युक्रेन-रुस युद्ध: लासहरूसँग बास र चेर्नीहिभ वरपरको कहाली

युक्रेन
    • Author, योगिता लिमये
    • Role, बीबीसी न्यूज, चेर्नीहिभ

यहिद्‌ने नगरस्थित एउटा विद्यालयमा भूमिगत तलाको सेतो र ओसिलो भित्तामा राखिएको पात्रोमा रातो घेरा लगाइएको छ। यो घेराले मार्च ५ बाट अप्रिल २ सम्मको करिब एक महिना गाउँका बासिन्दाहरूले भोगेको अकल्पनीय आघातको समय सङ्केत गर्छ।

किएभबाट १४० किलोमिटर उत्तर पश्चिममा रहेको यो गाउँ बेलारूस र रुसको सीमावर्ती सहर चेर्नीहिभसँगै जोडिएको छ। करिब एक महिना रुसी सेनाको कब्जामा रहेको यो सहरमा करिब १३० जना गाउँलेलाई करिब ६५ वर्ग मिटरको कोठामा चार साता राखिएको थियो।

रुसी सेनाहरूले बन्दुक तेर्स्याएर घर बाहिर निकालेका महिला, बालबालिका र वृद्ध वृद्धाहरूको समूहमा ६० वर्षका मिकोला क्लिमचुक पनि थिए। उनले हामीलाई उक्त भूमिगत तला देखाउने प्रस्ताव गरे।

भर्‍याङबाट तल झर्दै गर्दा कडा दुर्गन्ध महसुस थियो। कोठा एकदमै फोहोर थियो। डसना, लुगा फाटो, जुत्ता र पुस्तकहरू भुईँमा यत्रतत्र छरिएका थिए। एउटा कुनामा भाँडाकुँडाहरू थुपारिएका थिए।

मिकोलाले हामीलाई सिधै कोठाको पल्लो छेउमा पुर्‍याए।

"यो आधा मिटर ठाउँ मेरो लागि थियो। म यहाँ उभिएरै निदाएँ," उनले सुनाए। उनको गला अवरुद्ध भयो र रुन थाले।

"नलडूँ भनेर मैले आफ्नो शरीर स्कार्फले रेलिङमा बाँधेँ। यहाँ मेरा २५ रात यसरी नै बिते।"

मिकोलाका अनुसार त्यहाँ यताउता हिँड्दा पनि अरूलाई टेकिने डर हुन्थ्यो। यसरी कोचिएर राखिनेमा करिब ४० देखि ५० जना बालबालिका पनि थिए। जसमध्ये सबैभन्दा कम उमेरको बच्चा दुई महिनाको थियो।

चेर्नीहिभमा आक्रमण सुरु गरेको छोटो समयमै रुसी सैनिकहरू यहिद्‌ने जस्ता गाउँमा पुगिसकेका थिए। करिब ३००,००० मानिसहरूको बसोबास रहेको यो नगर हप्तौँसम्म बाहिरी सम्पर्कबाट अलग रह्यो।

रुसी सैनिकले सहर घेरा हालेर बमबारी गर्नुका साथै राजधानी किएभतर्फ जाने पुल समेत क्षतिग्रस्त बनाएर यहाँका बासिन्दालाई अन्यत्र भाग्ने ठाउँ समेत बन्द गरिदिएका थिए।

फर्केर आउने त्रास

किएभ कब्जा गर्ने आफूहरूको प्रयास असफल भएपछि अहिले रुसी फौज यो स्थानबाट फिर्ता भइसकेको छ।

रुसी सेना फिर्ता भएपछि यो ठाउँमा भएको भयावह अवस्थाबारे बुझ्न पहिलो पटक पुगेका केही सञ्चार माध्यममध्ये बीबीसी पनि एक हो। रुसी सीमा नजिकैका यो नगरका बासिन्दाहरू अझै पनि रुसी सैनिकहरू फर्केर आउने त्रासमा छन्।

मिकोला

पन्ध्र वर्षकी एनेस्टेसिया पनि भूमिगत तलामा आफ्ना बुबा र हजुरआमासँगै यहिद्‌नेमा थुनिएकी थिइन्।

"त्यहाँ कुनै कोठा थिएन। हामी उभिएरै बस्यौँ, उभिएरै निदायौँ। निदायौँ पनि के भन्नु, निदाउन सम्भव नै थिएन। वरिपरि बमहरू खसिरहेका थिए। त्यो असह्य अवस्था थियो," उनले भनिन्।

लासहरूसँगै बास

उनीहरू बसेको ठाउँमा हावा आवतजावत गर्ने कुनै माध्यम थिएन। झ्यालहरू ढाकिएका थिए।

"म बसेको अवधिमा १२ जनाको मृत्यु भयो," मिकोला भन्छन्।

मृतकहरू मध्ये धेरैजसो ज्येष्ठ नागरिकहरू थिए। मृत्युको कारण खुल्न नसके पनि मिकोला उनीहरूको निसास्सिएर ज्यान गएको ठान्छिन्।

मृत्यु भएका मानिसहरूको शरीर तत्कालै त्यहाँबाट हटाउन सक्ने स्थिति थिएन। रुसी सैनिकहरूले हरेक दिन त्यहाँबाट लास लैजान दिँदैन थिए। निरन्तरको बमबारीबीच बाहिर निस्कन खतरनाक पनि थियो।

यसको अर्थ लासहरू बाहिर लैजान सक्ने अवस्था नबनेसम्म बालबालिका सहित मानिसहरू कहिले घण्टौँसम्म र कहिले कैयौँ दिनसम्म पनि लासहरूसँगै बस्नुपर्थ्यो।

एनेस्टेसिया

एनेस्टेसिया निकै डराएकी मात्र छैनन् हप्तौँ सम्म बन्धक भएर बस्दाको अवस्थाका कारण उनी विचलित पनि बनेकी छिन्।

"त्यो निकै डरलाग्दो अवस्था थियो। म त्यहाँ मृत्यु भएका मानिसहरूलाई पनि चिन्छु," उनले भनिन्।

"उनीहरूले हामीलाई निकै राम्रो व्यवहार गर्थे, उनीहरूको बिना कुनै कारण मृत्यु भएकोमा मलाई धेरै दुःख लाग्यो।"

अधिकांश समय मानिसहरूलाई दिशा पिसाबका लागि समेत बाहिर निस्कन रोकेर भित्रै बसेर बाल्टीमा गर्न भनिन्थ्यो।

"साधारण अवस्थामा उनीहरूको मृत्यु नहुन सक्थ्यो। पुटिन युद्ध अपराधी हुन्," मिकोला भन्छन्।

"मेरा खुट्टाहरू सुन्निन थालिसकेका थिए तर मैले मेरी छोरी र नातिनीहरूका लागि म बाँच्नुपर्छ भन्ने मात्र सोचिरहेँ।"

मिकोलाले कुनै कुनै समय सैनिकहरूले मानिसहरूलाई बाहिर आफ्नो ढालको रूपमा प्रयोग गर्न बाहिर लैजाने गरेको बताए।

उनीहरूलाई दिनमा दुई पटक बाहिरपट्टि खुला स्थानमा आगो बालेर खाना पकाउन दिइन्थ्यो। यो गाउँका बासिन्दासँग खाना र पानीको भने कमी थिएन।

एक जना रुसी सैनिकले मिकोलालाई उनीहरू चार दिन मात्रै युक्रेनमा रहने बताएका थिए। त्यो अवधि किएभ कब्जा गर्न पर्याप्त हुने उनीहरूले ठानेका थिए।

प्रियजनका चिहानको खोजी

अप्रिल ३ मा रुसी सैनिक फिर्ता भएपछि अहिले यो ठाउँमा युक्रेनी सैनिकहरू पुगेका छन् र बन्धक बनाइएका गाउँलेहरूलाई नजिकैका स्थानमा उद्धार गरिएको छ।

"म राति पटक पटक ब्युँझिन्छु। मलाई गोली चलेको आवाज सुनिरहेजस्तो लाग्छ र मेरा अभिभावक भएका ठाउँमा दौडेर पुग्छु," एनेस्टेसिया भन्छिन्।

रुसी सैनिकहरूले चेर्नीहिभ वरपरका यहिद्‌ने जस्ता गाउँहरू कब्जा गर्दै सहर कब्जा गर्ने आधार बनाइरहेका थिए।

युक्रेन

तस्बिर स्रोत, EPA

तर उनीहरू सहरमा प्रवेश गर्न सकेनन्। यद्यपि उनीहरूले सहर ध्वस्त बनाएका छन्। अधिकारीहरूका अनुसार यहाँ करिब ३५० सर्वसाधारणहरू मारिएका छन्।

रुसी सैनिकहरू फिर्ता भएपछि स्वयंसेवकहरूले शवहरू पुर्ने काम गरिरहेका छन्। स्थानीय कपुरस्थानको एक भाग नयाँ चिहानहरूले भरिएको छ। लासहरू गाडिएका ठाउँमा पहिचानका लागि प्लाकार्ड राखिएको छ।

युद्धका कारण अलग भएका परिवारका अन्य सदस्यहरूले आफ्ना प्रियजनको चिहान खोजिरहेका छन्।

स्थानीय फुटबल रङ्गशालाको मैदानमा बमले ठूलो खाडल बनाएको छ। मानिसहरू बस्ने ठाउँमा अर्को बमले प्लास्टिक बस्ने ठाउँ र धातुका रेलिङहरू उछिट्टाएको छ।

युक्रेनी अधिकारीहरूले बम रुसी विमानबाट प्रहार गरिएको बताएका छन्।

रङ्गशाला नजिकै एक ऐतिहासिक घरमा बनाइएको बाल पुस्तकालयमा नराम्रोसँग क्षति पुगेको छ।

चर्नीहिभको उत्तरी क्षेत्रको नोभोस्लेभ्कामा आँखाले देखिने जति क्षेत्रमा विनाश मात्रै देखिन्छ।

घरहरू उभिएका ठाउँमा ढुङ्गा र इटाका थुप्राहरू छन्। हामीले बच्चाको ज्याकेट र खेलौनाहरू छरिएको देख्यौँ। अगाडि बढ्दै जाँदा बमले बनाएका खाडलहरूको सङ्ख्या अझै धेरै भेटिए।

'हामीलाई किन पहिल्यै सचेत गराइएन?'

साइकलमा रहेका एकजना महिला र बच्चाले हामीलाई पछि पछि आउन सङ्केत गरे।

बैसठ्ठी वर्षकी निना भुनिस्ककी छोरीले आफ्नो खुट्टा गुमाएकी छिन्। उनका १० वर्षीय नातिसँगै रहेकी भुनिस्कले हामीलाई बमले ध्वस्त भएको आफ्नो घर देखाइन्।

"केही पनि बाँकी छैन," उनले भनिन्।

आफ्नो घरमा बम प्रहार भएपछि उनीहरू अर्को व्यक्तिको घरमा भूमिगत तलामा बसिरहेका थिए। त्यो घर पनि बमले उडाइदियो।

"हामीलाई बमले उछिट्टाउँदा कसैको होस उड्यो कोही घाइते भयो। होस खुल्दा मेरी छोरी आमा मेरो खुट्टा छैन भन्दै चिच्याइरहेकी थिइन्," उनले सुनाइन्।

निना

उनको परिवारका चार पुस्ता यो घरमा हुर्किएका छन्। "एकै क्षणमा केही बाँकी रहेन। अब आउँदो जाडोमा कहाँ बस्ने मलाई केही थाहा छैन," उनले भनिन्।

"हाम्रो सरकारले हामीलाई किन पहिल्यै सचेत गराएन। हाम्रो उद्धार किन गरिएन?"

उनी खुट्टा गुमाएकी आफ्नी छोरीका लागि कृत्रिम खुट्टा किन्ने अवस्थामा छैनन्।

रुसले जारी गर्ने वक्तव्यहरूमा उनीहरूले सर्वसाधारणलाई निशाना नबनाएको उल्लेख छ। "तर (पुटिनले) सरासर झुटो बोलिरहेका छन्। अस्पतालमा खुट्टा गुमाएकी महिला छिन् सत्य त्यो हो," निना भन्छिन्।

"शल्यक्रियाको खर्च पुटिनलाई तिराउनुपर्छ। हाम्रा घरहरू उनैलाई बनाउन लगाउनुपर्छ। किन भने उनले यही चाहेका थिए होइन र? यो सबै उनैलाई तिराऊँ,।"

(इमोजन एन्डरसन एनास्टसीया लेभचेन्को र डारिया सिपिजिनाको थप रिपोर्टिङसहित)