युक्रेन युद्धः विश्व ब्याङ्कद्वारा विश्वभरि आर्थिक मन्दीको चेतावनी, हाम्रो जीवन कहिलेसम्म कष्टपूर्ण होला

युक्रेन युद्ध

तस्बिर स्रोत, Getty Images

कोभिड महामारीका कारण नराम्ररी प्रभावित भएको अर्थतन्त्रलाई युक्रेन युद्धले थप असर गर्दा विश्वभरि आर्थिक मन्दी भएको विश्व ब्याङ्कले बताएको छ।

युरोप र पूर्वी एशियाका अल्पविकसित देशहरूले "ठूलो मन्दी"को सामना गर्नुपरेको उसको भनाइ छ।

विश्व ब्याङ्कका अध्यक्ष डेभिड माल्पासले उच्च मुद्रास्फीति र न्यून वृद्धिको जोखिम धेरै भएको बताए।

विश्वमा ऊर्जा र खानेकुराको भाउ उच्च भएको उनको भनाइ छ।

उनले भने, "युक्रेन युद्ध, चीनको लकडाउन, आपूर्ति चक्रमा अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिलाई प्रहार गरिरहेको छ। धेरै देशलाई मन्दीबाट बच्न गाह्रो हुनेछ।"

उनले विश्व ब्याङ्कको जुन महिनाको विश्वव्यापी आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा मुद्रास्फीतिको जोखिम "धेरै" रहेको चेतावनी दिएका हुन्।

'वर्षौँसम्म जीवनयापन कठिन बन्न सक्छ'- विश्लेषण

दर्शिनी डेभिड, विश्व व्यापार संवाददाता

युक्रेनमा रुसको आक्रमण भएको सय दिनभन्दा बढी भइसकेको छ। तर अहिले आएर मात्र त्यहाँबाट हजारौँ किलोमिटर टाढा अवस्थित राष्ट्र र घरपरिवारलाई गम्भीर रूपमा आघात पार्ने तरङ्गहरू स्पष्ट हुँदै गएका छन्।

विकासोन्मुख राष्ट्रहरू पहिले नै आफ्नो लयमा फर्किन सङ्घर्ष गरिरहेका थिए।

महामारीपूर्व २० डलर आय भएका परिवारहरूले अहिले १९ डलर मात्र कमाइरहेका छन्।

यूकेमा पनि आर्थिक मन्दीको जोखिम बढेको छ

तस्बिर स्रोत, EPA

खाद्यान्न र ऊर्जाको बढ्दो लागतले सबैभन्दा कमजोर मानिसको जीविकोपार्जनलाई अझ कष्टकर बनाउने खतरामा पारेको छ।

तर त्यो गरिब देशहरूका लागि मात्र सत्य होइन।

एउटा सर्वेक्षणअनुसार छवटा ब्रिटिश परिवारमध्ये एउटा परिवार अहिले परोपकारी कार्यका लागि सित्तैमा भोजन गराइने स्थलको खानामा भर पर्न थालेका छन्।

विश्वव्यापी सङ्घर्षलाई मुद्रास्फीति कम गर्नका लागि बढाइएको ब्याजदरले अझ जटिल बनाउन सक्छ।

विश्व ब्याङ्कले देशहरूलाई तत्काल विभिन्न कदमहरू चाल्न आग्रह गरेको छ।

त्यस्ता आग्रहमा ऋणमा सहुलियतदेखि लिएर खाद्यान्न निर्यातमा प्रतिबन्ध नलगाउनु भन्ने सम्मका छन्।

उनीहरू नीतिनिर्माताहरूले खाद्य र ऊर्जा आपूर्तिको सुरक्षा गर्न, अस्थिर बजारलाई आश्वस्त पार्न र मूल्य वृद्धिलाई सहज बनाउन सँगै काम गरिरहेको देखाउन चाहन्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभमा रुसी ट्याङ्कमाथि आक्रमण

यद्यपि नीतिनिर्माताहरूले पहिले नै असाधारण लडाइँको सामना गर्नुपरिरहेको छ।

विश्व ब्याङ्कका सुझावमा यदि हामीले अहिले आर्थिक उपकरणहरू चलाएनौँ भने हामीले अझ लामो र पीडादायी सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ।

आजको कठिनाइले दुःख र सामाजिक अशान्ति निम्त्याउने मात्र होइन, यसले वर्षौंसम्म जीवनलाई ध्वस्त पार्न पनि सक्छ।

रुस र युक्रेनमा प्रभाव

सन् २०२२ मा आर्थिक उत्पादन तीव्र रूपमा कमी हुने युरोपका देशहरू युक्रेन र रुस हुने विश्व ब्याङ्कको पूर्वानुमान छ।

तर उसले युद्ध र कोभिड महामारीको असर निकै फराकिलो हुने चेतावनी दिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: नौ वर्षीया युक्रेनी बालिकाले गाइन् शान्तिका लागि गीत

सन् २०२१ देखि २०२४ भित्र विश्वव्यापी वृद्धि २.७ प्रतिशतले सुस्त हुने प्रक्षेपण गरिएको छ।

त्यो भनेको सन् १९७६ र १९७९ मा देखिएको त्यस्तो अवस्थाभन्दा दोबरभन्दा बढी भएको विश्व ब्याङ्कका प्रमुखको भनाइ छ।

त्यस बेला अहिलेसम्मकै उच्च मूल्यवृद्धि र उच्च बेरोजगारी भई आर्थिक मन्दी निम्तिएको थियो।