युक्रेन-रुस युद्ध: रुसले युद्ध कमान्डर परिवर्तन गरेको पश्चिमा अधिकारीहरूको भनाइ

रुसी जेनरल

तस्बिर स्रोत, Kremlin

एक जना पश्चिमा अधिकारीले रुसले युक्रेनको कारबाहीको नेतृत्व हेरफेर गरेको पुष्टि गरेका छन्।

नयाँ जेनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको बताइएको छ।

बीबीसीका गर्डन करेरासँग नाम नखुलाउने शर्तमा उक्त स्रोतले बताए अनुसार रुसको दक्षिणी सैन्य जिल्लाका कमान्डर जेनरल अलेकसान्डर डीभोर्निकोभले युक्रेन आक्रमणको नेतृत्व गरेका छन्।

स्रोतले भन्यो, "यी कमान्डरसँग सिरियामा रुसी कारबाहीको लामो अनुभव छ। त्यसैले रुसी फौजमाथिको नियन्त्रण अब सुध्रिने अपेक्षा राख्न सकिन्छ।"

युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ।

यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेको बताइएको छ।

युद्धको ४४ औँ दिन पुग्दा रुसले उसको युद्धको लक्ष्य प्राप्त गर्न अहिलेसम्मको अवस्था हेर्दा कठिन रहेको, किएभ जस्ता मुख्य शहरमा नियन्त्रण जमाउन नसकेको र अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको छ।

ती अधिकारीका अनुसार रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले बुद्धिमानीपूर्वक र आश्चर्यमा पार्ने गरी विफल बनाउँदै आएका छन्।

ती अधिकारी भन्छन्, "रुसले आफ्नो रणनीति परिवर्तन गर्न नसकेसम्म उनीहरूले सीमित लक्ष्य पनि प्राप्त गर्न कसरी सफल होलान् भन्ने बताउन कठिन छ।"

ती अधिकारीका अनुसार "सैन्य प्राथमिकतामाथि राजनीतिक दृष्टिकोण हाबी हुन सक्छ र रुसले दोस्रो विश्व युद्धमा विजय प्राप्त गरेको दिन ९ मे अगाडि केही सफलता प्राप्त गर्ने प्रयत्न हुन सक्छ।"

line

गर्डन करेराको विश्लेषण

युद्ध रोक्ने गुप्तचरहरूको प्रयत्नको भित्री कथा

परम्परागत रूपमा गुप्तचरको दायित्व सबै कुरा गोप्य राख्ने हो। तर युक्रेनमाथि आक्रमणको खतरा बढ्दै गएपछि पश्चिमा गुप्तचर अधिकारीहरूले आफूलाई थाहा भएको कुरा विश्वलाई बताउने अस्वाभाविक निर्णय गरे।

फेब्रुअरीमा करिब एक दर्जन दिन गुप्तचरहरूको एउटा समूह अरु बेला भन्दा छिटो सुत्न जान थाले।

उनीहरूले सङ्कलन गरेको सूचनाले युद्ध हुन लागेको देखाउँथ्यो र यदि रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने त्यो बिहान सबेरै हुने निश्चित थियो।

"तर जब २४ फेब्रुअरीका दिन युक्रेनमाथि आक्रमण भयो त्यसमा विश्वास गर्न सुरुमा मुस्किल भयो", एक जना अधिकारी सम्झन्छन्, "त्यस दिन बिहान सबेरै उठेर रेडियो खोल्दासम्म पनि युद्ध साँच्चिकै भयो भनेर विश्वास गर्न गाह्रो भइरहेको थियो।"

महिनौँदेखि उनीहरूले यसैबारे सचेत गराउँदै आएका थिए।

उनी भन्छन्, "मानिसहरू त्यस दिन "किन तिमी आत्तिइरहेको?" बाट किन "तिमीले यस अघि नै अत्याएनौँ?" भन्न थालेका थिए।

"त्यहाँ आफूहरूको चेतावनी सही प्रमाणित भएकोमा कुनै सन्तुष्टि थिएन," अर्का अधिकारीले थपे।

तर जे भए पनि महिनौँदेखि ठूलो युद्ध हुन सक्ने भन्ने चेतावनी दिएर आफूहरूले युद्ध रोक्ने प्रयत्न गरेका थियौँ भन्ने उनीहरूले महसुस गरे।

line

जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध

जापानी प्रधानमन्त्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापानी प्रधानमन्त्री

यसैबीच जापानी प्रधानमन्त्री फुमिओ किशिडाले शुक्रवार प्रेस सम्मेलन गर्दै आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको र रुसी कोइला आयात पूर्ण रूपमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

किशिडाले पत्रकारहरूलाई भने, "रुसले सर्वसाधारणको हत्या र आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको बारम्बार उल्लङ्घन गरेको छ।"

जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ।

किशिडाले भने, "जापान युक्रेनको साथमा छ।"

जापान भारत र चीनपछि विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो। जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो।