नेपाल अर्थतन्त्र: निर्यात अहिलेसम्मकै बढी, तर 'यो खुसी हुने कुरा होइन' किन?

तस्बिर स्रोत, Reuters
चालु आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्याङ्कले नेपालको निर्यात अहिलेसम्मकै बढी भएको देखाएको छ।
तर नेपालबाट अन्य मुलुकमा बाहिरिएका वस्तुको सूचि हेर्दा नेपालको दुई प्रमुख निर्यात वस्तुका रूपमा रहेका पाम तेल र सोयाबिन तेल दुवैको कच्चा पदार्थ लगभग सबैजसो नेपालमा उत्पादन भएका नभई बाहिरबाट नेपाल आएको र अनि अधिकांशत: भारत गएको देखिन्छ।
गत वर्षको कुलभन्दा धेरै निर्यात देखिए पनि त्यसको आधाभन्दा धेरै हिस्सा आयातित कच्चा पदार्थमा आधारित वस्तु रहेको सरकारी विवरणले देखाएको छ।
नेपालमा कच्चा पाम तेल मुख्य रूपमा मलेसिया र इन्डोनेशियाबाट आयात हुन्छ भने कच्चा सोयाबिन तेल दक्षिण अमेरिकी देशहरू, युक्रेन र इन्डोनेशियासम्मबाट आउँछ।
त्यसको निर्यात मुख्य रूपमा भारतमा हुने गरेको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालबाट १ खर्ब ४७ अर्बभन्दा धेरै बराबरको वस्तु निर्यात भएको छ।
नेपाललाई के फाइदा?
नेपालमा प्रशोधन भएर कारखानाबाट अन्तिम वस्तु निस्कँदा कच्चा पदार्थमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएपछि मात्र निर्यातका लागि योग्य हुने गरी त्यसको उत्पत्ति सम्बन्धी प्रमाणपत्र 'सर्टिफिकेट अफ ओरिजिन' जारी हुने व्यवस्था छ।
नेपाल भारत व्यापार सन्धिमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घलाई त्यस्तो प्रमाणपत्र जारी गर्ने अनुमति दिएको छ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)का निमित्त कार्यकारी निर्देशक सुयश खनाल त्यसको फाइदा नेपालभित्र रोजगारी सिर्जनादेखि लिएर ऊर्जा खपतसम्मका अन्य स्रोतहरूको उपयोग हुने बताउँछन्।
भारत समेत पाम तेलको कच्चा पदार्थ आयात गर्ने देश भए तापनि नेपालले आयातमा दिएको भन्सार, मूल्य अभिवृद्धि कर लगायतमा सहुलियतले गर्दा यहाँ प्रशोधन गरेर बेच्नु लाभदायी हुने बताइन्छ।
Export-import of soybean and palm oil
"हामीले फाइदा लिने मूल्य अभिवृद्धिको क्रममा हो। सबै देशलाई कसैलाई एउटा विषयमा त कसैलाई अर्को विषयमा लाभ हुन्छ। त्यसैले यो प्रक्रिया स्वाभाविक हो," उनी भन्छन्।
तर भारतमा बेलाबखत फेरिने नियमले नेपाली व्यवसायीहरू प्रभावित हुने गरेका छन्।
टीईपीसीका प्रमुख खनाल भन्छन्, "केहीअघि भारतले आफ्ना आयातकर्तालाई कतिपय विषयमा आयातको अनुमति रोक्दा समस्या भएको थियो तर अहिले त्यस्तो समस्या छैन।"
भारत समेत एउटा मुख्य पामतेल आयातकर्ता भएका कारण उसले भन्सार शुल्क घटाएको अवस्थामा नेपालमा यस तेलमा आधारित उद्योगहरू धराशायी हुनसक्ने जोखिम सधैँ रहने बताइन्छ।
'खुसी हुने कुरा होइन'
व्यापार घाटा उच्च रहे तापनि नेपालको निर्यात समेत केही बढिरहेको पछिल्ला केही वर्षका विवरण छन्।
तर एकजना अर्थविद् केशव आचार्यले आयातमा निर्भर यस्ता 'पुर्नउत्पादित' सामग्रीका भरमा त्यस्तो वृद्धि देखिनुलाई 'खुसी हुनुपर्ने कुरा नभएको' ठान्छन्।
"यसमा हामीले भारत र नेपालको भन्सार एवं अन्त शुल्कको फरकका भरमा फाइदा लिने बाटो मात्र हो," आचार्य भन्छन्।
"यो टिकाउ होइन। पहिल्यै छुट दिइएकाले राजश्व पनि धेरै सङ्कलन हुँदैन। र यी धेरै मूल्य अभिवृद्धि हुने क्षेत्र पनि होइनन्।"
विज्ञहरूले सिमेन्ट, औषधीजस्ता दीर्घकालीन सम्भावना भएका वस्तुमा लगानी बढाउनु देशका लागि हितकर हुने ठान्छन्।
भारु सञ्चितीको लाभ
नेपालको विदेशी मुद्रा सञ्चितीमा भारतीय रुपैयाँको अभाव नेपालमा पुरानो समस्याको रूपमा छ।
यी तेलका कच्चा पदार्थ अमेरिकी डलरमा आयात हुन्छन्।
देशभित्र खपत हुनेबाहेक अधिकांश भारतमा निर्यात हुने भएकाले विक्रीबापतको भुक्तानी भारतीय रुपैयाँमा पाइने गरेको छ।
त्यसलाई यसको व्यापारले केही सहज पारे पनि त्यो दिगो विषय भने नरहेको अर्थविद् आचार्य बताउँछन्।








