रुस-युक्रेन युद्ध: पूर्वी युक्रेनमा लडाइँ चर्कँदा किएभमा कैयौँ विस्फोटन

तस्बिर स्रोत, Reuters
युक्रेनी राजधानी किएभमा हप्तौँपछि रुसले पहिलो पटक आक्रमण गर्दा विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन्।
आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए।
कम्तीमा एक जना व्यक्ति घाइते भएका खबर आएको छ।
रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा हालैका महिनाहरूमा किएभमा आक्रामक गतिविधिहरू रोकिएका थिए।
भीषण लडाइँ
अहिले सबैभन्दा भीषण लडाइँ सेभरोडोनेट्स्क सहरमा भइरहेको छ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले त्यहाँको अवस्था 'ज्यादै कठिन' रहेको भन्दै गल्लीगल्लीमा लडाइँ भइरहेको जनाएका छन्।
उक्त सहरलाई नियन्त्रणमा लिनसकेमा लुहान्स्क क्षेत्र रुसी फौज र उसका स्थानीय पृथकतावादी साझेदारहरूको नियन्त्रणमा पुग्नेछ।
ती समूहले नजिकैको डोनेट्स्क क्षेत्रका लगभग अधिकांश क्षेत्र नियन्त्रणमा लिइसकेका छन्।
पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर 'हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र आक्रमणहरू' गरिएका भए पनि युक्रेनी फौजले डटेर सामना गरिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

तस्बिर स्रोत, EPA
शनिवार लुहान्स्कका गभर्नरले युक्रेनी फौजहरू अझै पनि सेभरोडोनेट्स्कमा लडिरहेको र उनीहरूले पश्चिमा साझेदारहरूले सहयोग स्वरूप उपलब्ध गराएको अस्त्रहरू कुरिरहेको बताएका थिए।
"जति चाँडो हामीसँग लामो दूरीमा हान्ने क्षमताका पश्चिमा अस्त्रहरू हुन्छन्, हामीले उनीहरूका गोलाबारीलाई पछि धकेल्न सक्छौँ। मलाई विश्वास गर्नूस्, त्यसपछि रुसी फौजहरू भाग्नेछन्।"
किएभ आक्रमणको अर्थ
लडाइँका कारण सेभरोडोनेट्स्कका अधिकांश क्षेत्र भग्नावशेषमा परिणत भएका छन् तर हजारौँ सर्वसाधारणहरू अझै पनि घरका भूमिगत भागमा लुकेर बसेका छन्।
गभर्नर हाईडाईका अनुसार रुसी फौजहरूले युक्रेनलाई थप सैन्य सामग्री ल्याउनबाट रोक्न र सर्वसाधारणहरूलाई मानवीय सहायता उपलब्ध गराउन नदिन नदीमा निर्मित पुललाई ध्वस्त बनाइरहेका छन्।
गएको फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनविरुद्ध हमला गरेयता दशौँ हजार मानिसहरूले ज्यान गुमाएका छन् भने दशौँ लाख विस्थापित भएका छन्।
युद्धविराम गराउने कूटनीतिक प्रयासपनि यो बीचमा अघि बढाइएका थिए।
युक्रेनी राजधानी किएभमा जनजीवन सामान्य जस्तो बन्न थालिरहेको देखिएको थियो।
यस्तोमा त्यहाँको आकाशमा देखिएको कालो धुवाँको मुस्लोले उक्त सहर अझै युद्धमा छ भन्ने कुरा सम्झाएको बीबीसीका जो इनवुड बताउँछन्।
किएभका मेयर भिताली क्लित्स्कोले ती विस्फोटनहरू सहरको केन्द्रबाट पश्चिममा रहेका जिल्लाहरूमा भएको बताएका छन्।








