युक्रेन युद्धः के युरोपेली सङ्घ ईयूले युक्रेनलाई सदस्यता देला, रुसले कस्तो प्रतिक्रिया जनाउला

ईयू

तस्बिर स्रोत, Getty Images

युरोपेली सङ्घ (ईयू) का नेताहरूको एउटा शिखर बैठकले युक्रेनलाई ईयूको औपचारिक उम्मेदवारको हैसियत प्रदान गरेको युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशलले घोषणा गरेका छन्।

रुसले गत फेब्रुअरी महिनाको अन्तिम साता युक्रेनमा आक्रमण गरेको केही दिनपछि किएभले ईयू सदस्यताका लागि आवेदन दिएको थियो। त्यसपछि तीव्र गतिमा प्रकिया अघि बढ्यो।

युक्रेनी राष्ट्रपतिले उक्त निर्णयको स्वागत गरेका छन्।

बिहीवारको निर्णयपछि रुसले प्रतिक्रियास्वरूप आक्रमण बढाउन सक्ने चेतावनी भ्लोदिमिर जेलेन्स्कीले दिएका छन्।

ईयू के हो?

ईयू २७ वटा युरोपेली देश मिलेर बनेको एउटा आर्थिक र राजनीतिक सङ्घ हो जुन दोस्रो विश्वयुद्धको नतिजाको पृष्ठभूमिमा स्थापित भएको थियो।

सदस्य राष्ट्रहरूबीच सामान, सेवा र पैसा खुला रूपमा आदानप्रदान गर्न सकिने व्यवस्था छ।

ईयू र युक्रेनी झण्डा

तस्बिर स्रोत, Getty Images

ईयूका नागरिकहरू उक्त सङ्घभित्र जहाँसुकै बस्न र काम गर्न सक्छन्।

उसले एउटै युरोपेली मुद्राको रूपमा यूरो चलाउँछ र २७ सदस्यमध्ये १९ देशका ३४ करोड मानिसहरूले यो मुद्रा प्रयोग गर्छन्।

खाद्यसुरक्षा, खेतीपाती र रोजगारीका अधिकारसहित कैयौँ क्षेत्रमा सदस्यराष्ट्रहरूबीच एउटै साझा मापदण्ड लागु हुन्छ।

ईयूले युरोपमा गरिबीमा रहेका क्षेत्रलाई आफ्नो अर्थतन्त्र सुधार्न अनुदान दिने गर्छ।

युक्रेनले किन ईयूमा सहभागी हुन खोजेको हो?

फेब्रुअरी २०२२ मा रुसले युक्रेन अतिक्रमण गरेको पाँच दिनपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयू सदस्यताको आवेदन प्रक्रिया सुरु गरेका थिए।

उनले तत्काल आबद्ध हुन पाउन आग्रह गरे तापनि यो प्रक्रियामा वर्षौँ लाग्न सक्छ।

युक्रेनले फेब्रुअरीमा ईयूसँग आबद्ध हुन निवेदन दर्ता गरेको थियो

तस्बिर स्रोत, Gertty Images

तस्बिरको क्याप्शन, युक्रेनले फेब्रुअरीमा ईयूसँग आबद्ध हुन निवेदन दिएको थियो

ईयूमा संलग्न हुँदा विभिन्न आर्थिक लाभ हुन सक्छ।

तर ब्रसल्सस्थित एक थिङ्कट्याङ्क सेन्टर अफ युरोपियन पोलिसी स्टडीजका डा. ज्याच पाकिनले युक्रेनको मुख्य उद्देश्य आर्थिक नभएको तर्क गरेका छन्।

"ईयूको सदस्यताले युक्रेनलाई बलियो गरी एउटा स्वतन्त्र, सार्भभौम युरोपेली देशको रूपमा स्थापित गर्नेछ," उनी भन्छन्। "केवल रुसी विश्वको पाटोको रूपमा मात्र नभएर।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाको विमानसँग आकाशमा यसरी भयो जम्काभेट

देशहरू कसरी ईयूमा आबद्ध हुन्छन्?

सुरुमा ईयूको दैनिक प्रशासनिक निकाय युरोपेली आयोगले उम्मेदवारीका लागि देशहरू योग्य भए नभएको समीक्षा गर्छ।

उक्त देशमा स्थिरता, प्रजातान्त्रिक सरकार, मानवाधिकारप्रतिको सम्मान र खुलाबजार अर्थतन्त्र भए नभएको बुझ्छ।

कुनै देशलाई उम्मेदवारको हैसियत प्रदान गर्न ईयूका सबै विद्यमान सदस्यहरू सहमत हुनुपर्छ।

यदि सफल भएमा उक्त देशले ईयूका सबै कानुन र नियमहरू अवलम्बन गर्नुपर्छ।

त्यसले सामान्यत: कैयौँ वर्ष लिन्छ।

अन्तत: उम्मेदवार देशले प्रवेशसम्बन्धी सन्धिमा हस्ताक्षर गर्छ जसलाई अन्य ईयू देशहरूले अनुमोदन गर्नुपर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुनै देशलाई तह लगाउन प्रतिबन्धहरू कति प्रभावकारी

ईयूमा आबद्ध हुन कति समय लाग्छ?

बल्गेरिया, रुमेनिया र कोस्टारिका ईयूका नयाँ सदस्य हुन्। तिनलाई समग्र प्रक्रिया पूरा गर्न १० देखि १२ वर्ष लागेको थियो।

एल्बेनिया, नोर्थ म्यासडोनिया, मोन्टिनीग्रो र सर्बिया वर्षौँदेखि औपचारिक उम्मेदवारका रूपमा छन्। तर उनीहरूको आवेदन अझै अगाडि बढ्न सकेको छैन।

टर्की सन् १९९९ मा उम्मेदवार बनेको थियो। यद्यपि उसका प्रवेशसम्बन्धी वार्ताहरू सो देशको मानवाधिकारको अवस्थालाई लिएर रोकिए।

युक्रेनको छिमेकी मोल्डोभा युक्रेनसँगै उम्मेदवारका रूपमा स्वीकृत भयो।

तर आवेदन दिएको जोर्जालाई भने थप सुधारहरू गर्न आवश्यक रहेको भनियो।

1px transparent line

युक्रेन कसरी ईयूका लागि उपयुक्त हुन्छ?

  • ईयूभित्रको सबैभन्दा ठूलो भूभाग हुने देश: ६,०३,५५० वर्गकिलोमिटर
  • जनसङ्ख्याका हिसाबले पाँचौँ स्थानमा: ४.४१३ करोड
  • युक्रेनको वार्षिक प्रतिव्यक्ति जीडीपी आय: ३,७२४ अमेरिकी डलर (ईयूको औसतको नौ भागको एक भाग)
  • उसले अहिले नै ईयूलाई उसको आयातको ३० प्रतिशत खाद्यान्न बेच्छ
1px transparent line

युक्रेनको ईयूसँग अहिले कस्तो सम्बन्ध छ?

सन् २०१७ यता एउटा सहमतिअनुसार युक्रेनले ईयू देशहरूसँग कुनै अतिरिक्त शुल्कबिना व्यापार गर्न पाइरहेको छ।

उक्त देशले त्यसअघि नै सन् २०१६ मा ईयूको डीप एन्ड कम्प्रिहेन्सिभ फ्री ट्रेड एरियामा आबद्ध भएर सस्तो अतिरिक्त शुल्कहरू तिर्दै आएको थियो।

सदस्यताका लागि तयारी गर्ने क्रममा युक्रेनले आफ्ना कैयौँ कानुन र नियमहरू ईयू मापदण्डका हुनेगरी संशोधन गरिसकेको छ।

युक्रेनले अब थप के गर्नुपर्छ?

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लियनले "राम्रो काम भएको" तर युक्रेनले थप "महत्त्वपूर्ण सुधारहरू" गर्नुपर्ने बताएकी छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लियन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, युरोपेली आयोगकी अध्यक्षले युक्रेनले "महत्त्वपूर्ण सुधारहरू" गर्नुपर्ने बताएकी छन्

तिनमा कानुनी शाशनलाई बलियो बनाउने, मानवाधिकारको अवस्था सुधार गर्ने, कुलीन वर्गहरूको शक्ति कम पार्ने र भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता कुरा छन्।

"युक्रेनका लागि पूर्णरूपमा बजार अर्थतन्त्र विकास गर्नुपर्ने आवश्यकता समेत छ," अनुसन्धानकर्ता ज्याच पाकिनले भने, "जुन कुनै बेलाको सोभियत गणराज्यका लागि गाह्रो छ।"

अर्को चुनौती भनेको युक्रेनको न्यायिक प्रणाली सुधार गर्नु हो जुन व्यापक रूपमा आलोचित बन्ने गरेको छ।

नवप्रवेशीहरूलाई सङ्घको सदस्यताले कस्तो सहायता गरेको छ?

पन्ध्र वर्षअघि ईयू प्रवेश गरेपछि रुमेनियाको राष्ट्रिय आय तीन गुनाले र बल्गेरियाको दुई गुनाले बढेको छ।

ईयूले युरोपियन स्ट्रक्चरल एन्ड इन्भेस्टमन्ट फन्ड्समार्फत् ती दुई देशलाई दशौँ अर्ब यूरो दिएको छ।

उक्त कोषले नयाँ सडक र बन्दरगाह निर्माणजस्ता आर्थिक विकासका काममा सघाउँछ।

सन् २०१४ र २०२० मा बल्गेरियाले ११.२ अर्ब यूरो र रूमेनियाले ३५ अर्ब यूरो पाएका छन्।

यद्यपि ट्रान्सपरेन्सी इन्टरन्याश्नलका अनुसार त्यसको धेरै पैसा भ्रष्टाचारका कारण हराएको छ।

तलब, स्वास्थ्य र शिक्षाका हिसाबले बल्गेरिया ईयूमा अलिक तल छ तर रुमेनिया भने गरिबी घटाएर विपन्न देशको सूचीमा दोस्रोबाट छैटौँ स्थानमा पुगेको छ।

झन्डै १५ लाख बल्गेरियाली नागरिकहरू र ४० लाख रुमेनियाली नागरिकहरूले ईयूको "फ्रीडम अफ मुभमन्ट" नीति प्रयोग गरेर विदेशयात्रा गरेको विश्व ब्याङ्कले जनाएको छ।

आलोचकहरूले जसले गर्दा "ब्रेन ड्रेन" भएर दुवै देशलाई भविष्यमा हानि पुग्न सक्ने चिन्ता रहेको बताएका छन्।

रुसी प्रतिक्रिया

नेटो सैन्य गठबन्धनमा जोडिने युक्रेनको पुरानो चाहनाप्रति रुसी राष्ट्रपति पुटिन निकै असन्तुष्ट भए पनि उनले युक्रेन ईयू सदस्य हुने विषयमा आफू "विरोधमा नभएको" मा बताउने गरेका छन्।

यद्यपि उनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार क्रेम्लिनले युक्रेनको आवेदनप्रति "अझ ध्यान" दिने बताएका छन्।

ईयूले आफ्नै प्रतिरक्षा सेना बनाउनेबारे सोचिरहेको भन्दै पेस्कोभले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

"सैन्य, प्रतिरक्षा र सुरक्षाका पक्षहरू छलफल भइरहेका छन्," उनले भने। "हामीले अवश्य पनि यसलाई सूक्ष्म रूपले हेरिरहेका छौँ।"

युक्रेनी राष्ट्रपतिले रुसले यस कदमविरुद्ध कडा व्यवहार देखाउन सक्ने चेतावनी दिएका छन्।

"अवश्य पनि हामीले रुसबाट अझ बढ्ता शत्रुतापूर्ण गतिविधि हुन सक्ने सोच्नुपर्छ," भोलोदिमिर जेलेन्स्कीले भने।

"युक्रेनविरूद्ध मात्र होइन अन्य युरोपेली देशविरुद्ध पनि।"