युक्रेन-रुस युद्ध: क्रेमलिनका प्रवक्ताद्वारा रुसी फौजतर्फ ठूलो 'क्षति' भएको स्वीकार

तस्बिर स्रोत, Getty Images
युक्रेनमाथि आक्रमण गरेको ४४ औँ दिन पुग्दा युद्धमा "ठूलो क्षति बेहोरेको" रुसले स्वीकार गरेको छ।
राष्ट्रपतिका प्रवक्ता दीमित्री पेस्कोभले ब्रिटिश टेलिभिजन च्यानल स्काइ न्यूजलाई रुसी सेनाको क्षति "हाम्रालागि ठूलो दु:खान्त हो" भनेका छन्।
उनले मस्कोले उसको युद्धको लक्ष्य "आउँदा दिनमा" प्राप्त गर्नेछ भन्ने आशा राखेको बताए।
संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्बाट बुधवार रुसलाई निष्कासन गरेपछि पेस्कोभको त्यस्तो प्रतिक्रिया आएको छ।
संयुक्त राष्ट्र सङ्घका १९३ मध्ये ९३ देशले रुसको विरुद्धमा मतदान गरेका थिए।
उनीहरूले रुसले आफ्नो नियन्त्रणमा रहँदा बुचा शहरमा गरेको आम मानव अधिकार उल्लङ्घनको आलोचना गरेका थिए।
त्यसको प्रतिक्रियामा रुसले परिषद्बाट राजीनामा दिएको छ।
परिषद्ले युक्रेनमा जारी मानव अधिकार तथा मानवीय सङ्कटप्रति गहिरो चासो व्यक्त गरेको छ। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बोरोदीयङ्कामा थप अत्याचार गरेको बताएका छन्।
पेस्कोभले बुचामा भएको आम हत्यामा रुसी सेना जिम्मेवार रहेको आरोप अस्वीकार गर्दै स्काइ न्यूजलाई "हामी झुटा र असत्य समाचार भोगिरहेका छौँ" भने।
उनले कुनै आधारबिना नै उक्त शहरमा मारिएका भनिएका व्यक्तिका तस्बिरहरू नक्कली भएको बताए।
तर उनले रुसले त्यहाँ ठूलो सङ्ख्यामा आफ्ना सैनिक गुमाएको बताए।
२५ मार्चका दिन रुसको रक्षा मन्त्रालयले युद्धमा उसका १,३५१ जना सैनिक मारिएको बताएको थियो।
युक्रेनले भने १९ हजार रुसी सैनिक मारिएको बताएको छ।
रुस र युक्रेनको अनुमानित रुसी फौज मारिएको भन्ने तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
र विश्लेषकहरूले रुसले आफ्नो तर्फको सैन्य हताहती सङ्ख्यालाई घटाएको हुनसक्ने ठानिरहेका छन् र युक्रेनले आफ्नो नैतिक बल बलियो बनाउन सङ्ख्या बढाएको हुन सक्ने ठान्छन्।
पश्चिमा नेताहरू ७ हजारदेखि १५ हजार रुसी सेना मारिएको विश्वास गर्छन्।
सन् २००० देखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता रहँदै आएका पेस्कोभले रुसले युद्ध अन्त्यका उपायको खोजी गरिरहेको दाबी गरेका छन्।
"हाम्रा सेनाले सैन्य कारबाही अन्त्य गर्न सक्दो गरिरहेका छन्" उनले भने।
"र हामी आशा गर्छौँ कि आउँदा दिनमा निकट भविष्यमै युक्रेनी र रुसी प्रतिनिधिबीच सम्झौता भएर रुसको कारबाहीले आफ्नो लक्ष्य प्राप्त गर्नेछ।"
रुसले किएभबाट आफ्ना सेना पछाडि हटाएको छ र उसको युद्धलाई पूर्वी युक्रेनी क्षेत्रमा केन्द्रित गरेको छ तर लडाइँ अन्त्य हुने सङ्केत देखिएको छैन।
युक्रेनका उपप्रधानमन्त्रीले पूर्वी युक्रेनका बासिन्दालाई भाग्न सकेसम्म भाग्न भनेका छन् र त्यहाँ गोलाबारी भइरहेका कारण उद्धारको काममा अवरोध उत्पन्न भएको छ।

तस्बिर स्रोत, Getty Images
युक्रेनमा युद्ध अपराध भइरहेको आरोप लगाउने पश्चिमा राज्यहरूले बिहीवार रुसी अर्थतन्त्रमाथि थप प्रतिबन्ध लगाएका छन्।
अमेरिकी सिनेटले मस्कोलाई उसको "मोस्ट फेभर्ड नेसन" व्यापार स्थितिबाट हटाउन सर्वसम्मत मतदान गरेको थियो। त्यसपछि प्ल्याटिनम रासायनिक पदार्थ फलाम र स्टीलमा नयाँ कर लगाइएको छ।
र रुसी कोइला आयातमा आगामी १२० दिनमा क्रमशः प्रतिबन्ध लगाउन युरोपेली सङ्घ पनि सहमत भएको छ । युरोपमा प्रति वर्ष ४ अर्ब डलर बराबरको कोइला आयात हुने गरेको छ।
रुसको संसद्मा प्रधानमन्त्री मिखायल मिशुस्टिनले वृहत् आर्थिक नाकाबन्दीका कारण रुसमा दशकौँ यताको नराम्रो आर्थिक समस्या उत्पन्न भएको बताएका छन्।
उनले भने "अहिलेको अवस्थालाई तीन दशक यताकै सबभन्दा कठिन समय भएको छ यस्ता प्रतिबन्ध त शीत युद्धको कठोर दिनमा समेत लगाइएको थिएन।"
तर उनले पश्चिमा प्रतिबन्धको असर सीमित भएको भन्दै समग्र अर्थतन्त्रको मुख्य पाटो आर्थिक प्रणालीले भरथेग गरेको दाबी गरे।
फेब्रुअरी महिनाको अन्त्यतिर ऐतिहासिक रूपमै रुबलको मूल्य असाध्यै तल झरे पनि अहिले युद्ध अगाडिको स्थितिमा फर्केको छ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमा सरकारबाट थप हतिया माग गरेका छन् । उनले "त्यस्तो हतियारले युद्ध मैदानमा युक्रेनीहरूले जित्नेछन् जुन रुस विरुद्धको सबभन्दा ठूलो नाकाबन्दी हुनेछ" भनेका छन्।






















