युक्रेन युद्ध: रुसले गुमाएका जेनरलहरूको रहस्य र त्यसले सङ्केत गर्ने कुराहरू

मेजर जेनरल कनामत बोतासेभ निकै सिपालु र सम्मानित रुसी पाइलट मानिन्थे।

तस्बिर स्रोत, Кanamat Botashev

तस्बिरको क्याप्शन, मेजर जेनरल कनामत बोतासेभ निकै सिपालु र सम्मानित रुसी पाइलट मानिन्थे।
    • Author, ओल्ग इफ्सिनअ र क्याट्रिना खिन्कुलोभा
    • Role, बीबीसी रुसी सेवा

मे महिनामा युक्रेनको डोन्बास क्षेत्रमा एउटा अत्याधुनिक रुसी सु-२५ जेट विमानलाई खसालिएपछि त्यसले उक्त विमानका विमान चालकको मृत्युबारे कैयौँ प्रश्न उत्पन्न गरायो।

किन ६३ वर्षीय व्यक्तिले परिष्कृत अस्त्रसहितको विमान उडाइरहेका थिए?

झन्डै दशकअघि सेवानिवृत्त भएका ती पुरुष विमानमा के गरिरहेका थिए?

अन्य रुसी जेनरलहरूले लडाइँको मोर्चामा किन ज्यान गुमाइरहेका छन्?

त्यसरी ज्यान गुमाउने रुसी जेनरल कति जना छन्?

यी प्रश्नका उत्तरहरू खोतल्दै जाँदा रुसी युद्धअस्त्र र त्यसको मानवीय मूल्यको एउटा चित्र देखाउँछ।

सिपालु पाइलट

यस्तै एउटा सु-२५ लडाकू विमान युक्रेनी आकासबाट खसालिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यस्तै एउटा सु-२५ लडाकू विमान युक्रेनी आकासबाट खसालिएको थियो

मेजर जेनरल कनामत बोतासेभ निकै सिपालु र सम्मानित रुसी पाइलट मानिन्थे।

र आफ्नो ओहदा, ढल्कँदो उमेर र सेवानिवृत्त हैसियत भए तापनि उनी त्यस निर्णायक दिनमा ककपीटमा फर्किएका थिए।

बीबीसीले उनी मातहत रहेका तीन जना पूर्वसैनिकहरूसँग कुरा गरेको छ जसले उनी रुसले भन्ने गरेको युक्रेनमा जारी "विशेष सैन्य कारबाही"बाट "परै रहन सक्थे" भनेका छन्।

बोतासेफका एक जना पूर्वसहकर्मीले भने, "उनी जसरी आकाशमा उड्न निकै रुचाउने मानिस पृथ्वीमा कमै होलान्।"

"उनी मातहत रहेर काम गरेकोमा म सधैँ गौरवान्वित हुनेछु," अर्का एक सहकर्मीले भने।

तर युक्रेन युद्धमा उनको सहभागितालाई उनको उमेरसँग जोडेर मात्र हेर्न मिल्दैन।

बोतासेभ रुसी सेनाका बहालवाला सदस्य नभएका मात्र थिएनन्, बरु एक दशकअघि सेनाबाट बर्खास्त भएका थिए।

मृत जेनरलहरू

रुस

बोतासेभ युक्रेन द्वन्द्वमा मारिने केही जेनरलहरूमध्ये एक हुन्। यद्यपि त्यसको वास्तविक सङ्ख्या अझै विवादित छ।

आधुनिक समयको युद्धमा एक जना मात्र जेनरल गुमाउनु पनि निकै अस्वाभाविक मानिन्छ।

तुलनाका लागि अमेरिकी मेजर जेनरल हेरोल्ड ग्रिन सन् २०१४ मा एक अफगान सैनिकद्वारा मारिएका थिए।

युद्धका बेला कुनै जेनरल मारिएको अमेरिकाको इतिहासमा त्यो ४० वर्षपछि थियो।

युक्रेनले द्वन्द्वका बेला एक समय ११ जनासम्म रुसी जेनरलहरू मारिएको दाबी गरेको थियो। यद्यपि केही खबरहरू पछि भ्रामक ठहरिएका थिए।

युक्रेनद्वारा मारिएको दाबी गरिएका तीन जना जेनरहरूले पछि आफू जीवितै रहेको भन्दै अनलाइनमा भिडिओ पोस्ट गरेका थिए।

मृत्यु भएको भनिएकामा अहिलेसम्म आठ रुसी जेनरलहरू छन् जसमध्ये चार जनाको मृत्यु पुष्टि भएको छ।

बाँकी चार जनाको अवस्था अपुष्ट छ तर उनीहरू मृत्युको खबर रुसले अस्वीकार पनि गरेको छैन।

रुस

बोतासेभ बाहेक मृत्यु पुष्टि भएका अन्य तीनजना जेनरलहरू छन्।

मेजर जेनरल आन्द्रे सुखाभित्स्की मारिएको खबर १ मार्चमा आएको थियो।

एकजना सेवानिवृत्त रुसी सैन्य अधिकारीले ट्वीट गरे अनुसार सुखाभित्स्कीलाई एकजना युक्रेनी बन्दुकधारीले राजधानी किएभ नजिकैको होस्टोमेल क्षेत्रमा गोली प्रहार गरेका थिए।

रुस

मेजर जेनरल भ्लादिमिर फ्रोलोफ युक्रेनी सेनाबाट १६ एप्रिलमा मारिएको खबर आएको थियो।

र रुसी शहर सेन्ट पिटर्सबर्गमा उनको अन्तिम संस्कार गरिएको खबरसँगै त्यसको पुष्टि भयो।

उनको मृत्युबारे विस्तृत विवरण खुलाइएको छैन।

रुस

सबैभन्दा पछिल्लो घटनाको रूपमा ५ जुनमा रुसी सरकारी सञ्चारमाध्यमका पत्रकारले टेलिग्राम मेसेन्जरमा पोस्ट गर्दै मेजर जेनरल रोमन कुतोजोफको मृत्यु भएको जनाएका थिए।

उनले डोन्बास क्षेत्रमा युक्रेनी फौजहरूविरुद्ध लडाइँको नेतृत्व गर्दा ज्यान गएको उनले लेखेका थिए।

कतिजना जेनरल मारिए किन थाहा छैन?

यसको सामान्य जबाफ: युक्रेनीहरूलाई साँच्चिकै थाहा छैन र रुसीहरूले यो विवरण भन्ने छैनन्।

रुसका लागि सैनिकहरूको मृत्यु शान्तिको समयमा पनि राज्यको गोप्यता मानिन्छ।

मस्कोले २५ मार्चयता सैनिक हताहतीको सङ्ख्या अद्यावधिक गरेको छैन।

त्यसबेला उसले युद्धको पहिलो महिनामा १,३५१ जना रुसी सैनिकहरू मारिएको जनाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाको विमानसँग आकाशमा यसरी भयो जम्काभेट

एउटा चलिरहेको अनुसन्धानात्मक परियोजना अन्तर्गत उपलब्ध सूचना र सेनाका परिवारसँग कुरा गरेर बीबीसीले ३,५०० भन्दा धेरैको मृत्युसूची तयार पारेको छ।

उक्त सूचीमा सैनिकहरूको नाम र ओहदा खुलाइएको छ र वास्तविक सङ्ख्या सम्भवत: निकै धेरै हुनसक्छ।

हाम्रो अध्ययनले मारिने पाँचमध्ये एकजना सैनिक बीचको ओहदा वा वरिष्ठ सैनिक छन्।

सङ्ख्याले गरेको सङ्केत

बीबीसीको अध्ययनले मारिने पाँचमध्ये एक रुसी सैनिक बीचको ओहदा वा वरिष्ठ सैनिक छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बीबीसीको अध्ययनले मारिने पाँचमध्ये एक रुसी सैनिक बीचको ओहदा वा वरिष्ठ सैनिक छन्।

वरिष्ठ सैन्य अधिकारीहरूको हताहतको अनुपात अचम्मलाग्दो छ। तर तत्कालीन अवस्थामा रुसी सेनामा निकै उच्च सङ्ख्यामा झन्डै १,३०० जेनरलहरू थिए।

यद्यपि धेरै कहिल्यै युद्ध मैदान वरपर पुग्ने ठानिँदैन।

बाँकीले भने त्यस्तो अवसर पाउँदैनन् र उल्लेख्य सङ्ख्यामा जेनरलहरू आफूलाई गलत ठाउँमा गलत समयमा पाउँछन्।

त्यसो हुनुको एउटा सम्भावित कारण उच्च पदस्थ रुसी अधिकारीहरूलाई काम गरेर निर्णयहरू लिने जिम्मेवारी दिइन्छ जुन अन्य सेनाका हकमा कनिष्ठ सैनिकहरूले गर्छन्।

जसले गर्दा उनीहरूले सामान्यतः सोच्नेभन्दा धेरै युद्धको अग्रमोर्चामा पुग्छन्।

पश्चिमा अधिकारीहरूले समेत रुसी फौजमा देखिएको कमजोर आत्मविश्वासले गर्दा वरिष्ठ अधिकारीहरू अग्रमोर्चामा पुगिरहेको हुनसक्ने बताउँछन्।

सञ्चार उपकरणको अभावलाई समेत त्यस्तो खतरनाक अवस्थाका लागि जिम्मेवार ठानिएको छ जसले गर्दा उनीहरूलाई परम्परागत फोनको प्रयोग गर्न बाध्य पारेको छ।

त्यसले उनीहरूलाई युद्धको नजिक पुर्‍याउँछ र लडाइँको क्रममा असुरक्षित बनाउँछ।

र अन्ततः अमेरिकी समाचारहरूका अनुसार युक्रेनी सैन्य गुप्तचरहरू अधिकारीहरूले नियतवश: रुसका सैन्य अधिकृतहरूलाई निशाना बनाइरहेका छन्।

त्यस क्रममा उनीहरूले अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको बन्दुक प्रयोग गरिरहेको बताइएको छ।

अनधिकृत उडान

रुसका लागि, सैनिकहरूको मृत्यु शान्तिको समयमा पनि राज्यको गोप्यता मानिन्छ।
तस्बिरको क्याप्शन, रुसका लागि सैनिकहरूको मृत्यु शान्तिको समयमा पनि राज्यको गोप्यता मानिन्छ

सेवानिवृत्त जीवन बिताइरहेका जेनरल बोतासेभले कसरी आफूलाई पुनः युद्धमै पाए त?

बोतासेभको सैन्य जीवन एकनासको थिएन। सन् २०१२ मा उडान गर्नै नपर्ने विमानलाई दुर्घटना गराएपछि उनी सेनाबाट बर्खास्त भएका थिए।

उनले रुसी सैन्य प्रविधिको एउटा विशेष आकर्षण मानिने परिष्कृत सु-२७ लडाकु जहाजलाई उडाएका थिए।

रुसी सेनामा त्यस्तो खास उडानहरू गर्नका लागि कैयौँ घण्टाको विशेष तालिम आवश्यक पर्छ।

उनले उक्त उडान गर्नका लागि अनुमति नपाए तापनि कुनै तरिकाले त्यसमा पहुँच पाएका थिए।

तर उडानका बीचमा उनले नियन्त्रण गुमाए। उनी र उनका सहकर्मीहरू भने बच्च सफल भए।

उनले त्यस्तो काम पहिलो पटक गरेका थिएनन्।

सन् २०११ मा उनी अर्को आफूलाई अनुमति नभएको सु-३४ नामको अर्को विशिष्ट रुसी जेटको ककपीटमा छिरेर अवैध उडानमा गएका थिए।

जरिबाना तिरेर नसक्दै गयो ज्यान

सन् २०१२ मा एक अदालतले बोतासेभले राज्यलाई पुर्‍याएको क्षतिका लागि ७५ हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिएको थियो।

यद्यपि उक्त विमानको लागत दशौँ लाख अमेरिकी डलर थियो।

गत महिना ज्यान गुमाउँदा समेत उनले अझै त्यसको आधा जसो रकम तिर्न बाँकी रहेको एक सार्वजनिक रूपमा उपलब्ध सरकारी विवरणले देखाउँछ।

सैन्य अन्तेष्टी

बोतासेभ आफ्नो भूमिकाबाट निकालिएपछि एउटा सरकारी स्वयंसेवी सङ्गठनमा काम गर्न गएका थिए।

सन् १९५० को दशक पुरानो डीओएसएएएफको रुसी सेना र नौसेनासँग सम्बन्ध छ र उसले युवाहरूलाई सैन्य गतिविधिमा सहभागी हुन प्रोत्साहित गर्छ।

उनको सेनाको निवृत्तिभरण झन्डै ३६० अमेरिकी डलर थियो र उनको तलब त्योभन्दा खासै धेरै हुँदैनथ्यो।

त्यस प्रकारको आम्दानीले राज्यलाई तिर्नुपर्ने उल्लेख्य रकम तिर्न उनी सङ्घर्ष गरिरहेका थिए।

र एउटा दाबी अनुसार आफ्नो अन्तिम समयमा बोतासेभ एउटा निजी सैन्य कम्पनीसँग काम गरिरहेका थिए।

रुसी अधिकारीहरूले त्यसो निजी कम्पनीको रुसी राज्यसँग कुनै साइनो रहेको भन्ने कुरा अस्वीकार गरेका छन्।