युक्रेन युद्ध: मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको यूकेको चेतावनी

मारिऊपोलका कैयौँ स्वास्थ्य संरचनाहरू ध्वस्त भएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मारिऊपोलका कैयौँ स्वास्थ्य संरचनाहरू ध्वस्त भएका छन्
    • Author, बेन टोबिआस
    • Role, बीबीसी न्यूज

हप्तौँको गोलाबारीपछि ध्वस्त भएको र अहिले रुसी नियन्त्रणमा पुगेको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम रहेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ। सरसफाइसँग यसको नजिकको सम्बन्ध छ।

मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ।

यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो। विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो।

यो सहरमा युक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले बीबीसी युक्रेनीसँग कुरा गर्दै "हैजा, झाडापखाला र अरू सङ्क्रामक रोगहरू सहरमा देखा परिसकेको" बताए।

उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताए।

यो दाबीलाई बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन। रुसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको जनाए।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिऊपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै युक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जनाएको छ।

मारिऊपोलको पिउने पानी प्रणालीमा पनि क्षति पुगेको छ

तस्बिर स्रोत, Getty Images

यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताएको थियो।

रेडक्रसले सरसफाइसँग सम्बन्धित पूर्वाधारमा क्षति पुग्दा त्यसले पानीबाट सर्ने रोगहरूको सङ्क्रमण फैलिने जोखिम देखिएको थियो।

line

केही घण्टामै हैजाले ज्यान लिनसक्छ

बीबीसीकी स्वास्थ्य संवाददाता स्मिता मुन्दासाद भन्छिन्," हैजाले गम्भीर रुपमा बिरामी बनाउँछ र समयमै उपचार नपाए केही घण्टामै मानिसको ज्यान जान सक्छ।"

भिब्रिओ कोलेरी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्छ।

उक्त ब्याक्टेरियाबाट दूषित भएको खानेकुरा खाँदा वा पानी पिउँदा हैजा सर्छ।

कम सरसफाइ भएका स्थान र असुरक्षित खानेपानीसँग हैजाको सङ्क्रमण सम्बन्धित छ।

हैजाको जीवाणुले आफ्ना लागि त्यस्ता क्षेत्रलाई उर्वर ठान्छ।

मानवीय सङ्कटका कारण पानीको आपूर्ति र सरसफाइसँग जोडिएका सामग्री अवरुद्ध भएको र मानिसहरू भिडभाड भएका क्षेत्रमा शरण लिइरहेको अवस्थामा यो रोगले अझ समस्या बढाउँछ।

हैजाको सङ्क्रमण भएपछि मानिसहरूलाई झाडापखाला हुन्छ र उनीहरूको शरिरमा पानीको चरम अभाव देखिन्छ।

त्यस्तो बेलामा द्रुत गतिमा तरल पदार्थसहित एन्टिबायोटिक दिएर उपचार गर्नुपर्छ।

हैजा हुँदा कैयौँलाई मध्यम खालका लक्षणहरू देखा पर्छन् र धेरै जनालाई कुनै पनि लक्षण देखिँदैन। तथापि तरपनि उनीहरूको दिसामा हैजाको जीवाणु देखिन्छ।

खोप र सरसफाइमा सुधार गर्नाले हैजाको महामारीलाई नियन्त्रणमा राख्न सकिन्छ।

line

फोहरको डङ्गुर

मारिऊपोलमा सरसफाइको अवस्था ज्यादै नाजुक रहेको भनिएको छ र फोहरका डङ्गुर त्यहाँ चोकचोकमा देखिन्छ। भग्नावशेषमा शवहरू अझै पनि पुरिएका छन्।

आवासीय क्षेत्रमा शवहरू गाडिएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आवासीय क्षेत्रमा शवहरू गाडिएका छन्

किएभकी एक बासिन्दा एनास्तासिया जोलोटारोभाकी आमाले अघिल्लो साता मारिऊपोल छाडेकी थिइन्।

एनास्तासियाले बीबीसीसँग भनिन्, "भुइँ र भवनभित्र चिहानहरू छन्। त्यहाँ शवहरू सडिरहेका छैनन्। धैरै साङ्ला र झिँगाहरू छन्। फोहोरको डङ्गुर छ। त्यो फोहरलाई कसैले हटाएको छैन।"

झन्डै तीन महिना लामो भीषण लडाइँले सहरलाई भग्नावशेषमा परिणत गरेपछि मारिऊपोल गत मे महिनामा रुसको कब्जामा पुगेको थियो।

एप्रिलमा युक्रेनी मेयरले १०,००० जनाभन्दा बढी गैरसैनिको ज्यान गएको बीबीसीलाई बताएका थिए।

त्यसपछिका कैयौँ सातासम्म लडाइँ जारी रहेको थियो। अर्थात् मृतकको सङ्ख्या अझ बढेको हुनसक्छ।

बोएचेन्कोकका अनुसार कैयौँ ठाउँमा अस्थायी चिहान बनाइएको छ र धैरै जनाको शवलाई उद्यान, चोक, आँगनजस्ता स्थानमा गाढिएको छ।

भग्नावशेषमुनि अझै शवहरू रहेको बताइन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भग्नावशेषमुनि अझै शवहरू रहेको बताइन्छ

यसै साताको सुरुमा मारिऊपोलको नगरपरिषद्‌ले हैजा महामारीका कारण दशौँ हजार मानिसहरूको ज्यान जान सक्ने चेतावनी दिएको थियो।

उसले औषधि र स्वास्थ्य केन्द्रको अभाव रहेकाले अवस्था विस्फोटक बन्न सक्ने बताएको थियो।

मारिऊपोललाई चित्रण गर्दा भग्नावशेषको मुनि अझै रहेका शव र फोहरका डङ्गुरको अवस्था चर्चा गरिएका प्रसङ्गहरू रुसद्वारा नियुक्त अधिकारीहरू रुचाउँदैनन्।

उनीहरू सहर साधारण अवस्थामा फर्किन थालेको दाबी गर्छन्।

सामाजिक सञ्जालमा विद्यार्थीहरू विद्यालय फर्किरहेको र लरीहरूले फोहोर उठाइरहेको तस्बिरहरू राखिएका छन्।

तर सहरका धेरै क्षेत्रहरू अझै अस्तव्यस्त छन्।

त्यहाँ हैजा वा कुनै पनि सङ्क्रामक रोग देखा परेको खण्डमा युद्धको विभीषिका देखेका झन्डै एक लाख मानिसका लागि ठूलो जोखिम बन्न सक्छ।

थप रिपोर्टिङ:एनास्तासिया लेभ्चेन्को