युक्रेन युद्ध: पश्चिमा देशले लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्र किएभलाई उपलब्ध गराए आक्रमण थप विस्तार गर्ने रुसी राष्ट्रपतिको चेतावनी

रुस युक्रेन युद्ध

तस्बिर स्रोत, Getty Images

यदि पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो।

रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ।

युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन्।

रुसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुन: केन्द्रित गरेको थियो।

रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ। उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन्।

हालै मात्र अमेरिकाले एम-१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो।

त्यसले हाल युक्रेनसँग रहेका त्यस्ता प्रणालीभन्दा निकै परसम्म र सटीक ढङ्गले निसानामा प्रहार गर्नसक्छ।

त्यसको क्षमता ७० किलोमिटरसम्म प्रहार गर्नसक्ने रहेको बताइएको छ।

ह्वाइट हाउसका अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ती प्रणालीहरू रुसी सीमाभित्र प्रहार गर्न प्रयोग गरिँदैन भनेर आश्वस्त पारेपछि मात्र किएभलाई उपलब्ध गराउन सहमत भएको बताएका छन्।

रुस युक्रेन युद्ध

तस्बिर स्रोत, Reuters

अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश छन्।

रुसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउनका निम्ति युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस-टी पठाउने प्रतिबद्धता जनाएको छ।

आइतवार रुसी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले भने, "सामान्यत: मेरो विचारमा अतिरिक्त अस्त्र आपूर्तिबारे भइरहेका यी सबै हल्लाहरूको एउटै उद्देश्य छ- सकेसम्म धेरै समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउनू।"

उनले अमेरिकाले अहिले के आपूर्ति गरिरहेको छ भन्ने कुरा "नयाँ कुरा नभएको" बताए।

तर उनले लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमविरुद्ध चेतावनी दिँदै भने, "यदि ती आपूर्ति गरिएमा हामी उपयुक्त निष्कर्ष निकाल्नेछौँ र ती लक्ष्यहरूमा हाम्रा अस्त्रहरू प्रहार गर्नेछौँ जहाँ हामीले अहिलेसम्म प्रहार गरेका छैनौँ।"

उनले त्यसका लागि आफूहरूसँग पर्याप्त अस्त्रहरू पनि रहेको बताएका छन्।

युक्रेनी उपरक्षामन्त्रीले रुसलाई हराउनका निम्ति मद्दत गर्नका लागि अस्त्रहरूको निरन्तर आपूर्ति जारी राख्न पश्चिमी देशहरूलाई आग्रह गरेकी छन्।