नेटो: उत्तर एट्लान्टिक सन्धि सङ्गठन के हो? के यसमा अरू देश आबद्ध हुन सक्छन्?

तस्बिर स्रोत, Getty Images
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्यान्डका राष्ट्रपतिलाई नेटोमा फिनल्यान्ड आबद्ध भएर तटस्थता त्याग्नु गल्ती हुने बताएका छन्।
फिनल्यान्डले नेटोमा आबद्ध हुन छिटै औपचारिक अनुरोध गर्ने र स्वीडनले पनि त्यस्तो गर्ने सम्भावनाबीच दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको छ।
युद्धको समयमा तटस्थता कायम गर्ने र सैन्य गठबन्धनबाट अलग रहेको इतिहास बोकेका फिनल्यान्ड र स्वीडन नेटोमा आबद्ध हुन सक्ने सम्भावना बढेको छ।
रुसले यी दुई देश नेटोमा आबद्ध हुन लागेको विषयमा कडा विरोध जनाएको छ।
मस्कोले युक्रेनमा गरेको आक्रमण नेटोका लागि ७३ वर्षे इतिहासमा ठूलो चुनौती बनेको छ।
रुसले आक्रमण गर्नुको कारण रुससँग सीमा रहेको युक्रेन अमेरिकी नेतृत्त्वमा रहेको सैन्य गठबन्धन नेटोमा आबद्ध हुने प्रयासलाई पनि लिइन्छ।
नेटोको भूभागको पूर्वी सीमामै अहिले युद्ध भइरहेको छ र नेटोका थुप्रै सदस्य र सदस्यता नलिएका राष्ट्रहरूमा रुसले आक्रमण गर्नसक्ने संशय छ।
अमेरिका, यूके, फ्रान्स र जर्मनी सदस्य रहेको नेटोले थप सेनालाई पूर्वी युरोपमा पठाएका छन्।
यद्यपि यूके र अमेरिकाले युक्रेनमा फौज पठाउने कुनै योजना नरहेको दाबी गरेका छन्।
नेटो के हो?
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो एउटा सैन्य गठबन्धन हो जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए।
ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए।
कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एकअर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रहरूले गरेका थिए।

तस्बिर स्रोत, Getty
नेटोको उद्देश्य युरोपमा युद्धपछिको रुसको विस्तारले दिने खतराविरुद्ध लड्नु थियो।
सन् १९५५ मा सोभियत रुसले नेटो गठनप्रति प्रतिक्रिया जनाउँदै पूर्वी युरोपेली कम्युनिस्ट देशहरूको सैन्य गठबन्धन वार्स्अ प्याक्ट बनाए।
सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि वार्स्अ प्याक्टका केही पूर्वसदस्यहरूले आफ्नो कित्ता परिवर्तन गरेर नेटोका सदस्य बने। नेटो गठबन्धनमा अहिले ३० राष्ट्र छन्।
नेटो र युक्रेनसँग रुसको मुद्दा के हो?
युक्रेन पूर्व सोभियत गणतन्त्र हो जसको सीमा रुस र युरोपेली सङ्घसँग जोडिएको छ।
युक्रेनमा रुसी मानिसहरूको ठूलो जनसङ्ख्या छ र रुससँग उसको सामाजिक र सांस्कृतिक निकटता छ।
रणनीतिक रूपमा क्रेमलिनले युक्रेनलाई रुसको करेसाबारी जस्तो गर्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेन रुसकै भाग रहेको बताएका थिए।
यद्यपि हालैका वर्षमा युक्रेन भने पश्चिमतर्फ निकट देखिँदै आएको छ। उसले युरोपेली सङ्घ र नेटोमा आबद्ध हुने उद्देश्य राखेर त्यसलाई संविधानमै लेखेको छ।
युक्रेन अहिले नेटोको "साझेदार देश" हो। यसको अर्थ भविष्यमा कुनै बेला नेटोमा आबद्ध हुन उसलाई अनुमति दिइन्छ भन्ने समझदारी रहेको छ।
रुस भने त्यस्तो कहिल्यै हुने छैन भन्नेबारे पश्चिमा शक्तिबाट आश्वस्त हुन चाहन्छ।
यद्यपि अमेरिका र उसका साझेदारहरू नेटोमा युक्रेनलाई बन्देज लगाउन अस्वीकार गरिरहेका छन्।
उनीहरूले युक्रेन एउटा सार्वभौम देश भएको भन्दै उसलाई उसकै सुरक्षा गठबन्धनबारे निर्णय गर्न स्वतन्त्रता हुनुपर्ने बताउँदै आएका छन्।

तस्बिर स्रोत, Anadolu via Getty
रुस अन्य के कुराबाट चिन्तित छ?
राष्ट्रपति पुटिनले पश्चिमा शक्तिहरूले रुसमा अतिक्रमण गर्नका लागि नेटोको प्रयोग गरिरहेको दाबी गरेका छन्।
नेटोले पूर्वी युरोपमा आफ्ना सैन्य गतिविधि बन्द गरोस् भन्ने उनी चाहन्छन्।
नेटो पूर्वतर्फ विस्तार हुँदैन भनेर सन् १९९० मा भएको प्रत्याभूति अमेरिकाले तोडेको उनले लामो समयदेखि दाबी गर्दै आएका छन्। अमेरिकाले भने आफूले त्यस्तो वाचा नगरेको जनाएको छ।
नेटोले आफ्ना थोरै सदस्य राष्ट्रहरूको रुससँग सीमा जोडिएको र गठबन्धन रक्षात्मक भएको बताएको छ।
रुस र युक्रेनबारे नेटोले के गरेको छ?
युक्रेनले आफ्ना रुस समर्थित राष्ट्रपतिलाई सन् २०१४ मा अपदस्थ गरेलगत्तै युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई रुसले गाभेको थियो।
पूर्वी युक्रेनको ठूलो भूभाग कब्जा गरेका रुससमर्थित पृथकतावादीलाई पनि रुसले समर्थन गर्यो।
नेटोले हस्तक्षेप गरेन तर उसले कयौँ पूर्वी युरोपेली देशमा पहिलो पटक सेना पहिलो पटक राख्यो।
रुसले नेटोको भूभागमा आक्रमण गरिहालेको अवस्थाका लागि ती फौजलाई तैनाथ गरिएको थियो।
नेटोको इस्टोनिया, लाट्भिया, लिथुवानिया र पोल्यान्डमा चार बहुराष्ट्रिय बटालियन छन् भने रोमानियामा बहुराष्ट्रिय ब्रिगेड छन्।
रुसले नेटोका सदस्य राष्ट्रको सीमा उल्लङ्घन गरे त्यसमा अवरोध गर्नका लागि उसले बाल्टिक राज्य र पूर्वी युरोपमा हवाई नीति पनि विस्तार गरेको छ।
रुसले नेटो फौज त्यहाँबाट हटाउन चाहेको छ।

तस्बिर स्रोत, EPA
वर्तमान सङ्कटमा नेटोले के गरेको छ?
नेटोको पूर्वी सीमा बलियो बनाउनका लागि अमेरिकाले पोल्यान्ड र रोमानियामा हजारौँ थप फौज पठाएको छ र थप सेनालाई तयार अवस्थामा राखिएको छ।
उसले करोडौँ डलर बराबरको हतियार पनि पठाएको छ र नेटोका अन्य सदस्य राष्ट्रलाई अमेरिकामा बनेका हतियारहरू युक्रेनमा पठाउन अनुमति दिएको छ।
यूकेले युक्रेनलाई छोटो दूरीका हजारौँ एन्टीट्याङ्क क्षेप्यास्त्र पठाएको छ र ३५० फौज पनि पोल्यान्ड पठाएको छ।
थप ९०० फौजहरू पठाएर इस्टोनियामा पनि उसले आफ्नो शक्ति दोबर बनाएको छ।
उसले थप आरएएफ विमानहरू दक्षिणी युरोपमा पठाएको छ र रोयल नेभी नौसैनिक जहाज पनि पूर्वी भूमध्यसागरमा नेटोका युद्धपोतसँगै गस्तीमा पठाएको छ।
रुसले युक्रेनमा हमला गर्दा निम्तिने मानवीय सङ्कटमा सहायता गर्न उसले १,००० फौजलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ।
डेनमार्क, स्पेन, फ्रान्स र द नेदरल्यान्डस्ले लडाकु विमानहरू र युद्धपोत पूर्वी युरोप र पूर्वी भूमध्यसागरमा पठाएका छन्।
स्वीडन र फिनल्यान्डले किन नेटो चाहेका हुन्?

तस्बिर स्रोत, Reuters
पुटिनले चालेका कदमले उत्तरी युरोपमा लामो समयदेखि महसुस गरिएको स्थायित्वलाई चकनाचुर पारिदिएको छ। त्यसले स्वीडन र फिनल्यान्डलाई जोखिम महसुस गराएको छ।
फिनल्यान्डका पूर्वप्रधानमन्त्री आलेक्साण्डर स्टबले फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेलगत्तै नेटोमा आबद्ध हुनु आफ्नो देशका लागि अपरिहार्य भएको बताएका थिए।
स्वीडनका रक्षा मन्त्री पेटर हल्टक्भिस्टले युद्धको दिनलाई रुसी नेताले "अप्रत्याशित, अविश्वसनीय र एउटा क्रूर, रक्तपातपूर्ण र निर्मम युद्धका लागि तयार" रहेको प्रमाणित गरेको क्षण भनी व्याख्या गरेका छन्।
गत नोभेम्बरमा स्वीडन कहिल्यै नेटोमा आबद्ध हुने छैन भन्ने वाचा गरेका उनले दुवै देशले हस्ताक्षर गरे नोर्डिक क्षेत्रको प्रतिरक्षा बलियो हुनेबारे बोलेका छन्।
अन्त्यमा फिनल्यान्ड र स्वीडनका नागरिकहरूले अनिश्चित युरोपमा नेटोले उनीहरूलाई सुरक्षित राख्ने विश्वास गरिरहेका छन्।








