युक्रेन-रुस युद्ध: किएभबाट रुसी सेना फिर्ता भएको अमेरिकी रक्षा मन्त्रालयको भनाइ

तस्बिर स्रोत, Ge#
अमेरिकी रक्षा अधिकारीहरूले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएका छन्।
"रुसी फौजहरू किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएका छन्," पेन्टागनका एक अधिकारीले बुधवार भने।
"हामीले किएभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ," पेन्टागनका प्रवक्ता जोन किर्बीले भने।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो "रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल" गरेको दाबी गरेका छन्।
"उनले (पुटिन) थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका छन्," उनले भने। "उनीहरूले खार्किभ पनि लिन सकेका छैनन्।"
रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै किएभ र चेर्निहिभबाट फौज फिर्ता भएका हुन्।
पेन्टागनका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा रुसी फौजहरू भविष्यमा किएभतर्फ फर्कन सक्ने बताएका छन्।
तर अहिले फिर्ता गरिएको फौज नै फर्कने वा अर्को फौज पठाउनेबारे अझै स्पष्ट नरहेको ती अधिकारीले बताए।
इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले "केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम" रहेको बताएको छ।
ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन्।
समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४,००० रुसी फौज फिर्ता भएको जनाएको छ।
पूर्वी युक्रेनमा लडाइँ चर्कँदै
बीबीसी संवाददाता जोनाथन बीएलका अनुसार पूर्वी युक्रेनमा रुसी सैन्य कारबाही थप चर्किएको छ।
रुस र उसका समर्थकहरूले युक्रेनका पुराना औद्योगिक नगरहरू लुहान्सकको ९० प्रतिशत र डोनेट्स्कको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन्।

तस्बिर स्रोत, Reuters
युक्रेन फौजले यो क्षेत्रमा विगत आठ वर्षयता युद्ध लडिरहेको छ।
डोन्बास क्षेत्रमा खटाइएका सैन्य टुकडीहरूमा युक्रेनका सबैभन्दा तालिमप्राप्त र राम्रा हतियार लिएका सैनिकहरू समावेश छन्।
रुसी फौजले उत्तर, पूर्व र दक्षिणबाट घेरा हालेको यो क्षेत्र छिट्टै युक्रेनसँग सम्पर्क टुट्ने जोखिममा छ।
युक्रेनी शरणार्थी मेक्सिकोमा
हजारौँ युक्रेनी शरणार्थीहरू अमेरिकाको क्यालिफोर्निया सीमा नजिक मेक्सिकोमा जम्मा भएका छन्।
अमेरिकामा शरण खोज्दै उनीहरू अमेरिका-मेक्सिको सीमा नजिक भेला भएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले गत महिना अमेरिकाले एक लाख युक्रेनी शरणार्थीहरूलाई आश्रय दिने बताएका थिए।

तस्बिर स्रोत, Getty Images
अमेरिकास्थित बीबीसीको साझेदार सञ्चार माध्यम सीबीएस न्यूजले हरेक दिन करिब १५० जना युक्रेनीले अमेरिकामा शरण पाइरहेको जनाएको छ।
युक्रेनबाट युद्धका कारण विस्थापित भएकाहरू पर्यटक भिसामा मेक्सिको पुगेर अमेरिकी सीमाबाट शरण मागिरहेका छन्।
सीबीएस न्यूजका अनुसार बुधवारसम्म १,७०० शरणार्थीहरू सीमा नजिकका सहरमा भेला भएका छन्।
गत फेब्रुअरीमा युद्ध सुरु भएयता ४२ लाख युक्रेनीहरूले देश छाडिसकेका छन्। जसमध्ये धेरैले छिमेकी पोल्याण्ड र रोमानियामा आश्रय लिइरहेका छन्।









