भ्लादिमिर पुटिन: रुसी राष्ट्रपति किन अठारौँ शताब्दीका तानाशाह पिटर द ग्रेटसँग आफ्नो तुलना गर्छन्

तस्बिर स्रोत, UNIVERSAL HISTORY ARCHIVE/GETTY IMAGES
- Author, सारा रेन्स्फर्ड
- Role, पूर्वी युरोप संवाददाता
अठारौँ शताब्दीका रुसी सम्राट पिटर द ग्रेटको प्रशंसा गरिरहने भ्दादिमिर पुटिनले ती सम्राटसँग आफ्नो तुलना गर्न थालेका छन्।
रुसी राष्ट्रपति पुटिनले तीन शताब्दीअघि पिटरले देशको भूमि विस्तार गर्न लडेका युद्धसँग युक्रेन युद्धलाई तुलना गर्दै यो लडाइँको उद्देश्य पनि भूमि नियन्त्रण गर्नु भएको स्वीकार गरेका छन्।
साम्राज्य विस्तार गर्ने पुटिनको महत्त्वाकाङ्क्षाले युक्रेनमाथि थप नराम्रो हुने सङ्केत गरेको छ भने एस्टोनिया र अन्य छिमेकी देशहरू त्यसबाट चिढिएका छन्।
एस्टोनियाले पुटिनको उक्त टिप्पणी "पूर्ण रूपमा अस्वीकार्य" भएको बताएको छ।
टिप्पणीको सन्दर्भ
रुसी राष्ट्रपतिले युवा वैज्ञानिक र व्यवसायीहरूसँगको भेटमा त्यस्तो अभिव्यक्ति दिएका थिए। सूचनाप्रविधि र प्रविधि विकासका क्षेत्रमा कुरा गर्नुअघि उनले राजनीति र सत्ताबारे बोलेका थिए। उनले भूराजनीतिक प्रभुत्वको नयाँ लडाइँबारे चर्चा गरे।
त्यही क्रममा उनले छानिएका निम्तालुहरूसँग पिटर द ग्रेट एक आफ्नो आदर्श भएको बताए।
"तपाईँहरूलाई उनले स्वीडनसँग झगडा गरेर जमिन कब्जा गरेको जस्तो लाग्न सक्छ," पुटिनले १८औँ शताब्दीको सुरुमा नयाँ रुसी साम्राज्य स्थापना गर्नुअघि पिटरले सुरु गरेको 'नोर्दन वार'लाई सङ्केत गर्दै भने।

तस्बिर स्रोत, EPA
"तर उनले केही पनि कब्जा गरेका थिएनन्। उनले त आफ्नो क्षेत्र फिर्ता गरेका थिए।"
उक्त क्षेत्रमा स्लाभ भनिने युरोपेली समुदायलके लामो समयदेखि बसोबास गरिरहेको तर्क पुटिनको थियो।
"अहिले आफ्नो क्षेत्र फिर्ता गराउने र अझ सबल हुने जिम्मेवारी हामीमा आए जस्तो देखिएको छ," पुटिनले भने।
मन्द मुस्कानसहित आफ्नो भनाइ टुङ्ग्याउन लाग्दा पुटिनले युक्रेन र त्यहाँ आफ्नो लक्ष्यबारे सङ्केत गरेको स्पष्टसँग बुझ्न सकिन्थ्यो।
इतिहास पल्टाउने पुटिनको शैली
पिटरको शासनले विस्तारित रुस बलियो पनि भएको प्रमाणित गरेको पुटिनको दाबी थियो।
पुटिनले केही समययता रुसको विगतलाई बारम्बार दोहोर्याउने गरेका छन्। उनी सावधानीपूर्वक त्यसलाई अहिलेको आफ्नो मुद्दासँग मिल्नेगरी प्रस्तुत गर्छन्।
युक्रेनमा आक्रमण गर्नुभन्दा धेरै महिनाअघि उनले एउटा ठूलो निबन्ध तयार गरे।
त्यसमा उनले देशको ऐतिहासिक अस्तित्वको अधिकारबारे तर्क गरेका थिए।

तस्बिर स्रोत, Getty Images
फेब्रुअरी २४ मा रुसले छिमेकी युक्रेनमा आक्रमण सुरु गर्दा पुटिनले त्यसलाई "विशेष कारबाही" भनेर गलत दाबी गरेका थिए।
उनले उक्त कारबाही युक्रेनलाई "नाजीमुक्त" बनाउन र रुसमाथिको सम्भावित खतरालाई कम गर्न पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा मात्रै सीमित हुने बताएका थिए।
तर उनले ती शब्द उच्चारण गर्दैगर्दा उनका सैनिकहरू किएभतर्फ अघि बढिरहेका थिए र अझै पश्चिमतर्फको भूमिमा पनि बमबारी गरिरहेका थिए।
युद्ध सुरु भएको १०० दिन बितिसक्दा पनि युक्रेनको पाँच भागमध्ये एक भाग क्षेत्र रुसी सैनिकको नियन्त्रणमा छ। त्यहाँ उसले आफूअनुकूल आज्ञाकारी प्रशासन बनाएको छ जसले रुसमा विलय हुनेबारे जनमत सङ्ग्रह माग गर्दै आएको छ।
सेन्ट पिटर्सबर्गको प्रसङ्ग
अहिले पुटिन निर्धक्क छन् र आफूले यसअघि भनेको कारबाही वास्तवमा कब्जा नै भएको स्वीकार गर्छन्।
उनमा अर्को पनि के विश्वास देखिन्छ भने पश्चिमा देशहरूले अन्ततः उनका सैनिकहरू अहिले आधार तयार गर्नका लागि युद्ध लडिरहेका छन् भन्ने कुरा स्वीकार गर्छन्।
त्यस बेला पिटरले रुसको नयाँ राजधानी स्थापना गरेको सेन्ट पिटर्सबर्ग रहेको भूमि रुसले दाबी गर्दा "एउटा पनि युरोपेली देशले" मान्यता नदिएको पुटिनले बताए। तर अहिले सबैले मान्यता दिएका छन्।
पुटिनको टिप्पणीले बल्टिक देशहरूलाई पनि भयभीत बनाएको छ। एस्टोनियाको विदेश मन्त्रालयले रुसी राजदूतलाई बोलाएर पुटिनले पिटर द ग्रेटले अहिले एस्टोनियामा पर्ने नार्भामा गरेको आक्रमणको सन्दर्भ दिएको भन्दै आपत्ति जनाएको छ।
पुटिनले छानिएका इतिहासको सन्दर्भ मात्रै उल्लेख गर्ने गरेका छन्।
को हुन् पिटर द ग्रेट
एक निर्मम र स्वेच्छाचारी शासक भए पनि पिटर द ग्रेट पश्चिमा सोच, विज्ञान र संस्कृतिका प्रशंसक थिए। उनले सेन्ट पिटर्सबर्गलाई युरोपको आँखीझ्यालको रूपमा निर्माण गरे र ज्ञानको खोजीमा उक्त महादेश घुमेर रुसलाई आधुनिक बनाउने प्रयत्न गरे।
पुटिनको दमनकारी शासनले पश्चिम हेर्ने उक्त झ्याललाई बिस्तारै बन्द गर्दै लगेर युक्रेन युद्धपछि बन्द गरिदिएको छ। त्यस बेला ती जारले नयाँ सोच र प्रेरणाको खोजीमा होलन्ड वा ग्रीनिचमा गरेका जस्ता भ्रमणहरू अहिले असम्भव देखिन्छन्।
पुटिनले युवा व्यवसायीहरूलाई १८औँ शताब्दीका जारको विषयमा प्रवचन दिँदै गर्दा उनीहरूको मनमा भविष्य, आत्मविश्वास र विजयजस्ता शब्द प्रतिध्वनित भएका थिए।
पश्चिमा विश्वले गरेको निन्दा र लगाएका प्रतिबन्धहरूलाई अटेरी गर्ने पक्षमा रुस देखिएको छ। पुटिन पनि आत्तिनुको साटो आनन्दित देखिन्छन्।
तर इतिहासको पुस्तकमा अर्को पनि पाठ हुन सक्छ।
पिटर द ग्रेटले बल्टिकबाट ब्ल्याक सीसम्मको भूमि नियन्त्रण गरे तर त्यसका लागि रुसले २१ वर्षसम्म 'ग्रेट नोर्दन वार' लड्नुपरेको थियो।











