युक्रेन युद्ध: युक्रेनलाई ईयूमा उम्मेदवार हैसियत दिन सिफारिस, त्यसबारे पुटिनले के भने?

पुटिन

तस्बिर स्रोत, Reuters

युरोपेली आयोगले युक्रेनलाई युरोपेली सङ्घ ईयूको सदस्यताका लागि उम्मेदवार हैसियत दिन सिफारिस गरेको केही बेरमा बोलेका पुटिनले त्यससँगै युरोपका जनताको वास्तविक स्वार्थ प्राथमिकतामा नपरेको दाबी गरेका छन्।

रुसको सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले आर्थिक प्रतिबन्धहरू लगाउनेलाई नै बढ्ता हानिकारक भइरहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "ईयू सदस्यताको बाटोमा भएको पहिलो कदम"ले आफूहरूको "जितलाई नजिक ल्याउने" बताए।

ईयू र अमेरिकाको आलोचना

भ्लादिमिर पुटिनले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूले गर्दा ईयूले ४०० अर्ब अमेरिकी डलर भन्दा धेरै रकम गुमाउन सक्ने बताए।

युक्रेन युद्धका विषयमा ईयूले उसको "राजनीतिक सम्प्रभूता" गुमाएको समेत पुटिनको आरोप थियो।

रुसी राष्ट्रपतिले अमेरिकाले "संसारमा अन्य बलिया शक्तिकेन्द्र भएको कुरा नदेखेझैँ गरिरहेको" बताए।

पुटिनले वासिङ्टनले "गलत" देशलाई एक्ल्याउन खोजेको बताए।

युक्रेन युद्धलाई उनले "विशेष सैन्य कारबाही" भन्दै त्यसलाई सुरु गर्ने निर्णय कठिन भए तापनि आफूहरूलाई "त्यसका लागि बाध्य" पारिएको बताए।

उनले थपे, "विशेष कारबाहीका सबै लक्ष्यहरू नि:सन्देह हासिल हुनेछन्।"

ईयूको उम्मेद्वार हैसियत

शुक्रवार युक्रेनलाई सिफारिस गरिएको ईयूको उम्मेदवार हैसियत मोल्डोभालाई समेत दिइएको छ।

ईयू

तस्बिर स्रोत, Getty Images

तर अर्को पूर्व सोभियत गणराज्य जोर्जियालाई भने दिइएन।

युरोपेली आयोगले अब युक्रेनले केही सुधारहरू गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने सर्त राखेको छ।

युक्रेनको नीलो र पहेँलो रङको पहिरनमा उपस्थित भइ सम्बोधन गर्ने क्रममा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले 'युरोपेली सपना'का लागि युक्रेनीहरू 'मर्न तयार भएको' बताएकी छन्।

युक्रेनलाई औपचारिक रुपमा उम्मेदवार हैसियत दिने-नदिने निर्णयका लागि अर्को साता भेट्ने ईयू नेताहरूबाट आफूले सकारात्मक नतिजाको आशा गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: १०० दिनमा के भयो?