युक्रेन युद्ध: एकैदिन चार युरोपेली देशका नेताहरू किएभमा, क्रेमलिन असन्तुष्ट

युक्रेन

तस्बिर स्रोत, Reuters

फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले युक्रेनले 'प्रतिरोध गर्नैपर्ने र जित्नैपर्ने' बताउँदै 'रुसी बर्बरता' को आलोचना गरेका छन्। 

फ्रान्सका राष्ट्रपति, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगेर राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन्।

माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय सहायतासहित अस्त्र पनि दिने रहेको छ।

उनीहरू पोल्याण्डबाट रातीको रेलयात्रा गरेर बिहीबार बिहान किएभ पुगेका थिए।

चार विदेशी नेता एकसाथ किएभमा

राष्ट्रपति निवासमा उनीहरूसँगपछि रुमेनियाका राष्ट्रपति क्लाउस यो हानिस समेत मिसिएर कुराकानी भएका थिए।

उक्त परिसर सबैखाले उच्च सुरक्षाबाट घेरिएको थियो।

ती तीनजना नेताहरूले युक्रेन युद्धको सुरुमा रुसले नियन्त्रण जमाएको इरपिन शहरमा पुगेर युद्धको क्षति अनुगमन गरेका छन्।

युक्रेन

तस्बिर स्रोत, Reuters

चान्स्लर सोल्जले त्यहाँको क्षतिलाई 'अकल्पनीय क्रूरता' र 'चेतना शून्य हिंसा' बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ईयूका नेताहरूलाई सैन्य सहायतामा तीब्रता दिन आग्रह गरेका छन्।

केही युक्रेनीहरूले उनीहरूमाथि केवल उदासिन समर्थन गरेको आरोप लगाउने गर्छन्।

क्रेमलिनको असन्तुष्टि

क्रेमलिनका एकजना वरिष्ठ अधिकारी दिमित्री मेद्भेदेभले सो भ्रमणप्रति व्यङ्ग्य गर्दै नेताहरू 'शून्य प्रयोजन'का लागि किएभ गइरहेको बताए।

मेद्भेदेभले उक्त भ्रमण युक्रेनलाई हतियार दिनेबारे मात्र केन्द्रित होला भन्ने आफूले नठानेको बताउँदै त्यसो भए युक्रेनलाई थप क्षति हुने बताए।

यस भ्रमण युरोपेली आयोगले युक्रेनलाई ईयू सदस्यता दिने कि नदिने भन्नेबारे सिफारिस गर्नेभन्दा एक दिनअघि भएको छ।

माँक्रोले किएभ पुगेका युरोपेली नेताहरू 'तत्काल' ईयूमा जोडिन युक्रेनलाई उम्मेद्वार हैसियत दिन सहयोगी रहेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: १०० दिनमा के भयो?