पुटिनको स्वास्थ्य सुरक्षा गर्ने प्रणालीले कसरी काम गर्न सक्छ?

"अनि त्यसपछि मेरो पालो थियो। हामीले हात मिलायौँ र मैले हाम्रो देशभित्रका सबै पुराना योद्धाका तर्फबाट उहाँलाई शुभकामना दिएँ," रुसको तातरस्तान क्षेत्रका एक अवकाशप्राप्त जेनरल अखत यालाशेभले मस्कोबाट घर फर्किएपछि स्थानीय सञ्चारमाध्यमलाई भने।

"उनी मलाई हेरेर मुस्कुराए। उनले गज्जबको छाप छाडे।"

ती ९४ वर्षीय व्यक्ति मे ९ को भिक्ट्री डे परेडमा भाग लिन मस्कोको चर्चित रेड स्क्वाएर पुगेका थिए। तर राष्ट्रपति पुटिनको नजिक जान चाहेकाले उनले पहिले मस्कोको एउटा होटलमा दुई साता क्वारन्टीनमा बस्नुपर्‍यो। उनले उक्त होटललाई "विलासी" भनेका छन्।

खोप अभियान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुस सरकारले राष्ट्रपति पुटिनलाई जोगाउन विशेष ध्यान दिएको छ

'अभूतपूर्व खर्च'

बीबीसीले व्यक्तिगत रूपमा जेनरल युलाशेभसँग कुरा गरेको छैन तर उनी उक्त दिन राष्ट्रपति पुटिनसँगै देखिनका लागि मस्कोको होटलहरूमा क्वारन्टीनमा राखिएका करिब ४०० मानिसमध्ये एक भएको बुझिन्छ।

महामारीको त्रास केही कम हुँदै गएको भए पनि राष्ट्रपति पुटिनको आसपास विभिन्न खोप र अरू सुरक्षाका मापदण्डले निरन्तरता पाएका छन्।

राष्ट्रपति पुटिन अहिले विगत दुई वर्षको तुलनामा आफ्ना निवासहरूमा बढी आउजाउ गर्न थालेका छन्। उनका स्वास्थ्य र सेवासम्बन्धी कर्मचारी र उनीसँग सम्पर्कमा आउने अरू सबै जना पनि त्यसरी नै ओहोरदोहोर गर्छन्।

रुस सरकारको खुल्ला तथ्याङ्कमा करिब ३.२ अर्ब रुबल अर्थात् ५.४६ लाख रुपैयाँ पुटिनको स्वास्थ्य रक्षा गर्न खर्च भएको उल्लेख गरिएको छ। सन् २०१४ सम्म रुसमा कार्यरत एक इजरेली डाक्टर मिखाइल फ्रेम्डरम्यान यो खर्चको अनुपातलाई अभूतपूर्व भन्छन्।

उनले भने, "यी कदमका कारण रुसी राष्ट्रपतिले गम्भीर स्वास्थ्य सामना गरिरहेका छन् कि छैनन् भन्ने आकलन गर्न असम्भव छ। सम्भवतः त्यो सुरक्षा सावधानी हो।"

कोभिडका गम्भीर बिरामीहरूको उपचारमा संलग्न रहेका र सन् १९९० को दशकको मध्यसम्म रुसमा बसेका र अहिले अमेरिकास्थित चिकित्सक कोन्स्टान्टन बालोनोभले "पूर्वसावधानीको उद्देश्यसहित" व्यापक रूपमा ती कदम चालिएको हुनसक्ने बताए।

'व्यापक परीक्षण'

नाकबाट स्वाब निकाल्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुटिनसँग नजिकको सम्पर्कमा जाने व्यक्तिहरूले चार पटक पीसीआर परीक्षण गराउनुपर्छ

विगतमा महामारी सुरु हुँदा कोभिडको परीक्षण गर्न स्वाब सङ्कलन गर्नु औचित्यपूर्ण रहेको भए पनि रुसमा सङ्क्रमण घटे पनि कडाइहरू यथावत् छन्।

राष्ट्रपति पुटिनले कोभिड-१९ विरुद्धको खोप लगाएको ठानिएको भए पनि उनीसँग सम्पर्कमा आउने सबै व्यक्तिको जाँच बाध्यकारी बनाइएको थियो।

त्यसबाहेक थप परीक्षणहरू पनि थपिएको थियो जसमा कोभिडको एन्टीबडी परीक्षण, रुघाखोकी र छालासम्बन्धी सङ्क्रमणको जाँच र जुकाको परीक्षण पर्छन्।

खुला तथ्याङ्क भण्डारका अनुसार सन् २०२१ को आरम्भपछि झन्डै १,५०० जानले यी परीक्षण गराएका छन्।

फेब्रुअरी २०२२ मा केही रुसी सञ्चारमाध्यमहरूले अज्ञात सूत्रहरूलाई उद्धृत गर्दै राष्ट्रपतिसम्म पहुँच भएका क्रेम्लिनका केही कर्मचारीहरूलाई प्रत्येक साता दिसाको नमुना जाँच्न लगाइएको जनाएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?

खुला स्रोतहरूले रुसी राष्ट्रपतिको यात्रामा सघाउने विमानचालक तथा अन्य कर्मचारीहरूले पनि नियमित रूपमा परीक्षण गर्नुपर्ने उल्लेख गरेको छ।

त्यसमा कैयौँ परीक्षणहरू पनि छन् जसमा द्रुत पीसीआर परीक्षणदेखि एन्टीबडी जाँच र दिसाको नमुना छन्। समग्रमा उडान कर्मचारीहरूले २१ लाख डलर दुई वर्षमा खर्च गरेको जनाइएको छ।

यसै वर्षको मे महिनामा विमानचालक दलका सदस्यले १,३७६ वटा स्वाब र दिसाका ९८ वटा नमुना अनि रगतका ४४७ वटा नमुना दिएका थिए। तीमध्ये उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई मस्कोको बाहिरी क्षेत्रमा दुई साता राखिएको थियो।

रगत परीक्षणका लागि नमुना

तस्बिर स्रोत, Getty Images

एक रुसी चिकित्सक र सङ्क्रामक रोगसम्बन्धी विज्ञले बीबीसीसँग कुरा गर्दै यो "व्यापक तहको परीक्षण" को उद्देश्य स्वास्थ्यसँग सम्बन्धित नहुने सम्भावना नभएको बताएका छन्।

उनले भने, "यो साधारण पीसीआर परीक्षणको तुलनामा दुई गुना छ।" उनले दिसाबाट कोभिड-१९ सर्न सक्ने कुरा आफूलाई थाहा नभएको बताएका छन्।

अरू सङ्क्रमणको परीक्षण र बाहिरी विश्वसँगको सम्पर्कमा ठूलो कटौती गम्भीर बिरामीहरूका लागि सामान्य व्यवहार भएको भन्दै ती चिकित्सकले शल्यक्रिया गर्न लाग्दा मात्रै त्यसो गरिने उल्लेख गरेका छन्।

उनले यी सबै परीक्षणहरू चिकित्साशास्त्रमा मात्रै आधारित नभएको हुनसक्ने बताए। उनले उक्त कदम "आफूहरूले सबै कुरा सोचेको" भन्दै "हाकिमहरूलाई खुसी पार्न" चालिएको हुनसक्ने बताए।

भ्रमण दलमा स्वास्थ्यकर्मी

मार्च २०२१ मा क्रेम्लिनले राष्ट्रपति पुटिनले खोप लगाएको घोषणा गरेको थियो। पछि उसले उक्त खोप रुसमा पहिले उत्पादन भएको स्पुत्निक भी रहेको जनायो। उक्त खोपको परीक्षणलाई रुसबाहिरका कतिपय विज्ञहरूले प्रश्न उठाएका थिए।

खोप लगाएपछि राष्ट्रपति पुटिन पहिलाभन्दा देशका विभिन्न भागमा अझ बढी घुम्न थाले र मस्कोबाहिर अवस्थित निवासमा पनि बस्न थाले। यी यात्राहरूमा उनीसँगै चिकित्सकहरू पनि थिए।

बीबीसीले खुला स्रोतहरूबाट पत्ता लगाएका विवरणमा पुटिन मस्कोबाट ४०० किलोमिटर उत्तरपश्चिममा रहेको उनको बिदा मनाउने घरमा जाँदा चारजना चिकित्सक पनि उनीसँगै गएको देखिन्छ। स्वास्थ्य सेवाका कर्मचारीका लागि वासको प्रबन्ध गर्न दशौँ हजार डलर खर्च भएको थियो।

टेलिभिजनमा पुटिन

तस्बिर स्रोत, Getty Images

दक्षिण रुसमा रहेको सोचीमा अवस्थित उनको अर्को आवासमा जाँदा पनि चिकित्सकहरू साथै रहेको ती स्रोतहरूले देखाउँछन्।

बीबीसीले पुटिन सेन्ट पिटर्सबर्ग र भ्लादिभोस्टोकका कार्यक्रमहरूमा जाँदा चिकित्सकहरूको टोली राष्ट्रपति पुटिनसँगै गएको उल्लेख गरेको छ। भ्लादिभोस्टोक रुसको सुदूरपूर्वमा अवस्थित छ र त्यो मस्कोबाट ११ घण्टाको दूरीमा छ।

स्वतन्त्र रुसी सञ्चारमाध्यमहरूका अनुसार क्रेम्लिनका केही कर्मचारीहरू एक वर्षमा १५० दिनसम्म एक्लाएक्लै होटलमा क्वारन्टीनमा बसेका थिए।

अरू देशको तुलनामा यो कस्तो हुन्छ?

इजरेली चिकित्सक मिखाइल फ्रेम्डरम्यानले कोभिडसम्बन्धी इजरेलको अहिलेको व्यवस्था सरकार प्रमुख र सर्वसाधारणका लागि एउटै रहेको बताए। उनले त्यहाँ कुनै थप कदम वा परीक्षणहरू आवश्यक नरहेको जनाए। त्यसबाहेक देश बाहिरको भ्रमणमा मात्रै चिकित्सकहरू इजरेली प्रधानमन्त्रीसँगै जाने बताए।

अमेरिकामा रहेका चिकित्सक कोन्स्टान्टिन बालोनोभले दिसाको नमुना जाँच गरी कोभिड परीक्षण गरिएको आफूले कहिल्यै नसुनेको बताए। आफूले पीसीआर र एन्टिजन जाँचबारे मात्रै थाहा पाएको उनको भनाइ छ।

बालोनोभले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइटहाउसका स्वास्थ्य प्रोटोकलबारे पनि चर्चा गरेका छन्। उनले आफ्ना स्रोतले अहिले परीक्षण वा क्वारन्टीन आवश्यक नरहेको मापदण्ड प्रेसका सन्दर्भमा पनि लागु गरेको बताएका छन्।

विगतमा ह्वाइटहाउसका पत्रकार सम्मेलनमा सहभागी हुने पत्रकारहरूले कोभिड नभएको रिपोर्ट देखाउनुपर्ने र अनुहार ढाक्नुपर्ने व्यवस्था थियो।

त्यो मापदण्ड त्यस बेला अमेरिकाका सबै सार्वजनिक मञ्चहरूमा लागु गरिएको थियो।