युक्रेन युद्ध: खाद्यान्नको मूल्य निकै बढ्नु युद्धको 'प्रत्यक्ष नतिजा' - नेटो महासचिव

युक्रेन युद्ध

तस्बिर स्रोत, EPA

विश्वभर निकै उच्च मात्रामा बढेको खाद्यान्नको मूल्य युक्रेन युद्धको एउटा 'प्रत्यक्ष नतिजा' भएको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का प्रमुखले बताएका छन्।

येन्स स्टोलटनबर्गले त्यो मस्कोले दाबी गरेजसरी रुसविरुद्धका प्रतिबन्धका कारण नभएको बताएका हुन्।

ब्रसल्समा पत्रकारहरूसँग बोलेका उनले "युक्रेनबाट निर्यात हुने खाद्यान्न निकै नै महत्त्वपूर्ण रहेको" बताए।

उनले भने, "खाद्यान्नमा भएको उच्च मूल्य वृद्धिले यस युद्धको विश्वव्यापी असर देखाएको छ।"

नेटो महासचिवले थप के भने?

सैन्य गठबन्धन नेटोका महासचिव स्टोलटनबर्गले रुसले "हाम्रा प्रतिबन्धहरूले मूल्यवृद्धि भएको भाष्य निर्माण गर्न खोजिरहेको, जुन सही नभएको" बताएका छन्।

ब्ल्याक सी तर्फका बन्दरगाहहरूमा रुसी नाकाबन्दी हटाउन अन्तर्राष्ट्रिय प्रयासहरू जारी रहेको समेत उनले बताएका छन्।

जसको मध्यस्थताका लागि टर्कीले मुख्य भूमिका निर्वाह गरिरहेको बताइएको छ।

उनले थपे, "जमिनतर्फबाट समेत केही खाद्यान्न निकाल्ने प्रयास भइरहेको छ जसमा नेटो देशहरू संलग्न छन्।"

अस्त्र सहायता जारी राखिने

स्टोलटनबर्गले आफ्नो गठबन्धनले युक्रेनलाई भारी हतियार उपलब्ध गराउने काम जारी राख्ने समेत जनाएका छन्।

उनले जुन महिनामा हुने एक नेटो सम्मेलनले किएभलाई नयाँ सहायताका प्याकेजहरू उपलब्ध गराउने आफूले आशा गरेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: १०० दिनमा के भयो?

यसैबीच युक्रेनी राष्ट्रपतिले युरोपेली सङ्घ ईयूलाई रुसविरूद्धका प्रतिबन्धहरूलाई कडा पार्न आह्वान गरेका छन्।

युक्रेन युद्ध जारी रहँदा यस साताको सुरुमा संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार प्रमुख मिशेल ब्याचलेटले विश्वव्यापी खाद्य असुरक्षा निकै बढ्ने चेतावनी दिएकी थिइन्।

युद्धको पछिल्लो अवस्था के छ?

पूर्वी युक्रेनमा रहेका रुसी समर्थन रहेका पृथक्तावादीहरूले घेराबन्दीमा परेको सेभेरोडोनेट्स्क शहरमा रहेको मानव सहायता मार्ग युक्रेनी सेनाले अवरुद्ध बनाएको आरोप लगाएका छन्। 

रुसी सेनाले एउटा रसायन सम्बन्धी कारखाना आसपासमा आश्रय लिइरहेका सैयौँ सर्वसाधारणलाई त्यहाँबाट अन्यत्र जानका लागि १२ घण्टा समय उपलब्ध गराइएको जनाएको थियो। 

सर्वसाधारणहरूलाई लैजाने भनिएको उत्तरतर्फको रुस नियन्त्रणमा रहेको क्षेत्रतर्फ जाने तय भएका गाडीहरूको लस्करमा कोहि गए-नगएको स्पष्ट भइसकेको छैन। 

किएभमा रहेका एक बीबीसी संवाददाताले उद्धारको विषयमा अन्तर्राष्ट्रिय समुदायले निकै आशङ्का व्यक्त गरे तापनि अलपत्र परेका मानिसहरूमा भने त्यसको व्यापक विश्वास रहेको बताएका छन्। 

खाद्यान्न, पानी, विद्युत् अनि सञ्चारविहीन रूपमा अलपत्र परेका मानिसहरूले यसलाई त्यहाँबाट बाहिरिने सबैभन्दा उत्तम मौका मानेको बताइएको छ।