युक्रेन-रुस युद्ध: बोरोदियाङ्काको क्षति बुचा सहरमा भन्दा 'निकै धेरै भयानक' रहेको जेलेन्स्कीको दाबी

युक्रेन

तस्बिर स्रोत, Getty Images

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा ''निकै धेरै भयानक'' रहेको बताएका छन्।

उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए।

बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ''रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।''

युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाइन्।

उनका अनुसार आक्रमण भएको क्षेत्रमा सैन्य पूर्वाधार छैन।

युक्रेन

तस्बिर स्रोत, getty images

''(रुसी सेनाले) साँझको बेला आवासीय भवनहरूमा आक्रमण गरेका थिए जति बेला तुलनात्मक रूपमा धेरै मानिस घरमा हुन्छन्,'' भेनेडिक्टोभाले भनिन्।

बुचामा के भएको थियो?

हालसालै जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला '३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको' आरोप लगाएका थिए।

युक्रेनी राष्ट्रपतिले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए।

जेलेन्सकी

तस्बिर स्रोत, EPA

उनले हाल आफूहरूसँग बुचामा मात्रै '३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको' बताउँदै पुरै सहरमा अनुसन्धान गरिँदा पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट प्राप्त पछिल्लो विवरणबारे टिप्पणी गर्दै रुसको निन्दा गरेका छन्।

यसैबीच स्काइ न्यूजसँगको अन्तर्वार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले युक्रेनमाथिको आक्रमणलाई एउटा गम्भीर कारबाहीको संज्ञा दिएका छन्।

तर उनले युद्धमा रुसलाई भएको क्षति नखुलाएको बताँउदै बीबीसी संवाददाता डेनी एबरहर्ड भन्छन्, ''उनले रुसतर्फ कति क्षति भयो भन्ने कुराको सङ्ख्या खुलाएनन् तर आफ्नो देशको लागि व्यापक दुखद घटना रहेको बताए। हालसम्म मस्कोले १,३५० जनाको मृत्यु भएको पुष्टि गरेको छ जुन युक्रेन र उसका सहयोगी राष्ट्रले भन्ने गरेको भन्दा निकै कम हो।''

चेर्नीहिभमा मानिसहरूलाई नियन्त्रणमा लिइएको प्रमाण

यसैबीच, रुसी सेनाले उत्तरी सहर चेर्नीहिभस्थित एउटा विद्यालयको भुईँ तल्लामा एक महिनासम्म एकसय भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको प्रमाण बीबीसीले प्राप्त गरेको छ।

भिडभाडका कारण त्यहाँ केहीले उभिएरै निदाउनुपर्ने अवस्था उत्पन्न भएको थियो।

त्यहाँ १२ जना मारिएका थिए र उनीहरूको शव कैयौँ दिन सम्म भुईँ तल्लामै राखिएको थियो।

उक्त स्थानबाट रुसी सेना फर्किनुअघि दशौँ हजार मानिसहरूले कठिन परिस्थितिको सामना गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनको रक्षार्थ डेनिस